• मंसिर १२ २०८१, बुधबार

नेपालले पीएनजीलाई १५ रनले हरायो

चैत्र १४ २०७८, सोमबार

काठमाडौँ। नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई त्रिकोणात्मक टी-२० शृंखलाको पहिलो खेलमा १५ रनले पराजित गरेको छ । १ सय ८४ रनको लक्ष्य लिएर आएको पीएनजी ४ बल अगाडि १ सय ६८ रनमा अलआउट भयो ।

कप्तान सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २२ र करणले ४ ओभरमा ४२ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए ।

नोर्मान भानुआले पीएनजीबाट सर्वाधिक ५२ रन बनाए । उनले २९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । करणले १९ औं ओभरमा भानुआ र सिमोन अटाईलाई लगातर बलमा आउट गरी नेपाललाई खेलमा फर्काएका थिए । अन्तिम ओभरको तेस्रो बलमा सन्दीप र दीपेन्द्रसिंह ऐरी मिलेर एलेइ नाओलाई रनआउट गरी नेपाललाई विजय दिलाए ।

सेसे बाउ ३०, चार्ल्स अमिनी २२ र लेगा सिएका २१ रनमा आउट भएका थिए । कप्तान असाद भालाले ७ रनमात्र बनाउन सके ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पीएनजीले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई रन बनाएको थियो ।

कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे पनि उनी लामो समय टिक्न सकेनन् । ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी अनावश्यक दौडिँदा रनआउट हुन पुगे । उनले २० रन बनाए । अर्का ओपनर आसिफ शेखले ३५ बलमा सर्वाधिक ४३ रन बनाए । ५ चौका र १ छक्का प्रहार गरेका उनी विकेटको पछाडि क्याच दिन पुगे । दीपेन्द्रसिंह ऐरीले ४ रनमात्र बनाउन सके ।

अन्तिम समयमा ट्वान्टी २० टोलीमा समावेश गरिएका रोहित पौडेलले ३४ रन जोडे । उनले २६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । नेपालले २९ रनको अन्तरमा ५ विकेट गुमाएको थियो । जसमा आसिफ, रोहित, दीपेन्द्रसहित कुशल मल्ल ११, लोकेश बम ५ रनमा आउट भए ।

करण केसीले २ छक्का प्रहार गर्दै ७ बलमा १४ रन जोडे । सोमपाल कामीले १ रनमात्र बनाउन सके । आरिफ शेखले २२ बलमा ३१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । सन्दीप १ रन बनाई अविजित रहे ।

पीएनजका एलेइ नाओले ४ ओभरमा ४ ओभरमा ३९ र चार्ल्स अमिनीले ४ ओभरमा ३८ रन खर्चेर २/२ विकेट लिए ।