• असार २३ २०८१, शनिबार

घोराही उपमहानगरको सबै वडामा स्वास्थ्य केन्द्र

चैत्र ११ २०७८, शुक्रबार

दाङ, ११ चैत ।

दाङको घोराही उपमहानगरपालिका वडानम्बर १४ स्थित नयाँ बजारमा रहेको शहरी स्वास्थ्य केन्द्रमा स्वस्थ्य सेवा लिन आएका मालबहादुर रोका मगरले वडामा स्थापना भएको स्वास्थ्य केन्द्रले नागरिकलाई धेरै सहज भएको बताए । बजारको बीचमा स्थापना भएको स्वास्थ्य केन्द्रले निम्न वर्गीय नागरिकहरुलाई थप सहज भएको रोका मगरको भनाइ छ ।

‘पहिले स्वास्थ्य केन्द्र नहुँदा सरकारले दिने निःशुल्क सेवासमेत पाउन सकिएको थिएन, अहिले सहज भएको छ’ उनले भने । उनले ५/१० रुपैयाँ नभएर मान्छेले सामान्य उपचार गर्न नसक्ने अवस्था रहेको भन्दै सरकारबाट यसरी खोलिएका स्वास्थ्य संस्थाले वडाको गौरवलाई बढाउने र नागरिकलाई सरकार भएको प्रत्याभूत गराउने बताए ।

त्यस्तै घोराही १० नारायणपुरमा रहेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा उपचार गर्न आएकी क्वारी पोखरेलले स्वास्थ्य केन्द्रबाट नियमति उपचार लिइरहेको बताइन् । उनले आफूले प्रेसरको औषधि खाने गरेको भन्दै स्वास्थ्य केन्द्रबाट ती औषधि पनि निःशुल्क पाइरहेको जानकारी दिईन् । लामो समयदेखि नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सेवा लिन पाउँदा आफू खुशी रहेको भन्दै अन्य औषधिसमेत लिने गरेको बताइन् । त्यस्तै घोराही-२ रामपुरमा रहेको रामपुर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले नागरिकहरुलाई निकै सहज भएको स्थानीय चामबहादुर विकले बताए ।

‘रामपुर त अलि गाउँ पनि हो, गाउँमा रहेको स्वास्थ्य केन्द्रले हामीलाई निकै सहज भएको छ’ उनले भने । गाउँगाउँमा खुलेका स्वास्थ्य केन्द्रहरुको सेवा प्रवाहपछि नागरिकहरु खुशीमात्रै भएका छैनन् स्वास्थ्य केन्द्रप्रति उनीहरुको विश्वास पनि बढेको छ । नयाँ बजार स्वास्थ्य केन्द्रकी ईञ्चार्ज प्रभा शर्माले बजारको बीचमा रहेको स्वास्थ्य केन्द्रप्रति नागरिकको विश्वास राम्रो रहेको बताइन् ।

उनले केन्द्रबाट प्रेसर, दम, ग्यास्ट्रिक लगायतका विभिन्न ३५ प्रकारका औषधि निःशुल्क दिने गरेको जानकारी दिँदै बजारमै भए पनि स्वास्थ्य केन्द्रमा दैनिक १५ जना बढी विरामी उपचार गर्न आउने गरेको उनले जानकारी दिईन् । केन्द्रलाई स्तरबृद्धि गर्न नसकिएकाले सबै विशेषज्ञ सेवा दिन नसकिने र बिरामीलाई सामान्य उपचारपछि सल्लाह सुझाव दिएर रेफर गर्ने गरिएको ईञ्चार्ज शर्माको भनाई छ ।

नारायणपुरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्यले स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नागरिकको उपचार गर्नका लागि चाप हुने गरेको बताए । उनले प्रवर्द्धन केन्द्रबाट आयुर्वेदिक डाक्टरसहित, सुत्केरी सेवा दिँदै आइरहेको जानकारी दिए । नारायणपुर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट महिनामा २० जना बढीले सुत्केरी सेवा लिने गरेको केन्द्रकी अनमी हिरा पन्थीले बताइन् ।

