• असार १८ २०८१, सोमबार

अमेरिकामा नेपाली खेलाडी भण्डारीले तेक्वान्दोमा पाए अर्को सफलता

चैत्र १४ २०७८, सोमबार

काठमाडौं । अमेरिकामा नेपाली खेलाडी गोपाल भण्डारीले तेक्वान्दोमा अर्को सफलता हात पारेका छन् ।

अमेरिकोको भर्जिनियामा आयोजना भएको ४३ औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा खेलाडी भण्डारीले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् ।

उनको समूहमा अमेरिकाका विभिन्न राज्यका ९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गोपालले एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै रजत पदक जितेका हुन् । अमेरिकाकै पुरानो मानिने च्याम्पियनसिपमा एभरेस्ट र हिमालयन तेक्वान्दो डोजाङबाट नेपाली मूलका ५० जना खेलाडी, ६ जना रेफ्री र ७ जना प्रशिक्षक सहभागी भएका थिए ।

गोपालले गत हप्ता अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए । अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा विभिन्न देशका ७ राष्ट्रका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।

हाल अमेरिकामै बस्दै आएका गोपाल आगामी जुलाई १ र २ तारिखमा आयोजना हुने अन्तर्राष्ट्रिय कुकिवान प्रेसिडेन्ट कपमा नेपालका तर्फबाट सहभागी हुँदैछन् ।