हाम्रो देश ऋषिमुनीहरूको तपोभूमि हो । यहाँ कैयौं ऋृषिमुनीहरुले तपस्या गरि शक्ति स्वरूपमा लीन हुनुभएको प्रसंग पनि धर्मशास्त्रहरुमा पाइन्छ । यसै प्रसंगमा कपिलमुनीले पनि नुवाकोट जिल्लाको कविलास डाँडामा देवादिदेव महादेवको तपस्या गरि शिव स्वरूप बन्नु भई कपिलेश्वर पशुपतिनाथको स्थापना गर्नु भएको हो ।
कपिलमुनी भगवानको २४ अवतारमध्ये ५औं अवतारको रुपमा पनि पूजित हुनुहुन्छ । भारतका धेरै स्थान र दक्षिण एसियाका विभिन्न कपिलमुनी मन्दिरहरु पनि स्थापना गरिएका छन् । त्यहाँ व्यापक रुपमा कपिलमुनीलाई विष्णु भगवानकै रुपमा पूजाचर्अना गरिन्छ । नेपालको जिल्ला पनि कपिलमुनीकै नामबाट बनेको हो ।
कपिलले स्थापना गर्नु भएको बस्ती भएकोले कपिलवस्तु नाम रहन गएको हो भनिन्छ । कपिलवस्तुका राजा शुद्धोदनका छोरा गौतम पनि यही भूमिमा जन्म लिई विश्वशान्तिका अग्रदूत बनेका हुन् । कपिलवस्तुमा बस्ती बसाउने कपिलमुनीकै मूर्ति या मन्दिर नहुनु दुःखलाग्दो कुरा हो । उहाँको मन्दिर कहिँकतै रहेको छ कि अनुसन्धानको विषय बनेको छ । कपिलवस्तुमा रहेको संग्रहालयमा पनि स्पष्टरुपमा कपिलमुनीको मूर्ति भेटिएको छैन ।
नुवाकोट जिल्लाको कविलास गाविसको वडा नं ७ मा पर्ने कपिलेश्वर महादेव नुवाकोटको एक महत्वपूणर् देवस्थल हो । परापूर्वकालमा देवता र असुर मिलेर समुद्र मन्थन गर्दा कालकुट विष निस्केपछि हाहाकार भयो । यो कालकुट विषले सृष्टि भइसकेको विश्व ब्रमाण्ड नै ध्वस्त हुने डरले त्राहिमाम त्राहिमाम भन्दै सबै देवताहरूले तपस्यामा लीन भएका देवादिदेव महादेव समक्ष गई प्रार्थना गरेर कालकुट विषलाई समन गर्नु पर्ने अनुरोध गरे ।
विश्व ब्रम्हाण्डको रक्षा र लोक कल्याणका लागि महादेव आफैँ अघि सरेर उक्त कालकुट विष पान गर्नु भयो । उत्तिनैखेर शक्ति स्वरुपा पार्वतीले महादेवले पान गर्नु भएको कालकुट विषलाई महादेवको घाँटीमै रोकीदिनु भयो । विष पिएपछि पीडा भएर डाहाले छट्पटिएर वायुवेगमा महादेव हिंड्न थाले ।
यसरी छट्पटाएर हिंडेका महादेव काठमाडौंको हाल पशुपतिनाथ रहेको स्थानहुँदै नुवाकोटको हाल दुप्चेश्वर महादेवस्थान रहेको ठाउँमा बासबसी भोलिपल्ट गोसाइँकुण्डमा पुगेर आफ्नै त्रिशुलले पहरामा हानेर निकालेको जलकुण्डमा विषको डाहा शान्त पारेर बस्नु भयो । यसरी छट्पटिएर हिंडेका महादेवको पछि लागेर गएका ऋषिमुनीहरूको साथमा गएका कपिलमुनी हिंड्दा हिँड्दै पछि पर्नु भयो र पछि एक्लै पनि पर्नु भएका कपिलमुनी कविलास डाँडामा पुग्दा त्यहाँ महादेवको ज्योतिर्लिङ्गको दर्शन पाउनु भयो । तब कपिलमुनी अत्यन्तै हर्षित भई त्यहिँ महादेवको शिवलिंग थापना गर्नु भयो । त्यहिँ कपिलमुनीले आश्रय बनाएर हजारौं गाई पालेर महादेवको तपस्या गरि बस्नुभयो ।
