काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दुई दिनदेखि भारतबाट बिजुली आयात गर्न सकेको छैन । भारतमा बिजुलीको मूल्य अकासिएका कारण आयात गर्न नसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।
‘हामीले कम मूल्यमा बिड गरेका कारण नपरेको हो । बढीमा भारतीय रुपैयाँ ३ प्रतियुनिटमा बिजुली पाइरहेकामा २ दिनदेखि भारतीय रुपैयाँ २० सम्म बिजुली बिक्री भइरहेको छ,’ भट्टराईले भने । रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण आयातीत कोइलाको भाउ महँगो हुँदा भारतमा नै उत्पादन घटेकाले नेपालले बिजुली नपाएको हो ।
भारतबाट बिजुली नआउँदा मंगलबारदेखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ । बुटवल, वीरगन्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रमा बिजुली लोड घटाएको प्राधिकरणले जानकारी दिएको छ । औद्योगिक क्षेत्रमा लोडसेडिङभन्दा पनि लोड कम गरेको प्रवक्ता भट्टराई बताउँछन् ।
यो छोटो समयको अभाव भएकाले आफैं समाधान हुने अपेक्षा प्राधिकरणको रहेको छ । नेपालका उद्योगले करिब ३ सय ५० मेगावाटसम्म बिजुली खपत गर्छन् । गार्हस्थ्य तथा व्यापारिक क्षेत्रमा लोडसेडिङ हुन नदिन औद्योगिक क्षेत्रमा लोड कम गरेको प्राधिकरण बताउँछ ।
बुधबारको बिडिङमा करिब १६ सय मेगावाट आवर बिजुली परेको छ । बुधबार भारतीय एक्सचेन्ज मार्केटमा बिडिङका लागि नेपालले १२ भारतीय रुपैयाँ प्रतियुनिट खर्च गरेको भट्टराईले बताए ।
उनका अनुसार, एक्सचेन्जमा २४ घण्टालाई १५ मिनेटको ब्लकमा विभाजन गरी ९६ ब्लक बनाएको छ । त्यसमा १० ब्लकमा मात्र नेपाललाई बिजुली परेको छ ।
बुधबार भारत सरकारले एक्सचेन्ज बजारमा प्रतियुनिट बिजुलीको मूल्य अधिकतम भारु २० निर्धारण गर्न नपाउने सिलिङ तोकिदिएको छ । यस कारण बिजुलीको अधिक मूल्य भारु २० सम्म रहने देखिन्छ ।
भारतमा कोलबाट बिजुली उत्पादन घटेर आन्तरिक बजारमा नै बिजुलीको माग बढी भएकाले भाउ बढेको प्राधिकरणका नायब प्रबन्ध निर्देशक मनोज सिलवालले बताए। सोमबार भारतबाट ३ सय ५७ मेगावाट आयात भएको प्राधिकरणको तथ्यांक छ ।
अहिलेको उच्च माग १ हजार ५ सय ४० मेगावाट हो । तर, प्राधिकरणबाट ८ सय २५ मेगावाट र निजी क्षेत्रका ३ सय मेगावाट गरी जम्मा १ हजार १ सय २५ मेगावाट मात्र उपलब्ध छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।