काठमाडौं । साहित्यकार खेलकुद समाजको आयोजनामा काठमाडौंको टोखामा कविता तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २ दर्जन बढी साहित्यकारहरुले आआफ्ना रचना वाचन गरे ।
सो समारोहमा रत्नप्रसाद अनामणि श्रेष्ठ, तारा केसी, जसध्वज गुरुङ, शिवप्रसाद आचार्य, हरिप्रसाद पाण्डे, राजबाबु श्रेष्ठ‘सागर’, सुशिला अधिकारी ढकाल, बासुदेव ठकुरी, कृष्ण मोक्तान, दिनेश पाण्डे, कृष्णदेव रिमाल, टंक बजगाईं, उमेश पाण्डे, उत्तम विचार भेटुवाल, बासुदेव काफ्ले, गुप्तबहादुर श्रेष्ठ लगायतले कविता तथा गजल वाचन गरेका थिए ।
कविता तथा गजल वाचन कार्यक्रममा वरिष्ठ साहित्यकार गाग्री शर्मा अतिथिकोरुपमा उपस्थित थिइन् । कार्यक्रममा अतिथि शर्मा र मुख्य अतिथि साहित्यकार डाक्टर सैलेन्दुप्रकाश नेपालले कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रमको आयोजना साहित्यकार खेलकुद समाज नेपालले गरेको हो । सो समारोहमा विभिन्न विधामा कलम चलाउँदै आएका आधा दर्जन साहित्यकारहरुलाई सम्मान पनि गरियो ।
साहित्यकारहरुलाई सम्मान पत्र प्रदान गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनता र समाजलाई भावनात्मकरुपमा जोड्ने कार्यमा साहित्यकाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै साहित्यको विकास र प्रवर्द्धनका लागि आफूले टोखामा साहित्यिक प्रतिष्ठान स्थापना गर्ने पहल गर्ने बताए ।
सम्मान पत्र वितरण कार्यक्रममा बोल्दै साहित्यकार सैलेन्दुप्रकाश नेपालले खेलकुद साहित्यकार समाजले खेलकुद क्षेत्र र साहित्यलाई जोड्ने काम गरेकोले यो कामलाई निरन्तर्रुपमा लैजानु पर्नेमा जोड दिए । कोरोना महामारीको कारण साहित्यिक गतिविधिहरु कम भएकोले अब आगामी दिनहरुमा यसलाई बढाएर लैजान पर्नेमा उनको जोड थियो ।
अजको कार्यक्रममा सम्मान पत्रबाट सम्मानित हुनेहरुमा भैरवी भूगोल(नुवाकोट), राजबाबु श्रेष्ठ(भक्तपुर), रबिना घिमिरे(नुवाकोट), प्रेम राई ‘परिचित’ (उदयपुर), रेणु अधिकारी‘मौनता’(काठमाडौं), सुशिला ढकाल अधिकारी(काठमाडौं) रहेका छन् ।
विगत लामो समयदेखि खेलकुद तथा साहित्यको क्षेत्रमा खेलकुद साहित्यकार समाजले विभिन्न गतिविधि गर्दै आएको छ ।