• मंसिर ११ २०८१, मंगलवार

आचार संहिता

चैत्र ८ २०७८, मंगलवार

वेदले आचारहीनलाई पशु समान बताएको छ । आचार, आचरण, उपासना, साधना, अनुशासन भन्नु उस्तै उस्तै विषय हो र आचार राजनीतिमा नहुने भन्ने हुन्न, सबै नीतिको माउ राजनीति भएकाले मुहान शुद्ध हुन जरुरी छ । आचरणमा बस्न नसकेकैले देश निरपेक्ष भएको छ, शपथमा त्यो पर्दैन भन्ने गरिएको छ ।

विदेशीहरु आचारकै लागि बाइवल, कुरान समात्छन् तर हामीकहाँ वेद वा गीता, गाईलाई बिक्रीमा राखिन्छ । त्यत्रो भूगोल र जनसंख्या बोकेको देश चीनले आफूलाई संसारमा अब्बल कसरी बनायो होला ? उताबाट कोही आउन लागे यताबाट दोहोरी भ्रमणमा रहन भने हामी कम छेनौँ ।

छिमेकी दिल्लीमा आम आदमी जन्मेको धेरै भएको छैन तर त्यहाँ २५० युनिट विजुली र २० हजार लिटर पानी कसरी निःशुल्क भयो होला ? ज्येष्ठ नागरिकलाई तीर्थयात्रा कसरी फ्रि भयो होला र निजी अस्पताल, विद्यालय छोडेर विरामी अनि विद्यार्थी सरकारीतिर कसरी आकर्षित भए होलान् ।

हामी त्यो शहरका बासिन्दा भएका छौँ जसले पानी, बिजुली छुट हुन्छ भनी बजेटमै घोषणा गर्यो, झुक्यायो, त्यो कार्यान्वयनमा आउन सकेन । यहाँ पानी दिई हावा बेचेर पैसा उठाइन्छ, घरका धारामा पानीको थोप्पो आउँदैन, बिल आउँछ, मात्रै होइन न्यूनतमभन्दा बढीको र ढिलो तिरे जरिवाना समेत असुली गरिन्छ ।

हामी त्यस्तो महानगर र नगरमा छौँ जहाँ फोहोर उठ्दैन, सिसडोल र ओखरपौवा अनि बन्चरे डाँडाका कथाहरु सुन्नमा आउँछन्, तर फोहोरको पैसा लिन घरघरमा ठेकेदारहरु आउँछन्, फोहोर उठिहाल्यो भने महिना पूरै वा डेढ महिनामामा उठ्छ, त्यो पनि परपर कता गाडी छ भन्दै फोहोरको पहाड बोकेर कुद्नु पर्छ ।

यस्तै परिवेशमा हामी सुशासनको सुगा रटाइमा छौँ र नजिकै चुनाव अनि आचार संहिताको चर्चा हुँदैछ । हामी त्यस्तो देशका नागरिक भएका छौँ, जहाँ वर्षौँसम्म एमसिसी ठीक छैन भनेर रटान गरिन्छ र एकाएक पास पनि हुन्छ, दोहोरो चरित्रका कलाकारीताको राजनीतिमा रंगिएको देशमा छौँ हामी, जहाँ चुनावमा आप्mनो एजेण्डा होइन पाँडे गाली सुन्नुपर्छ ।

त्यस्तो ठाउँको चुनाव आउँदैछ, जहाँ बढी बेरुजु छ, समग्रमा भन्नु पर्दा पूँजीगत खर्चै भएको छैन, चालु खर्च सोत्तर भइसकेको छ, ८ महिनाको आ.वमा र १४ खर्बको बजेटमा ५ खर्ब बेरुजु नै छ । यहाँ कलकारखाना खुल्दैनन्, उद्घाटन मात्रै हुन्छन्, त्यो पनि होडबाजीमा र भ्यू टावर थपक्क उठ्छ ।

हामी त्यस्ता नागरिक हौँ जुन देशमा नागरिकतालाई बजारमै खुल्ला गर्ने गरी आएको विधेयकलाई खारेज गर्न रिट जान्छ र सो कार्यान्वयन नगर्न आदेश आउँछ अनि त्यस्तो अदालतलाई भित्तमा थन्क्याइन्छ । हामी त्यस्तो देशका नागरिक हौँ जसमा प्रकृति दोहन हुने गरी ढुँगा, बालुवा बेच्न दिने निणर्य आउँछ, यसो गर्नु हुन्न भन्नेलाई भित्तैमा पुर्याइन्छ ।

