काठमाडौं । स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको सङ्ख्या भने खुलाइएको छैन ।
स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ ।
भारतसँग सिमाना जोडिएका तराईका र विभिन्न भूमिगत समूह र निर्वाचन बहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।
गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिमा ज्वाला समूह, निर्वाचन बहिष्कार गरेको वैद्य निकट नेकपा माओवादी, सिके राउतको जनमत पार्टीलगायतका केही साना दल चुनौतीको रूपमा रहेको उल्लेख गरिएको छ ।
त्यसका लागि गृह मन्त्रालयले तीनै सुरक्षा निकायलाई संवेदनशील क्षेत्र र मतदान केन्द्रमा विशेष निगरानी अपनाउन निर्देशन दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।