काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे बहस भइरहेका बेला सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच जवाल–जवाफ चलेको छ ।
१४ औँ महाधिवेशनमा एउटै पदका प्रत्यासी रहेका देउवा–कोइराला शनिबार महाधिवेशनपछि पहिलो पटक एउटै मञ्चमा देखिए, बीपी स्मृति सहकारी सामुदायिक अस्पतालको वार्षिक साधारण सभामा ।
सभामा बोल्नेक्रममा पहिले बोल्ने पालो पाएका नेता कोइरालाले सभापति देउवालाई लक्षित गर्दै थुप्रै सवाल उठाए, अन्त्यमा बोलेका सभापति देउवाले मञ्चबाटै ती सवालहरूको जवाफ दिए, कोइरालामाथि दोहोर्याई–तेहेर्याई कटाक्ष गरे । त्यसक्रममा देउवा–कोइरालाले एकअर्काप्रति आरोप–प्रत्यारोपसमेत गरेका छन् ।
सभापति देउवाले महाधिवेशनमा आफूले पाएको ४० प्रतिशत मतभारको अस्तित्व नस्वीकारेको आरोप लगाउँदै आएका नेता कोइरालाले कार्यक्रममा बोल्दै वर्तमान सरकार निर्माण, सञ्चालन र आसन्न चुनावमा गठबन्धनबारे प्रश्न उठाए ।
नेता कोइरालाले सभापति देउवाले प्रयास गरिरहेको भएपनि कतिपय कुरामा ध्यान नपुगेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए ।
कोइरालाले आसन्न चुनावमा कांग्रेसले विचार र सिद्धान्त नमिल्ने दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे सोचेर निर्णय लिनुपर्ने बताए ।
‘यो सरकार बन्ने सन्दर्भमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीहरूबीच गठबन्धन भयो, संविधान र लोकतन्त्रको बचाउका लागि त्यो गठबन्धन गर्नु स्वभाविक थियो,’ कोइरालाले प्रश्न गर्दै अघि भने, ‘तर अब चुनावमा गठबन्धन गर्ने कुरा कति फाइदाजनक हुन्छ ? गठबन्धन गर्दै जाँदा नेपाली कांग्रेसको अवस्था भारतीय कांग्रेसको जस्तो पो हुने हो कि ?’
कोइरालाले भने– कांग्रेसको आफ्नै विचार र सिद्धान्त छ, त्यो विचार सिद्धान्तलाई अघि बढाएर कांग्रेसभित्रका गुट उपगुटलाई समेटेर अघि बढ्यो भने कांग्रेसले कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यकता मैले देखेको छैन ।
जवाफमा सभापति एवम् प्रधानमन्त्री देउवाले गुटबाट पार्टी नचल्ने दाबी गरे । ‘हाम्रो पार्टीमा गुट त पहिले पनि थिए, गुटको अभ्यास पहिल्यैदेखि भएको हो ।
सुवर्ण शमशेरको गुट थियो, गिरिजाबाबुको गुट थियो । पछि गिरिजाबाबु र किसुनजीको गुट थियो, अहिले पनि छ,’ देउवाले भने, ‘तर, गुटबाट पार्टी चल्नेवाला छैन ।’
गठबन्धन गरे पार्टी कमजोर हुने चिन्ता व्यक्त गरेको कोइरालालाई देउवाले कडा जवाफ दिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।