• असार २३ २०८१, शनिबार

लुम्बिनीमा पाँच वर्षपछि स्थानीय पाठ्यक्रम लागु गरिंदै

चैत्र १० २०७८, बिहीबार

दाङ, ८ चैत । लुम्बिनी प्रदेशका स्थानीय तहहरुले अहिले आफ्नै पाठ्यक्रम लागुगर्ने तयारी गरेका छन् । स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष बित्नै लाग्दा प्रदेशका तीन स्थानीय तहले आगामी शैक्षिक सत्र २०७९ देखि स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेका छन् ।

आउँदो शैक्षिक सत्रमा दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र रुपन्देहीको कोटहीमाई गाँउपालिकाले स्थानीय पाठ्यक्रम लागुगर्ने तयारी गरेका हुन् ।

तुलसीपुर उपमहानगर भित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले अहिले पाठ्यपुस्तक छपाईको कामलाई तिब्र पारेको छ भने घोराहीमा छपाईको काम सकिएको जनाएको छ ।

त्यस्तै कोटहीमाई गाँउपालिकाले पनि पाठ्यपुस्तक छपाईको काम सुरु भएको जनाएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेबमोजीम स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम लागु गर्नका लागि उपमहानगरपालिकाले अहिले पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने विषयवस्तु लेखनको काम गरिरहेको तुलसीपुर उपमहानगरका शिक्षा महाशाखा अधिकृत चक्र भण्डारीले बताए ।

“स्थानीय भाषा, कला, संस्कृति, ठाउँ विषेशलाई प्राथमिकतामा राखेका छौँ, नगरको पहिचान झल्किने र विद्यार्थीलाई सिकाई उपलब्धि हुने किसिमले पाठ्यक्रममा स्थानीय विषयवस्तु समेटेका हौँ” उनले भने ।

स्थानीय आवश्यक्ताको पहिचान, विषय वस्तुका क्षेत्रहरु, विषयवस्तुका अपेक्षित उपलब्धिहरु र विषयवस्तुको विशिष्टीकरण गरेर पालिकाले अहिले पुस्तक लेखनको काम सकेको होे । अहिले पुस्तक छपाईको काम शुरु भैसकेको अधिकृत चक्र भण्डारीले बताए । “आगामी शैक्षिक सत्रमा स्थानीय विषयवस्तु समेटिएको पाठ्यपुस्तक समेट्दै छौँ, कोरोना महामारी नभएको भए गतवर्ष नै लागु गर्ने योजना थियो तर आगामी शैक्षिकसत्रमा निश्चितरुपमा लागु गर्छौँ” उनले भने ।

घोराही उपमहानगरपालिकाले थारु भाषाको उत्थान र संरक्षणका लागि स्थानीय विषवस्तुमा आधारित पाठ्यक्रम थारु भाषामा बनाउन थालेको छ । नगरले कार्यालयमा कामकाजीको भाषा थारु भाषालाई पनि बनाएपछि यसकै संरक्षणमा टेवा पुग्ने उद्देश्यले स्थानीय पाठ्यपुस्तक पनि थारु भाषामै तयार गरीसकेको छ । घोराहीले स्थानीय विषयवस्तुको पाठ्यपुस्तक शुरुमा केहि विद्यालयमा मात्रै लागु गर्ने नगरप्रमुख नरुलाल चौधरीले बताए ।

“थारु भाषालाई कामकाजीको भाषा बनाएका छौँ, अब विद्यालय तहमै थारु भाषाको पाठ्यपुस्तक लागु गर्दैछौँ पहिलो चरणमा थारुहरुको बाहुल्य भएका विद्यालयमा मात्रै लागु हुन्छ” नगर प्रमुख चौधरीले भने । आगामी शैक्षिक सत्रमा लागु गर्ने गरी पुस्तक छपाईको काम सकिएको छ । स्थानीय पाठ्यक्रमले बालबालिकालाई सिकाईमा पनि धेरै सहजता ल्याउने विश्वास उनमा छ । परिवर्तन र रुपान्तरणका नाममा थारुहरुको भाषा, कला र संस्कृती बिर्सने अवस्था आउन लागेको भन्दै संरक्षणकालागि थारु भाषाको पाठ्यक्रम तयार पारेको उनले बताए । घोराही उपमहानगरपालिका थारुहरुको बाहुल्यता भएकोले थारु भाषाको पाठ्यक्रम तायार गरिएको उनले बताए ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकाले पनि आगामी शैक्षिक सत्रदेखि स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम लागु गर्दैछ । पालिकामा सञ्चालित विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म लागि पाठ्यक्रम तयारीको कामलाई अन्तिम रुप दिन बाँकी छ । पालिकाले अहिलेसम्म स्थानीय पाठ्क्रमको मस्यौदा तयार पारिसकेको छ । पाठ्यपुस्तक छपाईका लागि अन्तिम चरणको बैठक बस्ने तयारीमा रहेको पालिकाका शिक्षा शाखा अधिकृत अमृता बुढाथोकीले बताइन् ।

“पालिकामा केहि मदरसा पनि छन्, ती कुरालाई मध्यनजर गरेर स्थानीय पाठ्यक्रम लागु गर्दैछौँ, हामी पनि आउँदो शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रम बनाएर विद्यालयमा पढाई शुरु गर्नेछौं” उनले भनिन् ।

स्थानीय सरकार गठन हुनुभन्दा पहिला नै पाठ्यक्रमको संरचनामा भएपनि स्थानीय पाठ्यक्रमको कार्यान्वयनको अवस्था कमजोर थियो । बिगतमा धेरै विद्यालयले अतिरिक्त अङ्ग्रेजी तथा कम्प्युटर पढाइरहेका थिए । स्थानीय सरकार गठन भएसँगै स्थानीय पाठ्यक्रम निर्माण गरी स्थानीय विषयवस्तु शिक्षण गर्ने विषयले मूर्तरुप लिएको छ । धेरै पालिकाहरुले यसलाई महत्व दिएका छन् । स्थानीय सरकारले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न थालेपछि विद्यालयका शिक्षक र विद्यार्थी पनि हर्षित छन् ।

स्थानीय पाठ्यक्रमले बालबालिकालाई सिक्न सहजहुने दाङकै पहिलो विद्यालय पद्मोदय पब्लिक नमुना मावि भरतपुरका प्रधानाध्यापक रामप्रसाद जैसी बताउँछन् । अहिले अतिरिक्त विषय गणित र कम्प्युटर विज्ञान मात्र लागु भएको छ अब स्थानीय सरकारले स्थानीय विषयवस्तु समेटेर पाठ्यपुस्तक निर्माण गरेपछि बालबालकिालाई सहज हुने उनको विश्वास छ ।

पालिकामा स्थानीय पाठ्यक्रम बनाउने विषय स्थानीय तहमा शिक्षकहरूको क्षमता विकास गर्ने अवसर हो भने विद्यालयसँग स्थानीय समुदायलाई जोड्ने माध्यम पनि हो ।