• मंसिर १२ २०८१, बुधबार

कांग्रेस दुईधार : संस्थापन चुनावी तालमेलको पक्षमा, इतर पक्ष विपक्षमा

चैत्र १२ २०७८, शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ ।

कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेलको विपक्षमा छ ।

हिजो (शुक्रबार)बाट सुरु केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने नगर्ने’ नेताहरूको फरकफरक धारणा आएको हो ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा तालमेलको पक्षमा उभिँदै आइरहेका छन् । तर, इतर पक्षका नेता डा. शेखर कोइराला भने तालमेलको पक्षमा खुलेका छैनन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले भने स्थानीय तहको निर्वाचनमा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउँदै आइरहेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिबाट जिल्लाको वस्तुगत अवस्था बुझ्ने काम भइरहेको जानकारी दिए ।

उनका अनुसार शुक्रबारको बैठकमा जिल्ला खटिएका २१ जना केन्द्रीय प्रतिनिधिले जिल्लामा पार्टीको अवस्था’ जानकारी गराएका हुन् ।

महतले पार्टी सभापति देउवा गठबन्धन आबद्ध दलहरूबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गरिनुपर्ने पक्षमा रहेकोसमेत जानकारी दिए ।

‘प्रधानमन्त्री देउवा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने विषयमा सकरात्मक हुनुहुन्छ, कहाँ कस्तो अवस्था छ हेरेर तालमेल गरौं भन्ने उहाँको भनाइ हो,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेस बैठकमा स्थानीय तहको निर्वाचनका लागि ७७ जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लाको वस्तुगत अवस्थाका विषयमा नेतृत्वलाई जानकारीसमेत गराएका छन् । यो समाचार राजधान िदैनिकमा छ ।