• असार २५ २०८१, सोमबार

दाङका चौधरीले सूर्यमुखी फूल हेर्ने टिकटबाटै कमाए लाख रुपैयाँ

चैत्र १५ २०७८, मंगलवार

घोराही, १५ चैत । घोराही उपमहानगरपालिका वडानम्बर ८ स्यानीगाउँका यामबहादुर चौधरीलाई सूर्यमुखी फूल हेर्न जानेहरुले शुक्रबारसम्म एकलाख पाँच हजार रुपैयाँ दिएका छन् ।

उहाँले सातकट्ठा बारीमा दुई किलो सूर्य मुखीको बिऊ रोप्नुभएको हो । खेतका दुईवटा गह्रामा फुलेको फूल हेर्न जानेहरु प्रत्यकले ५० रुपैयाँ दिनुहुन्छ । सो बारीमा पहिला गहुँ र गोपीतोरी हुन्थ्यो । उहाँका अनुसार एकजनाले अहिले ‘नयाँ खेती गर्नुस् जे ता होला, नभए एक साल जुवै खेल्ने ता हो’ भन्नुभयो ।

हामी किसानले छरेरै सिक्नेता हो भनेपछि चौधरी सहमत हुनुभयो । लमही पुगेर दुई किलो बिऊ ल्याएर छर्नुभयो । उहाँलाई फल्ने हो कि होइन भन्ने लाग्थ्योे । खेतको पश्चिमतिर डिलमुनीको ड्यामबाट एक फेरा पानी चहार्नु भयो । धेरै पानी खोज्दो रहेनछ सुखै भयोे । पानी तान्ने खर्च पनि बच्यो ।

एक पटक युरिया लगेर टिप गर्नुभयो । जोताईमा तिन हजार पाँच सय लाग्यो । सात सयको पानी तानेको महशुसुल आयो । मल सहित दुई हजार खर्च भयो । फुल्न थालेपछि खेत रहर लाग्दो राताम्य देखियो । माहुरीहरु पनि भुनभुनाउन थाले । मानिसहरु पनि आए । बिच बिचमा जाने फोटो खिच्ने गर्नथाले । कतिले फुलै भाँच्न र चुँड्न लागे र खेतभित्र बाटो बनाए । पानीका बोत्तल र खाजाका प्लाष्टिक फालिदिए । उता फेसबुक हेर्नेहरुले ‘तेरो खेतको खुब भाइरल भाछ’ भने ।

धेरैले टिकटक बनाएका र फेसबुकमा हालेको देखियो । घोराहीबाट गाडिमा गएको व्यापारीको समूहले खेतको त्यो अवस्था देखेर चित्त दुखायो । चौधरीका अनुसार ती व्यापारीले तपाईंको खेती नास गर्दिन लागे । फूल भाँचिदिएका छन् ।

दिनहुँ मान्छे ओइरो लाग्ने रहेछन् पैसा लिएर मात्रै भित्र जान दिनुस् भनेर सल्लाह दिए । गत फागुन २२ गतेका दिन १०/१२ जनाको समूहमा पुगेका उनीहरुले सय सय रुपैयाँ झिकेर दिए । पैसा माग्नु पर्छ भन्ने थाहा पाएको भए त्यस अघि नै धेरै कमाईन्थ्यो । त्यसै दिनदेखि फूल हेर्न जाने सबैले पैसा दिन थाले । सय रुपैयाँ धेरै हुन्छ भनेर चौधरी परिवारले ५० रुपैयाँ प्रतिव्यक्ति लिने भनेर डिउटी बस्न थाल्यो ।

खेतको अगाडि त्रिपाल टाँगेर दिनभरी पालो गरी बस्न थाले । एकैदिन २२ हजार कमाई भयो । त्यसदिन त मानिसहरु अटाई नसक्नु आएका थिए । फूल भन्दा मान्छे धेरै जस्तो लाग्थे । आउने जानेको उत्तिकै लस्कर थियो । ‘त्यस दिन साँझ ढाड दुखेर सुत्ने सकिन’ चौधरीले भन्नुभयो, ‘दिनभरी उभिएर ज्वरो आई गो हजुर ।’

