इतिहासको पन्ना पल्टाउँदा जापानको विदेशी देशहरुसँग १४औं शताब्दीदेखि द्धिपक्षीय सम्बन्धको विस्तार भएको पाइन्छ । जापानले सन् १८५४ मा कानागावा महासन्धिपछि औपचारिक रुपमा दोस्रो देशसँग कुटनैतिक सम्बन्धको सुरुवात गरेको पाइन्छ । त्यसैगरी नेपालको सन् १९५० को राणा शासन पछिको अवधि सम्ममा जम्मा तीनवटा देशहरुसँग मात्र दौत्य सम्बन्ध स्थापना भएको पाइन्छ ।
बेलायतसँग सन् १८१६, भारतसँग सन् १९७४ र फ्रान्ससँग १९४९ मा दौत्य सम्बन्ध स्थापना भएको पाइन्छ । सन् १९५० को अवधिपछि आजको मितिसम्म १७४ देशसँग नेपालले दौत्य सम्बन्ध कायम गरेको छ । जापानसँग नेपालले सन् १९५६ सेप्टेम्बर १ मा कुटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।
कुटनैतिक सम्बन्ध स्थापनाको एकदशक पछि सन् १९६५ मा टोकियोमा नेपाली दूतावास स्थापना भएको थियो भने जापानले १९६७ मा काठमाडौंमा दूतावास स्थापना गरेको थियो । लगभग ६६ वर्षको दौरानमा दुई देशबीचको सम्बन्ध मित्रता, सद्भावना र सहयोगको रुपमा अगाडि बढिरहेको छ ।
नेपालको अनन्य मित्रराष्ट्र जापान समुन्द्रले घेरिएको देश हो भने नेपाल चीन र भारतसँगको भूमि सीमानाले घेरिएको भूपरिवेष्ठित देश हो । भौगोलिक हिसाब तथा दूरीको हिसाबले जापानबाट धेरै टाढा रहेर पनि धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपमा नजिक छ । कुटनीतिक रुपमा मात्र हैन नेपाली र जापानी जनताका बीचको सम्बन्ध घनिष्ट र आत्मीय रहेको छ ।
दुईदेश बीचका नागरिकको सम्बन्ध छैठौं शताब्दीदेखि नै स्थापित भएको देखिन्छ । नेपाल र जापानबीचको साँस्कृतिक सम्बन्ध सन् १८९९ मा जापानी भिक्षु इकाइ कावागुची तिब्बती बौद्ध धर्म अध्ययनको सिलसिलामा तिब्बत जाने क्रममा नेपाल हुँदै आएका थिए । पटकपटक नेपाल आउने गरेका उनले यात्रा बारेको वणर्न आफ्नो पुस्तक ‘थ्री इयर्स इन तिब्बत’ मा उल्लेख गरेका छन् ।
साथै ताङ वंशका प्रसिद्ध चिनियाँ भिक्षु तथा दार्शनिक सुआन जियाङले लिच्छवी राजा अंशुवर्माको पालामा पुरानो काठमाडौं उपत्यकाको भ्रमण गरेको चर्चा पनि सुन्ने गरिन्छ । शान्त, भावनात्मक, सहयोगी, कडा परिश्रम गर्ने मेहनती स्वभावका जापानीहरू नेपाललाई बुद्धको देश भनेर नै धेरै माया गर्ने गर्छन् त्यसैले दुवै देश बीच जनस्तरको सम्बन्ध धेरै प्रगाढ रहेको पाउन सकिन्छ ।
कुटनीतिक सम्बन्ध स्थापनापछि भने दुई देशका बीचको जनस्तरको सम्बन्ध पनि थप मैत्रीपूर्ण हुँदै आएको छ । सम्बन्ध मजबुद बनाउन सरकारी स्तरमा मात्र होइन जनस्तरमा समेत साँस्कृतिक आदान प्रदान तथा प्रदर्शनीहरू भइरहेका छन् । जसको कारण जापान र नेपाल साँस्कृतिक रुपमा नजिक पाउन सकिन्छ ।
