• मंसिर १३ २०८१, बिहीबार

सार्वजनिक गाडीको भाडा १४ प्रतिशतले वृद्धि , सर्वसाधारणलाई यात्रा गर्नै मुस्किल

चैत्र १८ २०७८, शुक्रबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । मन्त्रीस्तरीय निर्णयले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भाडा बढाउन सैद्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

भौगोलिक हिसाब गर्दा १० देखि १४ प्रतिशतसम्म भाडा बढ्नेछ । सरकारले तीनवटा क्षेत्र छुट्ट्याएर भाडा समायोजन गरेको छ । लामो दूरीको बस, लामो दूरीको पहाडमा चल्ने ट्रक र लामो दूरी तराईमा चल्ने मालबाहक ट्रकको छुट्टाछुट्टै भाडादर तय गरिने भएको छ ।

भाडा बढाउन यातायात व्यवसायीले दबाब दिँदै आएका थिए । उनीहरूले २० प्रतिशतसम्म भाडा बढाउन लबिङ गर्दै आएका थिए । सरकारले निर्णय नगरे व्यवसायीहरूले नै बढाउने घोषणा गरेका थिए ।

सरकारले भाडा बढाएपछि प्रदेश सरकारले पनि मध्यम र छोटो दूरीका सवारीको भाडादर तय गर्नेछन् । काठमाडौं उपत्यकाको बस, माइक्रोलगायतको भाडा बागमती प्रदेश सरकारले तय गर्नेछ ।

महानिर्देशक घिमिरेले भाडा बढाउनुपर्ने १३ वटा आधार देखिएको बताए । ‘त्यसमध्ये पेट्रोलियमको आधारको हिस्सा ३५ प्रतिशत हुन्छ’, उनले भने । गत असार २८ पछि डिजेलमा ३४ प्रतिशतले मूल्य वृद्धि भएको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।