हामी त्यस्ता मतदाता हौँ जसले पद बहाली हुँदै चुनाव लड्न पाउनुपर्छ भन्दै निर्वाचन आयोगको आचारसंहिता विरुद्ध अदालतमा केस हाल्छौँ । अनि आयोगले बेरुजु फछ्यौट गर्नेले मात्र उम्मेदवारी दिन पाउनेमा खिन्नताबोध गर्छौं, स्वस्तिक चिह्न हरियो राख्दा हामीलाई सय घिग्री बढीको ज्वरो नै आउँछ ।

हामी त्यस्तो देशका नागरिक हौँ जहाँ एकसरो टालो भिर्न नसक्ने, विहान बेलुकी गिट्टी गुटेर खाने, पैसाको मुख देख्न जग्गा बेचेर खाडीमा गएर भाँडा माझ्ने अनि सरकारी कर तिर्न घर घडेरी बेच्नु पर्नेसँग ढाडै सेकिने गरी कर असुलेर कार चढ्छौँ । गरिवी घटाउनु भन्दा यसलाई मागी खाने भाँडो बनाएर गरिवीको दृश्य देखाएर विदेशी संघ, संस्था, सहयोग, अनुदान, सहायता लिएर मोजमस्ती गर्छों, हेलिकप्टर चढ्छौँ ।

हामी त्यही नागरिक हौँ जहाँ क्रय भएको पेट्रोललाई विक्रय गर्दा दोब्बर मूल्य लिँदा पनि विक्रेता घाटामा पर्छ । हामी त्यस्तो कृषिप्रधान देश हौँ जहाँ ढिँडो, पिठो भनौँ सबै वस्तु विदेशबाट आयात गछौँ र बजेट भन्दा बढीको व्यपारघाटा हुन्छ ।

हामी त्यस्तो लोकतन्त्रमा छौँ जसमा संसद खुल्दैन, खुल्यो भने पहिले नै साताव्यापी दौडधुप गर्नुपर्छ, त्यो पनि नाराबाजीकै बीच विदेशी एजेण्डालाई खुरुक्क छिराउँछौँ, चाहिँदैन सहयोग भन्ने नारा लाग्दा बाहिर सडकमा टिएर ग्याँस, पानीका फोहरा छोड्दै तिनलाई समात्दै, भित्र पास गर्छौं । हाम्रो त्यस्तो लोकतन्त्र छ, जहाँ एउटै भवनमा ५ थान मन्त्रालयहरुको साइनबोर्ड झुण्डिन्छ ।

हामी त्यस्ता बेरोजार हौँ जहाँ चुनाव आउँदा म्यादी प्रहरी हुन हजारौँ हजारको लाइन लाग्छौँ अनि विदेश जाने पासपोर्ट लिन रातैदेखि लाइन लागेर बस्छौं । काकाकुले जीवन बिताउँदै मेलम्चीको आशा गर्छौं, तीस वर्ष मेलम्ची उठाउँदैनौँ, दुहुनो गाई बनाउछौँ, शिक्षाको आशा गर्छौं, विचौलियामा पर्छौं, स्वास्थ्यको आशा गर्छौं, विचौलियाको हातमा पर्छौं, महँगीको कहिल्यै नउठ्ने मारमा पर्छौं र विचौलियाहरुले जग्गा प्लटीङ गर्छन्, जग्गा धनी र क्रेता बिना नै मूल्य निर्धारण भइसक्छ, बिक्री हुन ।

चुनाव आयो, दलका एजेण्डा के के छन्, अब हेर्ने माध्यम छैन, किन कि एजेण्डा जति पहिले नै बाँडियो, अब त भन्ने केही कुरा नै छैन, अनि विपक्षीलाई भित्तोमा पु्र्याएका निवन्धहरु सुन्छौं र पढ्छौं, जनता जम्मा एक दिन शासक अरु बेला सधैं शासित हुने उन्नत लोकतन्त्रमा छौं हामी । लोकतन्त्रलाई पुनर्परिभाषित हुन जरुरी छ यसलाई लोभतन्त्र बा गनाउनेतन्त्र भन्दा फरक नपर्ने भएको छ ।

जे प्राप्तिका लागि लामो संघर्ष भयो त्यसको फल उल्टो मिल्यो, आम सर्वसाधारण निराश । कसैका सुख, सुविधा, आलिशान महल, ठाँट्बाठ्, युरोपेली जीवनशैली हेरेर चित्त बुझाउनु पर्ने अबस्था कहिलेसम्म रहने हो । जुन देशमा दसँैमा खसी बोका, तिहारमा भाई मसला, माघमा तरुल, फागुुमा रंग, तीजमा चुरा, पोते, असारमा बीउविजन, रासायनिक मल विदेशबाट आउँछ, पानी खेर जान्छ र युक्रेनमा झगडा हुँदा खाने तेल अकाशिन्छ त्यो त्यो देशका जनता हौँ हामी ।

