• मंसिर ८ २०८१, शनिबार

भारत भ्रमणमा जान लागेका प्रम देउवाले अतिक्रमित भूमि, सीमामा हुने तनाव र विवाद समाधान गर्लान् ?

चैत्र १६ २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणमा जान लागेका छन् । देउवा प्रधानमन्त्री नियुक्त भएपछिको यो उनको पाहिलो भ्रमण हो ।

नेपाल र भारतबीच सीमा विवादका कारण उत्पन्न असमझदारी, विशेष गरी पश्चिमी भूभाग कालापानी क्षेत्रमा भारतको दाबी र ती भूभागलाई समेटेर नेपालले नक्सा सार्वजनिक गरेसँगै दुई देशबीचको असमझदारी अझ बढेको थियो ।

विवाद बढ्दै जाँदा भारतीय सेना प्रमुखले नेपाल अरूकै इसारामा चलेको आरोपसमेत लगाउन भ्याएका थिए । सीमा विवादका बारेमा छलफलका लागि नेपालका तर्फबाट पटकपटक गरिएका पहल र प्रयासलाई भारतीय पक्षले बेवास्ता गर्दै आइरहेको अवस्थामा लामो अन्तरालपछि नेपालका तर्फबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

यो भ्रमण भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्दै नेपाल र भारतबीच थाती रहेका विषयलाई अघि बढाउने अवसर पनि भएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।

‘यो भ्रमणले भारतसँग विश्वासको वातावरण र समझदारी बनाउन भूमिका खेल्नुपर्छ । त्यसका लागि नेपालले मात्र नभएर भारतका तर्फबाट पनि पहल हुनुपर्छ,’ कूटनीतिक मामिलाका जानकार डा. दिनेश भट्टराईले भने, ‘हाम्रो तर्फबाट पहल भइ नै रहेको छ । ठूलो छिमेकीका नाताले भारतले पनि यसतर्फ चासो दिन आवश्यक छ ।’

भट्टराई भ्रमण लामो समयदेखि थाती रहेका विषयलाई अघि बढाउन अवसर पनि भएको बताउँछन् । ‘इपिजी, सीमा विवाद, लामो समयदेखि रोकिएको पञ्चेश्वर परियोजना र सीमा क्षेत्रमा हुने डुबान तथा खुला सीमाका कारण नेपालले भोग्नुपरेको समस्यालगायतका विषयमा छलफल गर्न यो भ्रमण एउटा अवसर पनि हो,’ उनले भने ।

यस्ता कुरामा भारतीय पक्षले पहल गर्दा कुरा अघि बढाउन सजिलो हुने उनको तर्क छ । यो समाचार नागरिक दैनिकमा छ ।