• असार २५ २०८१, सोमबार

राजविद्या पाठशाला विश्व बजारको सपनामा

चैत्र १४ २०७८, सोमबार

घोराही, १४ चैत ।
आकर्षक रंगरोगनले सजिएको घोराही-१८ नवलपुरको भवन र गतिलो प्राङ्गण छोडेर राजविद्या पाठशाला शनिबार घोराही बजारमा आयो ।
उसले सुविधा सम्पन्न होटल मालाईनको फराकिलो सभाहल रोज्यो । पाठशालाले वार्षिक उत्सव र दिक्षान्त समारोह सहित विविध कार्यक्रम गरेर दिन बितायो ।

अतिथिहरुलाई हजारीका फूलको मालाले सम्मान गरिएको थियो । सबैजसो अभिवावकहरु विभिन्न स्तरीय पोषकले ठाँटिएर उपस्थित भएका देखिन्थे ।

विश्व विद्यालको दिक्षान्त समारोह जस्तै गरी बालबालिकालाई प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा.विकास लामिछानेले दिक्षित गर्नुभएको थियो । मञ्चमा अनेकथरी लाईटको झल्याक झिलिकले रंगिबिरंगी पारिएको थियो ।

सञ्चालक बाहेक अरु नबस्ने व्यवस्था मिलाइएको थियो । मन्तव्यका क्रममा केही अतिथि बाहेक धेरैले नेपाली बोलेनन् । अंग्रेजी भाषाका जानकार नहुनेका लागि सबैकुरा बुझ्न सकिंदैन्थ्यो ।

अभिभावक सहित हुने कार्यक्रम नेपालीबाट सञ्चालन गरे हुन्थ्यो भनेको सुनिन्थ्यो । कार्यक्रमका अध्यक्ष प्रिन्सिपल टीकाजंग विके र प्रमुख अतिथि डा.लामिछाने पनि अंग्रेजीमै बोल्नुभयो । कार्यक्रम सञ्चालक विद्यार्थीहरु अर्नव चोबे र साकुरा बुढा झन् एक शब्दपनि नेपाली बोलेको सुनिएन । उनीहरुले आफूलाई अंग्रेजीमा पोख्त भएको देखाएका थिए ।

विद्यार्थीका नृत्यमा भने नेपाली भाषाका गीत धेरै थिए । नृत्यको अभिनय पनि प्रशंसनीय थियो । मञ्चमा लहरै उभ्याएर साना बालबालिकालाई बोल्ने क्षमता देखाउन लगाइएको थियो । उनीहरु धेरैले आफ्नो परिचयसँगै डाक्टर, पाईलट र इन्जिनियर बन्ने लक्ष्य रहेको बताएका थिए ।

उनीहरुले आफ्ना अभिभावकका सामु फररर अंग्रेजी बोलेर क्षमता प्रदर्शन गरेका थिए । नृत्य गर्ने बालबालिकाहरु साँच्चै कलाकार भन्दा फरक थिएन । तिनले नाच्दा हललाई निकै प्रभावित बनाए । उनीहरुका प्रस्तुति हुँदा हलभित्रै ड्रोन उडाउनेदेखि स्तरीय क्यामेरा र मोबाईलहरुमा कैद गरिन्थ्यो ।

विश्व बजारमा बिक्ने शिक्षा दिएको भन्दै वक्ताहरुले प्रशंसा गरे । विद्यार्थीका कला र प्रस्तुतिले व्यवहारीक र गुणस्तरीय शिक्षा दिएको महशुस गरेको उनीहरुको भनाई थियो । यहि स्पिडमा अघि बढे विद्यार्थीहरु विश्व बजारमा प्रतिस्पर्धा गर्ने सक्ने क्षमतावान बन्ने विश्वास व्यक्त गरेका थिए । संस्कार युक्त, रोजगारमुलक र पढेपछि आशा जगाउने शिक्षा दिन आवश्यक रहेको बताए ।

अनपढ अभिभावकका लागि कार्यक्रम चुनौतिको बन्यो । तर केन्द्रिय राजधानी काठमाण्डौ भन्दा यति टाढाको विद्यालयमा भएका गतिविधि निकै महत्वको थियो । विद्यालयका गतिविधिले सुविधा सम्पन्न स्तरीय देखाए । पुस्तक रटाउने मात्रै होइन विद्यार्थीहरुले नृत्यसँगै योगा, गीत, नाटक, तेक्वान्दो लगायत प्रस्तुत गरेका थिए ।

त्यसले अभिभावकलाई खुशियाली दिएको थियो । प्रिन्सिपल विके र सञ्चालक समिति अध्यक्ष लामो समय विद्यालय सञ्चालनको अनुभवि हुनुहुन्छ । विद्यार्थी आकर्षण गर्ने र तिनलाई ईच्छाअनुसारको शिक्षा दिने अठोट छ ।

उत्साहका लागि वेष्ट प्रोमोटर गणेशप्रताप पुनलाई विशेष सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट शिक्षकमा ममता पुन र वर्षदिनभरी नियमित विद्यालय उपस्थित हुने शिक्षक रीता गुरुङलाई पुरस्कृत गरिएको थियो ।