कपिलमुनीले स्थापना गर्नु भएको शिवलिङ्गलाई पछि गएर कपिलेश्वर महादेवको नामले पुकारिन थालेको हो ।
उता समुद्र मन्थनको क्रममा अमृतको घडा बोकेर धन्वन्तरी निस्कनु हुन्छ । यसरी निस्केको अमृत पहिला मैले पिउन पाउनु पर्छ भन्दै देवता र दानवहरूमा विवाद चर्किन्छ । दानवहरुले अमृतको घडा खोसेर लैजान सफल हुन्छन् र आफू आफूमै पहिला अमृत पिउने भन्दै खोसाखोस गर्न थाल्छन् ।
उक्त विवाद शान्त पार्न र देवताहरुलाई मात्र अमृत पिलाउने खेल खेल्न भगवान विष्णुले अत्यन्तै आकर्षक मोहनीको रुप लिई राक्षसहरुलाई लठ्याएर देवता र असुरलाई दुई हातमा बस्न लगाएर अमृत बाँडेर पिलाउने काममा पहिला देवताहरुको हातमा अमृत पिलाउँदै दानवहरुपट्टि हेर्दै मोहनी मुस्कान छर्दै दानवहरुलाई मक्ख पारिरहेका हुन्छन् ।
त्यतिकैमा एउटा दानवलाई शंका लागि देवताकै रूप लिइ देवता बसेको अन्तिम हारमा बस्न पुग्छ । मोहनीरुपी भगवान विष्णुले देवताहरुलाई अमृत पिलाउँदै जाँदा अन्तिम स्थानमा बसेका दानवलाई पनि देवता ठानेर अमृत पिलाउन पुग्छन् । अमृत पिलाउने बित्तिकै यो त देवता होइन दानवले छल गरेर बस्न आएको हो भन्ने थाहा पाउने बित्तिकै मोहनीले आफ्नो वास्तविक विष्णुको रुपमा प्रकट भई सुदर्शन चक्रले त्यो दानवको शीर छेदन गरिदिनु भयो । त्यही दानवको शीर शरीरको दुई भाग राहु र केतुको रुपमा आजसम्म अमर रहेको छ ।
यसरी देवताहरुले छल गरेर अमृत पान गरेको र आफूलाई अमृत नपिलाएको थाहा पाएका दानवले देवताहरुमाथि धावा बोले र भीषण आक्रमण गरे । कतिपय देवताहरुलाई घायल पारे । तब ब्रम्हाजीले सबै देवताहरूलाई भगाएर ल्याइ कविलास डाँडा नजिकै रहेको ब्रम्हेश्वर क्षेत्रमा देवसेना र देवताहरुलाई लुकाएर राखे । त्यहिँ ब्रम्हाले शान्तिको लागि यज्ञ गर्नु भयो । दानवहरुले त्यहिँ आएर आक्रमण गर्न थाले । तब ब्रम्हाले नारदलाई सुरक्षित ठाउँ खोज्न लगाउँदा कविलास डाँडामा कपिलमुनीले शिवलिङ्ग स्थापना गरि तपस्या गरिरहेको स्थान नजिकै चमेरी गुफा फेला पारेर सबै देवतालाई लुकाएर राखे । त्यही चमेरे गुफाबाट देवसेनाहरूले असुरसेनाहरूलाई धपाउन सफल भए ।
त्यहिँ ब्रम्हाले धर्मसभा पनि गरेका थिए । योगी नरहरिनाथको भनाइ अनुसार पनि देवदेवीहरू माथि असुरहरुबाट भिषण आक्रमण हुन थालेपछि देवदेवीहरू सुरक्षित स्थानमा रहेर मोर्चाबन्दी गर्ने उद्देश्यले देवघाटमा र देवीहरु जति नुवाकोटको देवीघाटमा जम्मा भए । त्यहि समयमा शान्तिका लागि ब्रम्हाले ब्रह्मक्षेत्र यज्ञ गर्न थाले ।
