काठमाडौं । प्रचलित ५०० मिलिग्राम (एमजी)को सट्टा ६५० एमजीको सिटामोल उत्पादन गर्न दिने सरकारी निर्णयको चर्को विरोध भएको छ ।
नेपाल फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले सिटामोलको मूल्यवृद्धि गर्ने बहानामा क्लिनिकल परीक्षणबिना दिइएको उत्पादन अनुमति अविलम्ब फिर्ता लिन माग गरेका छन् ।
६५० एमजीको सिटामोल उत्पादनको निर्णय रोक्न माग गर्दै मञ्च र संघले राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
यसअघि औषधि व्यवस्था विभाग आफैंले ६५० एमजीको औषधि उत्पादन तथा बिक्री अनुमति नदिने निर्णय गरेको रअनुसन्धान तथा क्लिनिकल ट्रायलसमेत नभएकाले औषधि सल्लाहकार समिति बैठकको निर्णय रोक्न उनीहरूले माग गरेका छन् ।
‘यसअघि विभागले ६५० एमजीको औषधि उत्पादन र बिक्री अनुमति नदिने निर्णय गरेको थियो, अहिले उत्पादक र व्यापारीको दबाबमा स्वार्थ समूहका लागि निरन्तर गलत निर्णय भएको छ,’ संघका अध्यक्ष अमृत खनाल र मञ्चका केन्द्रीय सचिव हरिप्रसाद मैनालीद्वारा जारी विज्ञप्तिमा छ, ‘विभागका निर्णय र कामकारबाहीमाथि तत्काल छानबिन गर्न अनुरोध छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।