तिमी त यहाँ नचिनिने भएछौ
गालाका रगतहरू सुकिसकेछन्
आँखाका ज्योति सब हराइसकेछन्
तिमी त रुँदारुँदै निदाएको बालकजस्तो
कठोर कारागारको यातनाभोगी विरक्त बन्दीजस्तो
गाँस खोसिएको बास लुटिएको विह्वल हतभागी जस्तो
कस्तो कस्तो भएछौ,
तिमी त यहाँ नचिनिने भएछौ ।
अतीत गौरवले धपक्क बलेको अघिको चहकिलो अनुहारमा
ग्लानीका विषाक्त रेखाहरू कोरिएछन्
पहाडका बैशाखी वनमा
तिमी जंगली फूलझंै हँसिलो देखिन्थ्यौ
तर अब त चेहरामा तिम्रा
विषादका काला धर्साहरू कोरिएछन्
चोटमा भुक्न होइन बरु सहन सिकेछौ
अब त अर्कै अर्कैजस्तो भएछौ,
तिमी त यहाँ नचिनिने भएछौ ।
‘तिमी को हौ’- चिनाउन आएको होइन म
बितेका गौरवगाथा कहन आएको होइन म
तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म
सजिलै खोसिएको गाँस
हलुकै लुटिएको बास दिलाउन पाएको होइन म
छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म
निर्धा आँशुका धारा हेर्न आएको होइन म
केवल तिमी ‘तिमी’ नै हौ कि चिन्न आएको म
तर, तिमी त यहाँ नचिनिने भएछौ ।
आत्मव्यथा-बाट, २०१६ ।