त्यतिबेला असुहरुले त्यहाँ पनि यत्रतत्रबाट आक्रमण गर्न थालेपछि पहिला देवताहरूले सुरक्षित स्थान अहिले भन्ने गरेको चमेरे गुफाभित्र सेना राखेका थिए । तिनीहरुलाई प्रयोग गरी असुर नास गर्न लगाए । उता ब्रम्हाजीले धर्मसभा गर्न खोज्दा सुरक्षित स्थान खोज्ने क्रममा कपिलमुनीले शिवलिंग स्थापना गरेर ध्यन गरेको स्थान कपिलेश्वर प्राङ्गणमा धर्मसभा गरेका हुन् । त्यसैले त्यस ठाउँको कपिलेश्वर नाम कविलास भएको हो ।
कपिलेश्वर महादेव परिसर नुवाकोट जिल्लाकै महत्वपूणर् देवस्थल हो । त्यसैले त्यसक्षेत्रलाई कपिलेश्वर नामकै रुपमा लिन सकिन्छ । त्यो देवस्थल नुवाकोटमा बहने लिखु र तादी नदीको बीचमा पूर्वपश्चिमझैं उठेको कविलास नामकै पहाडको टुप्पोमा रहेको छ । यो पहाड समुद्र सतहबाट ४,५०० फिट माथि पर्दछ । लिखु र तादी नदीको सतहदेखि करिव २ देखि साढे २ घण्टाको उकालो चढेपछि माथि मन्दिरमा पुगिन्छ । यस महादेवको दक्षिणपट्टी ठीक मुन्तिर बाक्लो दनुवार बस्ती रहेको गाउँ आँपचौर रहेको छ ।
कपिलेश्वर महादेवको स्थापना मल्लकालको मध्यतिर भएको कुरा त्यहिँ रहेको एक शिलालेखबाट पनि थाहा हुन्छ । ब्राह्मण पुजारीबाट विहान बेलुका नित्यपुजा तथा आरती भइरहेको छ । पुजारीले पूजा गरिरहँदा दमाईले एउटा दमाहा मात्र बजाइरहने चलन चलिआएको छ ।
श्री कपिलेश्वर महादेव स्थानको पहाडमा उक्लिंदा श्रीरक्षा विनायक हुँदै पातालदेवी सिद्धिविनायक, सरस्वती, नाट्यश्वर, महालक्ष्मीस्थान हुँदै उकालो चढ्दै गएपछि अन्त्यमा पहाडमाथि कपिलेश्वर मन्दिर पुगिन्छ ।
कपिलेश्वर महादेवलाई पशुपति महादेवको जस्तै चारढोकाबाट दर्शन गर्न सकिन्छ । मन्दिरभित्र गएर पूजा गर्न पनि सकिन्छ । पशुपतिनाथको जस्तै चतुर्मुखी शिवलिङ्ग भएको कपिलेश्वर महादेव अत्यन्तै आकर्षक देखिन्छ । देवादिदेव महादेवको चतुरमुखी भएको शिवलिङ्मा उर्ध्वमुख अर्थात् ईशानमुख समेत गरी पञ्चमुखी महादेवको रूपमा मानिन्छ । उक्त पञ्मुखमा पूर्वमा तत्पुरुष, पश्चिममा सयोगज्र, उत्तरमा वामदेव, दक्षिणमा अयोर र उर्ध्वमा ईशान स्वरूप रहेका छन् ।
शिवजीका प्रत्यक मुखमा रहेका तीनओटा सूर्य, चन्द्र र अग्नि मानिएका छन् । देवादिदेव महादेवका यिनै स्वरूपमा रहेका कपिलेश्वर महादेवको अत्यन्तै महत्वपूणर् ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्वले भरिएको छ । यस देवस्थलको संरक्षण, सम्बर्द्धन र विकास गर्ने कार्यमा यथाशिघ्र सम्बन्धित निकाय, सरकार र सम्पूणर् भक्तजनहरुले चासो राख्नुपर्ने देखिन्छ ।
यस्तो पवित्र स्थल कपिलेश्वर धामको विकास गरेर धार्मिक पर्यटनको प्रबर्दन गर्न सकेमा त्यसक्षेत्र र कविलास गाउँकै विकास निर्माणमा ठूलो योगदान पुग्नुका साथै अति प्राचीन धार्मिक, साँस्कृतिक एवं पुरातात्विक धरोहरको जगेर्ना भइरहने छ ।