काठमाडौं । स्थानीय तहको चुनावमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै सम्भावित परिणामबारे बहस हुन थालेको छ ।
परिणाम आकलनको प्रमुख आधार २०७४ को स्थानीय तह निर्वाचन हो, जसले गठबन्धनको अवस्था बलियो देखाउँछ ।
गत स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले स्थानीय तहका ३५ हजार ४१ पदमध्ये १४ हजार ९७ (करिब ४० प्रतिशत) पद जितेको थियो ।
एमाले विभाजित भएपछि गत असोजमा तीमध्ये १ हजार ५ सय १ जना (करिब १० प्रतिशत) ले एकीकृत समाजवादी रोजेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल अहिले पनि एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने संख्या उल्लेख्य रहेको बताउँछन् । ‘
भुसालले भनेझैं एमाले कमजोर नहुन पनि सक्छ किनभने माओवादी केन्द्रको एक समूहका साथै पछिल्लो समय अन्य दलका नेताहरू पनि एमाले प्रवेश गरिरहेका छन् ।
पार्टीका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवाली एमाले विभाजन हुँदाको क्षतिपूर्ति अन्य दलबाट भइसकेकाले स्थानीय तह निर्वाचनमा पुनः पहिलो दल बन्ने दाबी गर्छन् ।
यद्यपि २०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा (माओवादी केन्द्र) र चौथो बनेको तत्कालीन संघीय समाजवादी फोरम (हालः जनता समाजवादी पार्टी) एक ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन हुन सक्छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की गठबन्धन दलबीच संयन्त्र बनाएर स्थानीयस्तरमा दलहरूको अवस्था बुझ्ने र सोहीअनुसार चुनावी तालमेल गर्ने बताउँछन् ।
गत स्थानीय तह निर्वाचनमा कुल पदमध्ये कांग्रेसले ११ हजार ४ सय ५४ र माओवादी केन्द्रले ५ हजार ४ सय ४२ सिट जितेका थिए । यो संख्या एमालेले जितेको भन्दा करिब २ हजार ३ सयले बढी हो ।
त्यसमाथि एमालेबाट जनप्रतिनिधिको १० प्रतिशत हिस्सा एकीकृत समाजवादीमा गएको छ भने गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको जसपा थपिएको छ ।
गत स्थानीय तह निर्वाचनको परिणाम विश्लेषण गरेका संघीयताविद् एवं राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा गठबन्धन दलबीच समग्रतामा समीकरण हुने हो भने एमालेका लागि नतिजा निकै निराशाजनक आउने दाबी गर्छन् ।
‘आफूले जितेको ठाउँ नछोड्ने र दोस्रो भएको स्थान पनि आफैं लिने गरी तालमेलको खाका बन्यो भने त्यसले गठबन्धन दलमै समस्या आउन सक्छ,’ उनले भने, ‘गठबन्धन दलले समग्रतामा समीकरण गरेमा भने राम्रो नतिजा प्राप्त गर्न सक्छन् ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।