उहाँका अनुसार दिनभरी भिड थामिएन । आउने जाने उस्तै चल्यो । विहान आएको दिन झल्पर्दासम्म दुईजना खट्नुभयो । घरमा भात खान पनि जान पाइएन । त्यहिँ ल्याएर खायो नखायो गर्नुपर्यो । धान खेती गर्दै गर्दै वषौँ बित्यो । चौधरीका अनुसार त्यो पुरानो चलनको खेतीले एउटा बच्चालाई स्कुल पठाउन पनि नसकिने हुन्थ्यो ।

बावुआमाले नखाई नलगाई पैसा बचाउनु पर्दथ्यो । अहिले एउटै खेतीले स्वर्ग जस्तो भैगो । धेरैले नयाँ नयाँ बुद्धि दिनुभएको छ । सुन्ने फुर्सदै पाइएन । अहिले ५४ वर्ष पुगेका चौधरीले पहिलो पटक खेतीबाट स्वर्गीय सुखको अनुभव गर्नुभएको छ ।

उहाँका अनुसार गजब गजबका कहानी देख्न पाइयो । एक दिन विहान ६ बजे तिनजनाको परिवार आयो । पैसा तिरेर भित्र पसे । बाबु छोरा केहि बेरमा निस्के । आमा लामै समय निस्किनन् । छोरोले स्कुल छुट्न लाग्यो भोक लाग्यो भनि कराउन थाल्यो । बाबु पिटेर भएपनि ल्याउँछु भनेर बारीमा गए । उल्टो हप्काई मागेर फर्किए । उनले श्रीमतिको छेउमा आँ…गर्न सके पो । यसरी विहानको १० बजिसक्यो आमा निस्के पो !

अन्तमा ‘आज होटलमा खाने ता हो’ भन्दै उनीहरु गए । ‘खेती गरेर यस्तो कृति देख्न पाइयो हजुर’ चौधरीले भन्नुभयो, ‘भित्र छिरेपछि दुई तिन घण्टा नभई त निकल्दै निकल्दैनन् ।’

झण्डै २० दिन भयो कसरी दिन बिते भन्ने चौधरीलाई पत्तै भएन । नाच्या छन्, गाया छन्, कराएका छन्, सब आफ्नो आफ्नो तालमा हुन्छन् । तिनलाई हेर्दाहेर्दै दिन बित्छ । पुरुषहरु हत्तपत्त फर्किन्छन् । महिलाहरु फूल देखेर कत्ति नअघाउने रहेछन् । हेर्न जानेहरुपनि पुरुष भन्दा महिलाको संख्या अत्याधिक थियो ।

किसिम किसिमका फेसन पनि देख्न पाइयो । त्यो पालमा चौधरीलाई बुहारी शोभाले पालो दिनुहुन्छ । फु्रटी र पानीका बोत्तल पेटीमा राख्नुभएको छ । त्यसको व्यापार पनि हुन्छ । गोपीतोरी छर्न लागेको बेला बरु एक साल जुवा होला भनेको त अनौठो कमाई भयो ।

किसानले अनुभवबाट सिक्ने भनेको पनि साँच्चै भयो नयाँ नया खेतिगर्न पर्ने रहेछ भन्ने सिकियो । अहिले सूर्यमुखीका ठूलठूला घोपा फलेको छ । अब चराबाट फल जोगाउने हो । तेल पनि राम्रै होला भन्ने आश छ । तेलले दिने भन्दा कैयाँै गुणा फुलले कमाई सकेको छ । किसान पेशामा पहिलो चोटी स्वर्गको महशुस गरेका चौधरीलाई फाइदै फाइदा छ ।