यस केन्द्रमा नाराणपुर क्षेत्रका मात्र नभएर तुलसीपुर र घोराही बजार क्षेत्रका नागरिकसमेत सुत्केरी सेवा लिन आउने गरेका छन् । प्रयोगशाला सहितको स्वास्थ्य सेवा दिँदै आइरहेको केन्द्रमा सुत्केरी, ओपिडी, आयुर्वेदिक, खोप, पोषण लगायतको सेवा दिइंदै आइरहेको छ ।

वि.सं. २०७४ सालमा स्थनीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरुको सक्रियतामा घोराही उपमहानगरपालिका-३ को झिङ्नी, वडानम्बर ६ को फचकपुर, वडानम्वर ८ को मार्पाडाँडा, वडानम्वर ११ को शिवपुर, वडानम्वर १४ को संस्थागत परिवार नियोजन क्लिनिक, वडानम्वर १५ को उत्साह टोल र १७ को हरिद्वार स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।
सबै नागरिकलाई स्वस्थ्यको पहुँचमा ल्याउनका लागि ‘एक वडा एक स्वास्थ्य केन्द्र’ को नीति अनुसार स्वास्थ्य केन्द्रको स्थापनालाई तीब्रता दिएको र सोही अनुसार सबै वडामा स्वस्थ्य सेवा पुगेको नगरप्रमुख चौधरीको भनाई छ । उहाँले रामपुरमा विशेषज्ञ सहितको सेवा दिनका लागि अहिले भवन निर्माणको काम भइरहेको जानकारी दिए । कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ स्वास्थ्य केन्द्रलाई स्तरबृद्धि गर्ने काम पनि भइरहेको उनको भनाइ छ ।

घोराही उपमहागरपालिकामा ‘एक वडा एक, स्वास्थ्य केन्द्र’ नीति अनुसार सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । घोराही उपमहानगरपालिकाले प्रथम नगरसभाबाट नै ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीति नै पारित गरेर प्रत्येक वडामा स्वस्थ्य सेवा पुर्याउने लक्ष्य लिएको थियो । सोही अनुसार उपमहानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा घोराहीका-१९ वटै वडामा स्वस्थ्य सेवा पुगिसकेको छ ।

सबै स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले सेवा दिइरहेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । घोराहीमा १९ वटा वडा रहेपनि अहिले २३ वटा स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छन् ।

स्वास्थ्य शाखा प्रमुख घर्तीका अनुसार उपमहानगरका नागरिकको स्वास्थ्यका लागि ६ वटा स्वास्थ्य चौकी, २ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, १४ वटा सहरी स्वास्थ्य केन्द्र र १ वटा संस्थागत परिवार नियोजन क्लिनिक स्थापना गरिएको छ । उक्त २३ वटा स्वास्थ्य केन्द्रबाट अहिले घोराहीका नागरिकले स्वास्थ्य सेवा लिइरहेका छन् । जसले गर्दा नागरिकहरु पनि खुशी छन् ।

घोराही उपमहानगरपालिकाले कारोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएकालाई राहत वितरण गरेको छ । कोभिडबाट मृत्यु भएका एक जनालाई ५० हजारका दरले ८० जना बढीलाई राहत स्वरुप ५०/५० हजार रुपैयाँ दिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । उनले कोभिड नियन्त्रणका लागि घोराही उपमहानगरले धेरै काम गरेको बताए । ९० वटा क्वारेन्टाइनमा २ हजार ५ सय नागरिकलाई सुरक्षित राखेको, फनपार्क रहेको भवनलाई कोरोना विशेष आइसोलेन बनाएर सञ्चालन गरेको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई आर्थिक अनुदान स्वरुप ४५ लाख, एक सय वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको घर्तीले बताए ।

