काठमाडौं । स्थानीय तहको निर्वाचनमा वाम तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा एमालेभित्र दुई धार देखिएको छ ।
स्थानीय तहको निर्वाचन लक्षित केन्द्रीय तहका बैठकमा वाम तालमेल वा स्थानीय तहको अनुकूलतामा तालमेल भन्नेबारे दुई धार देखिएको हो ।
सोमबार बसेको पोलिटब्युरो बैठकमा बोल्ने अधिकांश नेताले सत्ताधारी गठबन्धनलाई पराजित गर्न स्थानीय तहमै तालमेल गर्न छुट दिनुपर्ने आवाज उठाए ।
तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालमा वाम पार्टी नै नभएको भन्दै तालमेल हुन नसक्ने बताए ।
पोलिटब्युरो बैठकमा सहभागी नेताहरूले स्थानीय तहको निर्वाचन एमालेविरुद्ध घेराबन्दी भएकै कारण तालमेलको ढोका खुला राख्नुपर्ने बताएपछि ओलीले गठबन्धन वा तालमेल नहुने संकेत गरेका हुन् ।
ओलीले एमाले सरकार ढाल्ने कुनै पनि तत्वसँग तालमेल नहुने बताएका थिए ।
उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को नाम नलिई सो पार्टीलाई गठबन्धनमा सहभागी नगराउने संकेत पनि गरे । उनले एमालेबाट ढोका फोरेर, सिसा फुटाएर बाहिर जानेलाई चुकुल नखोल्ने भन्दै त्यस्तो संकेत गरेका हुन् ।
पार्टीको पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू दुई धारमा विभाजित भएका थिए । बैठकमा घनश्याम भुसाल, रघुजी पन्त र ठाकुर गैरेले स्थानीय तहमा तालमेल गरेर जानुपर्ने सुझाएका थिए ।
तर महेश बस्नेत र हिक्मत कार्कीले वाम तालमेल गरेर अलमल्याउने काम गर्न नहुने बताएका थिए । उनीहरूले एमालेलाई सिध्याउन लाग्नेहरूसँग तालमेल नहुनेमा जोड दिए । ओलीनिकट नेता कर्ण थापाले पनि भुसाल, पन्त र गैरेको भनाइलाई खण्डन गरेका थिए ।
बैठकमा नेताहरूले एमाले वाम एकताको मूल प्रवाह भएकाले त्यसको नेतृत्व पनि एमालेले नै गर्नुपर्ने बताएका थिए । ‘एमाले वाम एकताको मूल प्रवाह हो । नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ,’ बैठकमा भुसालले भनेका थिए ।
नेताहरूले बहुसंख्यक जनता वाम एकताको पक्षमा रहेको बताएका थिए । तर पार्टी अध्यक्ष ओलीले वाम पार्टी नै नभएकाले एकता नै नहुने बताएका थिए । ‘अहिले कसैसँग एकता हुँदैन, देशमा वाम नै छैन, केको एकता ?’ ओलीले भनेका थिए, ‘अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ ।’
बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा वाम एकता र तालमेलको कुरा उठेको जानकारी दिए । तर उनले हल्लाखल्ला गरेर वाम तालमेल नहुने बताए । यो समाचार नागरिक दैनिकमा छ ।