काठमाडौं । दुप्चेश्वर साहित्य समाज नुवाकोटको मुखपत्र ‘शिखर सौगात’ प्रकाशन भएको छ । पुस्तकमा विभिन्न लेखक तथा लेखिकाहरूका ४५ वटा रचनाहरु छापिएका छन । पुस्तकमा नुवाकोटको दुप्चेश्वर तथा त्यस वरपरका साँस्कृतिक तथा पर्यटकीय स्थलहरूका विषयमा जानकारी दिइएको छ ।
पुस्तकमा दुप्चेश्वर साहित्य समाज, नुवाकोटमा आवद्ध आजीवन सदस्यहरूको नामावली पनि समेटिएको छ । पुस्तकमा दुप्चेश्वर महादेव तथा नुवाकोटका धार्मिक, साँस्कृतिक र दुप्चेश्वर र त्यस वरपरका साँस्कृतिक तथा पर्यटकीय स्थान तथा विविध विषयमा जान्न चाहने पाठकहरुका लागि यो पुस्तक निकै उपयोगी छ ।
पुस्तकको अग्र भागतिर राखिएका रंगीन तस्वीरहरूले सो स्थानलाई बुझ्न निकै मद्दत गरेका छन् । पुस्तक पढेपछि पाठकलाई आफूले पनि सो क्षेत्रको भ्रमण गरेजस्तै भान हुन्छ ।
नेपाली संस्कृति र परम्परामाथि चारैतिरबाट प्रहार भइरहेको अवस्थामा यो र यस्ता खाले ऐतिहासिक पुस्तकले धेरैलाई नेपाली संस्कृति र पर्यटकीय स्थलहरु बारे जानकारी दिन सहयोग मिल्नेछ ।