• मंसिर ११ २०८१, मंगलवार

माओवादी विचार कमजोर बनाउन प्रकाश सपुत असफल भए : भीम कुमाखी, उपाध्यक्ष जनसाँस्कृतिक महासंघ

चैत्र ६ २०७८, आईतवार

(माओवादी खेमाका संस्कृतिकर्मी, भातृसंगठन, लेखक तथा अन्य स्रस्टाहरुको विरोध खप्न नसकेपछि अन्ततः कलाकार प्रकाश सपुतले ‘पीर’ नामक म्यूजिक भिडियोमा राखिएको माओवादी जनकलाकारहरुले खराब आर्थिक अवस्थाका कारण देहव्यापार गर्न बाध्य भएका छन् भन्ने सन्देश दिने दृश्य हटाउन बाध्य भएका छन् । केही दिन अघि नै उनले यस विषयमा आत्मालोचना गर्दै क्षमापनि मागेका थिए । प्रकाशले सो दृश्य हटाएपछि उनीप्रति माओवादीकै संस्कृतिकर्मीहरुको धारणा के छ त भनेर हामीले सो पार्टी निकट जनसाँस्कृतिक महासंघ, नेपालका उपाध्यक्ष भीम कुमाखीसित कुरा गरेका छौं । प्रस्तुत छ सोही कुराकानीको सारसंक्षेप–सम्पादक)

१) तपाईंहरुको तिब्र विरोधका कारण प्रकाश सपुतले आफ्नो ‘पीर’ नामक गीतको म्यूजिक भिडियोबाट माओवादी कलाकारहरु यौनधन्दामा लागेको सन्देश जाने दृश्य हटाएछन् अब त खुशी हुनु भएको होला नी ?
त्यस्ता खाले दृश्य हटाउँदा खुशी हुने र नहुने भन्दा पनि एउटा सर्जकले तयार पारेर पस्किएको विषय वस्तुले सामाजलाई कस्तो सन्देश दिन्छ भन्नेमा कुरा धरै नै ख्याल गर्नुपर्दछ । यस्ता कुराहरु बुझेर मात्रै सामाजिक घटनाक्रमलाई प्रस्तुत गर्नुपर्दछ भन्ने कुरा मुख्य हो ।

उनको गीतमा रहेका त्यस्ता आपत्तिजनक विषय हटाएपछिको दृश्य चाहिँ ठिकै होला नी ?

सामाजिक सद्‌भाव विथोलिने कुरालाई बुझेरै उनले जुन दृश्य हटाए, जुन ठिक छ, त्यो एउटा पाटो हो । अर्को पाटो के हो भने साहित्य र कला जस्ता क्षेत्रहरू राज्यको प्रतिपक्ष मानिन्छन्, किन कि यस्ता विषयहरु आलोचनात्मक चेत सहितका हुन्छन् । आलोचना सहन नसक्ने राज्य र आलोचनात्मक चेत सहितका सर्जकहरू जुन हामीसँग छन्,  आलोचनात्मक चेत सहन नसक्नेहरुबाट विरोध हुनसक्छ । समाज रुपान्तरणका लागि गरिने आलोचनालाई सकारात्मकरुपमा लिने नेतृत्व या कार्यकर्ताले आफूलाई सच्याएर अगाडि बढ्न सक्छ । त्यसका लागि मानिसको सोच बदलिनु पर्छ । कसैले कुनै विषय समाजमा ल्यायो भने त्यसको गहिराईमा गएर अध्ययन गर्नुपर्छ । जनताका बिचमा व्यक्त गरिने विषयवस्तु कति सामाजिक यथार्थको नजिक छ भनेर हेर्ने भन्ने कुरा मुख्य हो ।

अबका दिनमा यस्ता खाले विषय समेटिएका सिर्जना सार्वजनिक गर्दा ख्याल गर्नु पर्नेमा तपाईंको सुझाव के छ ?

जनयुद्धमा सहभागी भएका कलाकारहरुको विषयलाई प्रकाश सपुतको ‘पीर’मा देखाइएको छ । समाज बदल्ने उद्देश्य सहित जनसेना र जनकलाकार जसरी लडेर आए, तर उनी जति नै अफ्ठेरो अवस्थामा रहेको भए पनि देहव्यापार र परस्त्रीगमन गर्दैन र गरेको थाहा छैन । तर प्रकाशको ‘पीर’मा भने जनकलाकारले नै त्यस्तो काम गरेको दृश्य त्यहाँ देखाइयो, त्यो हामी माओवादीहरुको विचारधारात्मक चेतलाई धरासायी पार्नका लागि डिजाइन गरेर बनाइएको थियो । तर त्यो डिजाइनमा प्रकाश सपुत असफल भएका छन् । त्यसकारण अरु सर्जक र नयाँ आउने सर्जकले पनि विषयको गहिराईमा नपुगेर सतहीरूपमा आफ्ना सिर्जनाहरु अभिव्यक्त गर्नु हुँदैन भन्न चाहन्छु । राजनीतिक रूपमा कोही कसैको प्रतिद्धन्दी वा विरोधी हुँदैमा सिर्जना पनि त्यस्तै खाले सिर्जना गर्नुपर्छ भन्ने सोचाई अन्त्य हुनुपर्छ । सामाजिक यथार्थता पस्किने नाममा समाजले स्वीकार्नै नसक्ने खालका विषय पस्कने कुराले समाजलाई उल्टो दिशातिर डोर्याँउछभन्ने कुरामा सर्जकले ख्याल गर्नु पर्दछ ।

सामाजिक सद्‌भाव भड्काउने खाले दृश्य र विषयलाई नियन्त्रण गर्ने निकाय बनाउन किन नसकिएको होला ? जब कि तपाईं पनि त्यही क्षेत्रकै नेतृत्व हुनुहुन्छ ।

माओवादीको पहलमा संविधान बनाउने र जारी गर्नेदेखि विविध विषयमा माओवादी सफल भएको भएपनि माओवादीले मात्रै सबै काम गर्न सक्ने अवस्था रहेन । माओवादीमाथि प्रहार गर्ने र विविध समयमा राजनीतिक रुपमा प्रतिगमन भएका कारण यस्तो अवस्था आएको हो । तर समाजमा सद्‌भाव खल्बलिने गरी सामग्रीहरु प्रकाशन गर्ने र म्युजिक भिडियोहरु प्रशारण हुने विषयहरुलाई नियन्त्रण गर्नुपर्छ भन्नेमा त हामी पनि छौं नी । हामी कुनै दलसित आवद्ध भएकोले अरु पार्टीका कलाकारलाई नियन्त्रण गर्न सकिंदैन । त्यो काम राज्यले गर्ने हो । तर सहमतिको आधारमा सरकार चलेको अवस्थामा सबै हामीले भनेका मात्र लागु हुने भन्ने पनि हुँदैन । यी सबैलाई राज्य व्यवस्थाल नै संबोधन गर्नुपर्छ भन्ने हाम्रो पनि जोड्दार माग रहेको छ ।