विदेशमा तेलको भाउ घट्दा यहाँ बढ्ने देशका नागरिक पनि हौँ । वर्षामा हिलो र मैलो, हिउँदमा धूलो र धूवाँको पहाडमा रम्ने त्यो सहरका नगरबासी हौँ हामी, जहाँ कर कलेक्सनका लागि कुनै पूर्वाधार बिना नै नगरपालिकाहरु तय हुन्छन्, राजनैतिक रोजगारी दिन, भए नभएका दरबन्दी सिर्जना हुने देशका नागरिक हौँ हामी जहाँ मन नलागेर पनि मतदानमा भाग लिनु परेको छ, नागरिक हक भन्दै ।

संविधानमा नागरिकको मौलिक हकको खुव चर्चा हुन्छ तर सुको समेत पाइँदैन हक, न प्रदूषण बिनाको स्वच्छ वातावरणको हक छ, न स्वच्छ पानी, सरसफाइ, बसोबास, नाना, छाना, खानाका अन्य धेरै विषय, उपभोक्ताको हक, अधिकार केवल कागजमा सजाइन्छ ।

मेरो देश एक नम्बरमा राख्छु, विदेशी हस्तक्षेप हुन दिन्न, जनताको पूणर् सेवा गर्छु, म राज्यको ढुकुटी दोहन गर्दिन, राज्यको ढुकुटीबाट औषधि उपचार गर्दिन, विदेश जान्न, सर्प पाल्दिन, सरकारी सुरक्षा लिन्न, अवैतनिक भई राज्यको सेवा गर्छु भनी कसैले भन्दैन चुनावी एजेण्डामा ।

भन्छ केवल प्रचारमा ऊ चमेरो हो, म दुई तिहाई हो, उसलाई तेह्र सिटमा झार्छु, उसको बाकसमा शूल्य मत, यस्तै यस्तै लाज नभएकाहरु यसअघि कहाँ के बोलिएको थियो, कति पूरा भयो भएन, समीक्षा छैन । दलीय व्यवस्था भन्ने गएर रुख हँसिया हथौडामा भोट हाल्ने, गठबन्धन र तालमेल आप्mनो दुनो सोभ्mयान अप्राकृतिक गठबन्धन गर्ने भएपछि दलीय व्यवस्थाको नाटक किन गरेको ।

दलको आदर्श, दलको चिन्ह, दलको विचार चाहिन्छ भने जो जहाँ गएर पनि किन टाँसिएको ? टाँसिएर फेरि किन फुटेको ? मर्यादा, नैतिकता, निष्ठा, इमान्दारिता हुनै नपर्ने, ती शब्द कहाँ प्रयोग हुने ? जव कि राजनीति नमिसिएको कुनै ठाउँ नै छैन भने ।

महाअभियोग भन्ने निणर्य नगर्दै त्यो संस्था बन्द गर्ने, मोटो रकम नभई चुनावै लड्न नसकिने, बहुमत आए पनि तुरुन्तै ढल्ने, नेपाल जस्तो गरिवदेशको नेतृत्वमा बसेर युरोपको जीवनशैली अप्नाउने, हिजो स्थापित देशहरु शिखर चुम्बन गरेको हेरिरहने, नजिकका दुई देश सुपर पावर बन्दै गर्दा हेरिबस्नु पर्ने, सत्ययुगदेखि स्थापित देशलाई आइग्लासले खोज्नु पर्ने के अचम्म भएको हो यो देशमा ?

किन खुरुखुरु विदेशिन्छन् यहाँका मानिस ? अमेरिका, अष्ट्रेलिया, कोरियालाई विकास गर्न अरु देशका नागरिक आवश्यक परेको छ, कतिले त्यता लग्छन्, उतै जन्मे भने त्यहीँका नागरिक बनाउँछन्, नपुगेर डिभिबाट पनि लग्छन्, देश ठूलो छ जनशक्ति कम छ र त्यसो गरेका । तर हाम्रो देश भूगोलमा सानो छ, दुईतिर भीमकाय छन्, नागरिकतामा लूज् गरिए हालत के हुन्छ, चुनावैपिच्छे नागरिकता लूज गरिँदा हाल नै समस्या बढिसकेको अवस्थामा ।