• मंसिर १२ २०८१, बुधबार

चीनद्धारा निर्माण गरिएका नेपालका आयोजना : कतै सतप्रतिशत प्रगति कतै शून्य

चैत्र ११ २०७८, शुक्रबार

काठमाडौ. । पछिल्ला वर्षमा नेपालको पूर्वाधार निर्माणमा छिमेकी चीनको उपस्थिति बढेको छ । अहिले नेपालका विकास आयोजनामा चीनको प्रत्यक्ष वा परोक्ष उपस्थिति गर्विलो देखिन्छ ।

करिब दुई दर्जनभन्दा बढी आयोजना चीन सरकारको अनुदान, ऋण, आर्थिक सहायतामा निर्माण भइरहेका छन् । विगत केही वर्षयता नेपालका विभिन्न आयोजना निर्माण ठेक्कामा पनि चिनियाँ कम्पनीहरूको संलग्नता बढ्दो छ ।

नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी भित्रिन थालेको तत्कालीन राजा महेन्द्र शाहका पालादेखि हो । नेपालमा चिनियाँ लगानीका परियोजना बन्न थालेको ५० वर्षभन्दा धेरै भइसकेको छ । चीनको प्रत्यक्ष लगानीमा काठमाडौं उपत्यकामा विद्युतीय ट्रलीबस सेवा सुरु गरिएको थियो ।

तर २०५० को दशकपछि यो सेवा बन्द भइसकेको छ । बाग्लुङ–पोखरा–बुटवल सडक खण्ड, तातोपानी–काठमाडौं जोड्ने अरनिको राजमार्ग पनि चिनियाँ आर्थिक सहायतामा निर्माण गरिएका हुन् ।

दरबार हाइस्कुल, निजामती अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बिपी स्मृति क्यान्सर अस्पताललगायतका संरचना पनि चिनियाँ सरकारको प्रत्यक्ष तथा परोक्ष लगानीमा निर्माण भएका हुन् ।

चीनको सहयोगमा खुलेका आधा दर्जन उद्योग भने बन्द भइसकेका छन् । चीनको सहयोगमा खुलेका बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि टायल उद्योग, भृकुटी कागज कारखानालगायतका उद्योग बन्द भएका हुन् ।

सडक विभागका महानिर्देशक शिवहरि सापकोटा मित्रराष्ट्र चीनको अनुदान तथा ऋण सहायतामा सडकका धेरै परियोजना निर्माण भइरहेका बताउँछन् ।

‘चीनकै आर्थिक सहायतामा बाग्लुङ–पोखरा सडक खण्ड तयार भयो,’ उनले भने, ‘अरनिको राजमार्ग पनि चिनियाँ सहायतामा निर्माण तथा मर्मतसम्भार हुँदै आइरहेको छ ।’

सापकोटाले पछिल्ला वर्षमा सडक विभागमातहतका महत्वपूर्ण पूर्वाधार निर्माणमा चिनियाँ ठेकेदार कम्पनीको वर्चस्व रहेको बताए ।

‘अहिले सडक विभागमातहतका आधा दर्जनभन्दा बढी परियोजनामा चिनियाँ कम्पनीले काम गरिरहेका छन्,’ उनले भने, ‘बुटवल–नारायणगढ ११३ किलोमिटर सडक विस्तारमा चिनियाँ ठेकेदारले काम गरिरहेका छन् ।

त्यस्तै बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको जिम्मेवारी पनि चिनियाँ ठेकेदारले पाएको अवस्था छ ।’

महानिर्देशक सापकोटा चिनियाँ ठेकेदार कम्पनीको काम समग्रमा सन्तोषजनक भएको बताउँछन् । ‘कुनै परियोजना त उनीहरूले तोकिएको समयभित्रै पूरा गरिसकेका छन् । तर कुनै आयोजनामा उनीहरूको पर्फमेन्स त्यति राम्रो देखिँदैन ।’

बुटवल–नारायणगढ सडक खण्डको ठेक्का सम्झौता भएको ३८ महिना बितिसक्दा पनि भौतिक प्रगति १५ प्रतिशतमात्रै छ । अहिले ठेकेदार कम्पनीले उल्टै दुई वर्ष म्याद थप्न माग गरिरहेको छ ।

यो खण्डको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले पाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।