• मंसिर ८ २०८१, शनिबार

सत्ता गठबन्धनमा लोसपाको इन्ट्री, सरकारमा पनि सहभागी होला ?

चैत्र ९ २०७८, बुधबार

जनकपुर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरु चुनावी तालमेलको होडमा छन् । एमालेले राप्रपा लगायतका दलसँग तालमेलको तयारी गरिरहेको छ ।

त्यसैगरी सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको बहस तीव्र छ। गठबन्धन घटक दलहरुले कुन स्थानीय तहमा कसरी तालमेल गर्ने भन्ने बारे परामर्श सुरु गरिसकेका छन् ।

चुनावी माहोलका बीच एमालेसँग तालमेल गर्ने आंकलन गरिएको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग छलफल अघि बढाएको खुलेको छ ।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोसपासँग गठबन्धन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरिरहेको खुलाएका हुन् ।

मधेशमा कार्यकर्ता प्रशिक्षणका लागि जनकपुर पुगेका प्रचण्डले लोसपालाई चुनावी तालमेलदेखि सरकारमै सहभागी गराउने विकल्पमा छलफल भइरहेको बताए ।

प्रधानमन्त्रीले लोसपासँग छलफल भइरहेको जानकारी आफूहरुलाई गराएको र छिट्टै मन्त्रिपरिषद् हेरफेर भई नयाँ अनुहार आउने उनले बताए । लोसपा सत्ता गठबन्धनमा सहभागी हुने र चुनावमा सहकार्य हुने प्रचण्डको संकेत थियो ।

प्रचण्डले बोलेका कुरालाई पुष्टि हुनेगरी जनकपुरमै मंगलबार लोसपा अध्यक्ष महन्थ ठाकुरले चुनावी  तालमेलबारे सत्ता गठबन्धनसँग छलफल भइरहेको बताए । संविधान संशोधनलगायत आफ्ना माग सम्बोधनको सुनिश्चितता भएमा सरकारमासमेत सहभागी हुन सकिने उनको भनाइ थियो ।

‘सरकारमा सहभागी हुन प्रस्ताव आएको छ । तर पार्टीले कुनै निर्णय लिइसकेको छैन । तर छलफल जारी छ । तराई मधेश मुद्दा र नागरिकता सवालमा सकारात्मक भए सरकारमा सहभागी हुन्छौं,’ उनले भने ।

उनकाअनुसार सत्ता गठबन्धनमा सामेल हुन लोसपाले नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु फिर्ता लिने विषय बटमलाइन बनाएको छ ।

लोसपाभित्र केही नेताहरु एमालेसँग गठबन्धन हुनुपर्ने पक्षमा छन् । तर, अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग सरकारमै सहभागी हुनेगरी गठबन्धनमा प्रवेशको लागि सम्वाद अगाडि बढाएका छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।