यस्तै कोभिडका समयमा मोवाइल टोली बनाई चिकित्सक सहित घुम्ती टोलीले कोभिडका विरामीलाई उपचार तथा परामर्श गरेको, ठूलो मात्रामा क्वारेन्टाइनमा रहेका मानिसको निःशुल्क पिसिआर परिक्षण गरेको उनले जानकारी दिए ।

अहिले पहिलो, दोस्रो कोरोना खोप लगाउने कार्यक्रमपछि बुटर जोड लगाउने कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य शाखा प्रमुख घर्ती बताए । खोप कार्यक्रम केन्द्रबाट आएपछि स्थानीय तहको समन्वयमा कार्यक्रम हुँदा निकै प्रभावकारी भएको घर्तीको दाबी छ । उनले घोराही उपमहानरले कोभिडबाट नागरिकलाई बचाउन करिब एक करोड बराबर खर्च गरेको समेत बताए ।

कोभिडका समयमा नागरिकले अस्पताललाई भन्दा पनि स्थानीय तहका जनप्रतिनिधिलाई विश्वास गरेको भन्दै यो विश्वासलाई स्थानीय तहमा काम गर्ने जनप्रतिनिधिदेखि कर्मचारीसमम्मले ध्यान दिएर काम गरेको बताए । घोराही उपमहानगरपालिकाले स्वस्थ्य केन्द्रको स्थापना मात्र नभई नागरिकको स्वास्थ्यका लागि अन्य थुप्रै कार्यक्रम गरेको छ । जसबाट नागरिकहरु खुशी व्यक्त गर्ने गर्छन । ७० वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वाथ्य जाँचसँगै उपचार गर्ने कार्यक्रम घोराहीले गर्दै आइरहेको छ । जसले नियमित चेकजाँच गर्नुपर्ने बृद्धबृद्धालाई सहज भएको घोराही १९ का जनक केसीले बताए ।

७० वर्ष पुगेका केसीले उपमहानगरबाट स्वास्थ्यकर्मी आएर आफ्नो पनि चेकजाँच गरिरहने जानकारी दिए । उनले घरमै आएर स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्न थालेदेखि घोराही बजारमा कुनै ठूलै बिरामी भएमात्र जानुपर्ने बताए । यस्तै घोराही-७ का कुशलराम डिसीले पनि गाउँमा स्वास्थ्य केन्द्रमा पुगेर निःशुल्क औषधिहरु ल्याउने गरेको बताए । ‘कुनै ठूलो बिरामी भए त घोराही पुग्नुपर्छ नत्र यही नै उपचार हुन्छ, औषधि पनि निःशुल्क पाइन्छ,’ केसीले भने ।

त्यस्तै घोराही उपमहानगरपालिकाले सुत्केरी आमाका लागि उप-प्रमुख आमा सुरक्षा खुत्रुके बचत कार्यक्रम सञ्चालन गरेको छ । सुत्केरी आमा र नवजात शिशुलाई स्वस्थ बनाउन उपमहानगरपालिकाले उक्त कार्यक्रम लागू गरेको हो । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा नपाउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या उत्पन्न हुन नदिनका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके वचत कार्यक्रम ल्याइएको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् ।

यस कार्यक्रम अन्तर्गत गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म ४ पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई उपमहानगरले २ हजार ८ सय रुपियाँ खुत्रुकेमा जम्मा गरिदिने गरेको छ । यस कार्यक्रमबाट धेरै आमाहरु लाभान्वित भएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए ।

यस्तै उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा, सिकलसेल एनिमिया अभियान कार्यक्रम अन्तर्गत निशुल्क रगतको ब्यवस्था, भान्सा सुधार कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वस्थ्य जाँच कार्यक्रम, आयुर्वेद औषधि खरिद, नगरप्रमुख रक्त सञ्चार लगायत कार्यक्रम गर्दै आइरहेको छ ।