काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन ।
प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक दुई रिट अदालतले खारेज गरेको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
कम्पनीको प्रबन्ध निर्देशकको दरखास्त आह्वानसमेत भइसकेको छ । अदालतले रिट खारेज गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ ।
यसअघि निर्देशिकामा अवकाशको उमेर हद ५८ वर्ष थियो तर निर्देशिका संशोधन गरेर प्रबन्ध निर्देशकमा प्रतिस्पर्धा गर्ने उमेर हद ५६ वर्ष कायम गरिएको थियो ।
५६ वर्ष कटेका तर अवकाशको अवधि बाँकी रहेका सुरेन्द्रमान सिंह र डा. राजेन्द्रकुमार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।