जपानले गरेको आर्थिक प्रगतिको कारण हिजोआज जापानमा नेपालीको आकर्षण बढ्दो छ । जसको कारण करिब ५०-६० हजारको संख्यामा नेपाली जापानमा रहेको अनुमान गरिन्छ । विभिन्न चरणहरू पार गर्दै सम्बन्ध गाँसिदै आएको दुई देशका बीचको सम्बन्ध थप मैत्रीपूर्ण हुँदै आएको छ । मैत्रीपूणर् सम्बन्धकै कारण जापान नेपाललाई सहयोग गर्ने प्रमुख दातृराष्ट्र भित्र पर्दछ ।
जापनाले सन् २०१५ को महाभुकम्पपछि तत्काल नेपाललाई गरेको भौतिक तथा आर्थिक सहयोगको बिर्सन सकिँदैन । जापानले महाभुकम्पपछि नेपाललाई पुर्याएको योगदान हेर्दा जापानीहरुले नेपाललाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तत्पर रहका छन् भन्ने हो । त्यसैगरी जापानले कोभिड-१९ को समयमा गरेको सहयोग बिसर्न सकिँदैन ।
जापानले कोभिड खोप तथा मेडिकल सामाग्री सहयोग गरेर नेपाल र जापान संयुक्त राष्ट्रसंघ लगायत धेरै अन्तर्राष्ट्रिय संगठनहरुमा नजिक भएर काम गरेकाछन् । त्यसैगरी जापान क्षेत्रीय सहयोग संगठन सार्कको समेत अप्रिल २००७ देखि पर्यवेक्षकको रुपमा रहेको छ ।
नेपाल र जापान बीचको सम्बन्ध एक्काइसौं शताब्दीमा अनुपम उदाहरणको रुपमा रहेको पाइन्छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध कायम छ । दुवै देशले सन् २०१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हीरक महोत्सव मनाएका थिए ।
दुवै देशले उच्चस्तरीय भ्रमण आदानप्रदान गरी सम्बन्धलाई अझ मजबुद बनाउने काम गरिरहेका छन् । दुई देशबीच हुने यस प्रकारका भ्रमण आदान प्रदानले द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने गरेकोछ । यी उदाहरणहरु हेर्दा नेपाल र जापानको द्धिपक्षीय सम्बन्धका विभिन्न आयामहरू मजबुद रहेको संकेत गर्छ ।
द्धिपक्षीय सम्बन्धलाई थप मजबुद बनाउन भ्रमण आदान प्रदानले पनि थप सहयोग पुग्ने गरेको छ । पछिल्लो समयमा जापानको उच्चस्तरीय भ्रमणमा टोलीले सन् २०१९ को जनवरीमा नेपालको भ्रमण गरेको थियो । उक्त भ्रमण टोलीका प्रमुख जापानका विदेशमन्त्री तारो कोनो थिए । भ्रमणको क्रममा नेपाल र जापानका परराष्ट्र मन्त्रीहरूबीच द्विपक्षीय छलफल समेत भएको थियो ।
त्यसैगरी सन् २०१८ मा एशियन अफ्रिकन कानूनी परामर्श संगठन (AALCO) को ५७औं सम्मेलनमा नेपालको तर्फबाट कानून मन्त्री भानुभक्त ढकालको सहभागीताबाट सम्बन्ध थप उचाइमा पुगेको अनुभव गर्न सकिन्छ ।
नेपालको तर्फबाट पहिलो पटक जापानको भ्रमण सन् १९०२ मा भएको पाइन्छ । नेपाल सरकारले खनिज, मेकानिकल, खरखजाना प्रविधि, कृषिबारे अध्ययन गर्न आठ जना नेपाली विद्यार्थीलाई जापान पठाएको थियो । उनीहरु सबै १८ देखि २७ वर्ष उमेरका थिए र उनीहरुका साथमा १७ जना सहयोगीहरु थिए ।
भारतबाट समुद्री मार्ग भएर पानी जहाजबाट जापानको योकोहामा शहरमा पुगेका थिए । उनीहरु जापान भ्रमण गर्ने प्रथम नेपाली त थिए नै साथसाथै तत्कालिन नेपाली शासकहरुले उच्च अध्ययनका लागि तेस्रो विश्वका मुलुकमा पठाएका प्रथम नेपालीहरु पनि हुन पुगे । देश विकासका लागि एसियाली अनुभवबाट धेरै भन्दा धेरै सिक्नको लागि पनि उनीहरुलाई जापान पठाइएको हुनसक्छ ।
