काठमाडौं । सरकारले प्रहरीमा १२ फागुनमा थप तीन जना अतिरिक्त महानिरीक्षक एआईजीको दरबन्दी थप गरेका थिए । सोही दरबन्दीमा एआईजीमा बढुवा सिफारिस भएका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) विरुद्ध असन्तुष्ट डीआईजीहरूले आइतबार उजुरी दिएका छन् ।
बढुवा सिफारिस समितिको बैठकले डीआईजी बसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा समितिको सिफारिसको निर्णयमा आफूहरूको बढुवा हुनुपर्ने माग राख्दै डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले बढुवा समितिको सचिवालय गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।
बढुवा सिफारिस समितिमा गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष, सदस्य सचिव आईजीपी शैलेश थापा क्षेत्री र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेका छन् ।
उजुरी दर्ता भएसँगै बढुवा प्रक्रिया लम्बिने सम्भावना देखिएको छ ।
बढुवा सिफारिसविरुद्ध चित्त नबुझे एक हाताभित्र बढुवा समितिमा उजुरी दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । उजुरीमाथि पुनरावलोकन समितिले अध्ययन गर्नेछ । पुनरावलोकन समितिमा लोकसेवा आयोगका अध्यक्ष, नेपाल सरकारको मुख्य सचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।