काठमाडौं । आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचन सत्तारुढ पाँच दलबीच गठबन्धन हुने निश्चित भएको छ ।
सत्तासाझेदार अन्य दलले पहिला नै निर्णय गरिसकेको र कांग्रेसले पनि मंगलबार केन्द्रीय कार्यसमिति बैठकमार्फत यसबारे औपचारिक निर्णय लिने भएपछि स्थानीय चुनावमा पाँचदलीय गठबन्धन निश्चित भएको हो ।
कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे सैद्धान्तिक र रणनीतिक निर्णयसँगै आवश्यकताका आधारमा तल्ला तहमा यसले आकार ग्रहण गर्नेछ ।
तर, कुन मोडालिटीमा गठबन्धन बनाउने भन्नेमा दलहरूबीच अझै सहमति भइसकेको छैन । यसअघि गठबन्धनमा रहेका दलहरूले पहिला सबै दलले आन्तरिक निर्णय लिने र त्यसपछि मात्रै मोडालिटीमा जाने सहमति गरिसकेका छन् ।
पार्टीभित्र इतर समूहले गठबन्धन नबनाउन दबाब दिए पनि केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको चाहनाअनुसार आवश्यकता आधारमा गठबन्धनमा जानुपर्ने मत राखेका थिए ।
सोहीअनुसार पार्टीले मंगलबारको बैठकबाट प्रस्ताव पास गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘केन्द्रीय समितिमा मूलतः चुनावी अभियानको मूल्यांकन भयो ।
‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’अन्तर्गत केन्द्रबाट खटिएका प्रतिनिधिले दिएको सुझाव र पार्टीको अवस्थाबारे पनि छलफल भयो । अहिलेको गठबन्धन विशिष्ट परिस्थितिमा बनेको हो । केन्द्रीय समिति बैठकमा आवश्यकताका आधारमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आउने संसदीय चुनावमा पनि जित्ने परिस्थिति निर्माण हुने सुझाव आएको छ,’ प्रवक्ता महतले भने, ‘कतिपयले गठबन्धन र तालमेल नगरी कांग्रेस एक्लै निर्वाचनमा गएर पार्टीलाई परीक्षण गर्नुपर्ने पक्षमा पनि मत राखेका छन् ।
अधिकांश मत गठबन्धन र तालमेल गरेर जानुपर्छ भन्नेमा छ । यसका आधारमा कहाँ तालमेल गर्ने र कहाँ नगर्ने, गठबन्धनको मोडालिटी के बनाउने भन्ने प्रस्ताव तयार हुन्छ । प्रस्ताव मंगलबार केन्द्रीय समिति बैठकबाट पारित हुन्छ ।’
बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनको विषयलाई लिएर पदाधिकारी तहमा दुई थरी मत देखिएको थियो । सोमबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारले धारणा राखेका थिए ।
धारणा राख्ने अधिकांशले तालमेलको निर्णयको अधिकार केन्द्रलाई नै दिनुपर्ने मत राखेका थिए । महामन्त्री थापाले स्पष्ट रूपमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । यसबाहेक संस्थापननिकट पदाधिकारीले स्पष्ट रूपमा गठबन्धनको पक्षमा मत राखेका थिए ।
इतरनिकट पदाधिकारीले भने आवश्यकताका आधारमा तल्लो तहलाई अधिकार दिएर गठबन्धनबारे निर्णय गर्नुपर्ने पक्षमा धारणा राखेका थिए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।