पछिल्लो समयमा पर्यटक आदान प्रदानले समेत दुईदेश बीचको सम्बन्धमा सुधार ल्याएको छ । जापानी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य लुम्बिनी, हिमालय, सदियौं पुरानो परम्परा र सांस्कृतिक कलाकृति, मन्दिर र नेपाली जनताको मिलनसारता जापानी पर्यटकका लागि आकर्षणको विषय बन्ने गरेको अध्ययनले देखाएको छ ।
पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा २९ हजार ७६८ जापानी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालको भ्रमणको क्रममा जापानी अल्पाइनवादी मिनोरु हिगेटाले मनास्लु पर्वतमा पहिलो सफल आरोहण गरेको पनि ६०औं वर्ष भैसकेको छ ।
नेपालका लागि जापनीज राजदूत सुतामु हिराओकाले नेपालमा रहेको बेला आफ्नो वक्तव्यमा नेपाल र जापानबीचको सम्बन्धलाई सद्भाव र पारस्परिक सम्मान र “असल छिमेकी-कूटनीति” को संज्ञा दिएका थिए । यो सम्बन्ध यस तथ्यबाट उत्पन्न हुन्छ कि हामी एसियाली देशका हौं र फलस्वरूप हाम्रो साझा संस्कृति स्वीकार गरिरहेका छौं ।
हाम्रो आधुनिक इतिहासमा पनि समानता छ । यसका साथै हामीले लोकतन्त्र, मौलिक मानव अधिकार, शान्ति र समृद्धिका मूल्य मान्यताहरूमा समानता भएको तथ्यले पनि आपसी सम्बन्ध मजबुद गर्न महत्वपूणर् भूमिका खेलिरहेको छ । हामीलाई आशा छ कि, यही मैत्रीपूणर् सम्बन्धका आधारमा हाम्रा दुवै देशले यस परिवर्तनशील विश्वमा शान्ति र स्थायित्वका साथै विकास र समृद्धिमा योगदान पुर्याउने भरपर्दो साझेदारका रूपमा समग्र एसियाको लागि योगदान पुर्याउन सक्नेछ ।
आज नेपाल लोकतन्त्र सुदृढीकरण र स्थायी शान्तिको अनुभूति गर्ने प्रयासमा आर्थिक तथा राजनीतिक समयहरुबाट गुज्रिरहेको छ ।
जापान र नेपाल सुखदुःखका असल साझेदार भएकै कारण नेपाली जनता समृद्ध भएको जापानले हेर्न चाहेको छ र यो आकांक्षा फलदायी हुने र नेपाल अन्ततः आफ्नो लक्ष्यमा पुग्ने जापानको दृढ विश्वास पाउन सकिन्छ । दुई देशबीच रहेको सद्भावबाट निर्देशित जस्तोसुकै सहयोग गर्न जापान संधै तयार रहेको तथ्य हेर्दा जापानले नेपालको विकासमा गरेका दीर्घकालिन रुपमा फलदायी हुनसकोस् भन्ने रहेको छ ।
नेपालको पूर्वाधार विकासमा गरेको सहयोगको अंक हेर्दा जापानले सधैं नेपालाई सम्मानजनक रुपमा लिने गरेको अनुभव गर्न सकिन्छ । आशा गरौं भोलिका दिनमा नेपालको आवश्यकता अनुसार स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, सूचना प्रविधिको क्षेत्र, सडक लगायतका पूर्वाधार विकासका लागि जापानले उपलब्ध गराउने आर्थिक सहयोगको मात्र अझ बृद्धिहोस् र जापानीज जनता र नेपाली जनता बीचको सम्बन्धले शिखर चुमोस् ।