• मंसिर ८ २०८१, शनिबार

चुनावी तालमेलप्रति कांग्रेस संस्थापनइतर पक्ष असन्तुष्ट किन ?

चैत्र १६ २०७८, बुधबार

काठमाडौं । सत्तारुढ दल कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको चार दिन चलेको बैठकले बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको निष्कर्ष निकालेको हो ।

‘यद्यपि, यो अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय पार्टीले गरेको छ’, बैठकले गरेको निर्णयबारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले भने ।

संयमित र समन्वयकारी राजनीतिक व्यवहार अबको चुनावमा कांग्रेसले गर्नुपर्ने नेताले बताएका छन् । कांग्रेसले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण पनि आगामी चुनावमा जित्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको निष्कर्ष बैठकले निकालेको प्रवक्ता डा. महतको भनाइ छ ।

संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले भने चुनावी गठबन्धन पार्टीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर मात्र सम्भव हुने बताउँदै आएको छ । यही बेला आवश्यकताका आधारमा तालमेल गर्ने भनेर ‘व्याख्यात्मक टिप्पणी’ समेटेर  कांग्रेसले गठबन्धनकै लाइन तय गरेको हो ।

डा. कोइरालाले सोमबारको बैठकमा ‘किन र केका लागि गठबन्धन गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नुहुन्छ ?’ भन्दै देउवालाई प्रश्न गरेका थिए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।