नुवाकोट (थानापति), चैत्र ८ गते बुधबार ।
टोखा नगरपालिका काठमाडौँका मेयर प्रकाश अधिकारीको नेतृत्वमा गएको एकटोलीले शिवपुरी-८, थानापति, नुवाकोटको काफलडाँडाको घट्टेखोला किनारमा अवस्थित महाकन्येमाई मन्दिर र निर्माणाधीन जुँघम पार्कको अवलोकन भ्रमण गरेको छ ।
भ्रमण टोलीलाई स्वागत गर्दै जुँघम पार्क निर्माण समितिका अगुवा पुरुषोत्तम थपलिया र मनुका पाण्डेले भइरहेका कामहरू, अहिलेसम्मको प्रगति, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त रकम, भए/गरेका खर्च र भावी योजना र अपुग हुने रकमको बारेमा उपस्थित महानुभावहरूमा जानकारी गराउनु भएको थियो ।
अवलोकनको क्रममा आफ्नो संक्षिप्त प्रतिकृया राख्नुहुँदै टोखा नगरपालिका प्रमुख अधिकारीले तपाईंहरूको उत्साह र प्रयास देखेर मलाई साह्रै खुशी लाग्यो । इमान्दारी र लगनशील भएर गर्यो भने यति थोरै पैसाले पनि यति धेरै काम हुँदोरहेछ, यहाँ निरन्तर खट्नेदेखि प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ, भन्नुभयो ।
‘प्राकृतिक छटा र सौन्दर्यले भरिपूणर् अत्यन्तै रमणीय यो शिवपुरीसँग मेरो सामाजिक, साँस्कृतिक, पारिवारिक र मित्रवत नाता पनि रहेको छ’, मेयर अधिकारीले भन्नुभयो, ‘आजको यो उपलब्धिपूणर् भ्रमणलाई हामीसँगै आउनुभएका लेखक, कविहरूले लेख्नुहुने छ, छपाएर विभिन्न किसिमले प्रचारप्रसार गर्नुहुने छ भन्ने मैले विश्वास लिएको छु ।’
जन्मेपछि एकदिन अवश्य मर्नुछ, बाँचुन्जेल हामीले ‘सेवा नै परम धर्म हो’ भनेर बाँच्न जान्नुपर्दछ, अधिकारीको भनाइ थियो । इतिहास बोकेको यो बाटोलाई आज फेरि तपाईंहरूले नयाँ स्वरूमा पुनः जीवित गराउन लाग्नुभएकोमा मलाई धेरै खुशी लागेको छ, इतिहासलाई जोगाएर राख्ने काम हाम्रो हो, यसले भावी पुस्तालाई प्रेरणा दिने र मार्गनिर्देशन गर्ने काम गर्दछ, मेयर अधिकारीले भन्नुभयो ।
अहिले योजना, विचार र दृष्टिकोण दिनसके स्रोतको खाँचो हुँदैन, म पदमा भए पनि नभए पनि तपाईंहरूको योजना र काममा मेरो सधैं साथ र सहयोग रहने छ भन्ने मेयर अधिकारीको भनाइ थियो ।
धार्मिक, सामाजिक र विकास-निर्माणको अध्ययन, अवलोकन गर्ने उद्देश्यले गरिएको भ्रमण टोलीमा लेखक, कविहरूको साथै जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
भ्रमणमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, टोखा नगरपालिका वडा नं. ११ का सदस्य महेश थपलिया, कवि रेणु अधिकारी मौनता, पत्रकार उमेश पाण्डे, कवि घन थापा, कवि तारा के.सी., सामाजिक अभियन्ता पार्वती थपलिया र रविन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।
अवलोकनको क्रममा निर्माण समितिको संयोजक तथा सदस्यहरूको साथै स्थानीय जनसमुदायको पनि उपस्थिति रहेको थियो ।
त्यस अवसरमा मन्दिर तथा पार्क निर्माणको सहयोगको लागि रेणु अधिकारी मौनताले रु. १० हजार र उमेश पाण्डेले रु. पाँच हजार पाँच सय प्रदान गर्नुभएको थियो ।
महाकन्येमाईको मन्दिर तथा पार्क निर्माणको लागि टोखा नगरपालिकाले यसअघि नै रु. ५ लाख सहयोग गरेको थियो । त्यही रकमबाट भइरहेको कामको अवलोकन, अनुगमनको लागि मेयरसहितको टोली त्यहाँ पुगेको हो ।