• मंसिर ८ २०८१, शनिबार

चुनावमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने पक्षमा कांग्रेस

चैत्र १४ २०७८, सोमबार

काठमाडौं । सत्तारुढ दलको प्रमुख पार्टी नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने भएको छ ।

केन्द्रीय समितिको जारी बैठकमा सदस्यहरूको धारणा सुनेसँगै कांग्रेस नेतृत्व वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निष्कर्षमा पुगेको हो ।

बैठकमा सबैजसो केन्द्रीय सदस्यले तालमेलकै पक्षमा मत राखेको जानकारी दिँदै नेता रामचन्द्र पौडेल भने, ‘केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्नेछ । तालमेल कुन तरिकाले गर्नेलगायत बाँकी कुरा पार्टीका तल्ला तहले नै टुंयाउनेछन् ।’

केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठक आइतबार पनि बस्यो । बैठकमा बोल्ने नेताहरूले स्थानीय आवश्यकताअनुसार निर्वाचनमा तालमेल गर्नुपर्ने तर त्यसका लागि पार्टीले सैद्धान्तिक निर्णय लिनुपर्नेमा जोड दिँदै विपक्षमा उभिन उपयुक्त नहुने धारणा राखेका थिए ।

निर्वाचन प्रणालीका कारण पनि संघ र प्रदेशमा सरकार सञ्चालनका लागि गठबन्धन आवश्यक रहेको भन्दै उनीहरूले स्थानीय तहको चुनावमा पनि तालमेलका पक्षमा जोड दिएका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।