• मंसिर ८ २०८१, शनिबार

चुनावी अभियान : प्रदेशदेखि जिल्लासम्म नेताहरूको दौडधुप, प्रथम हुने होडमा दलहरू

चैत्र ६ २०७८, आईतवार

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित सक्रियता बढेको छ । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भइरहेका छन् ।

शीर्ष नेताका साथै पार्टीका अन्य नेतासमेत निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि हुदै छन् । निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

मनोनयन दर्तादेखि फिर्ता, मतदानलगायतका कार्यक्रम सार्वजनिक भएसँगै नेताहरूको दौडधूप बढेको हो ।

प्रमुख प्रतिपक्षी एमाले उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टीको सचिवालय बैठकबाट उम्मेदवार छनोटको मापदण्ड तोकिएसँगै स्थानीय तहमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु भएको एमालेले जनाएको छ ।

एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उम्मेवाद छनोटका लागि सोही तहको कमिटीबाट तीन जनाको सिफारिस हुनेछ । वडा र सदस्यको उम्मेवादर जिल्ला कमिटीले टुंगो लगाउनेछ ।

पालिकाको अध्यक्ष एवं मेयरको उम्मेवार प्रदेश कमिटीले टुंगो लगाउने जिम्मेवारी पाएको प्रवक्ता गुरुङले बताए ।

यस्तै, महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसका आधारमा केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउनेछ । त्यसका लागि जिल्ला कमिटी र प्रदेश कमिटी उम्मेदवारको नामावली सिफारिस गर्नुपर्ने हुन्छ ।

स्थानीय तहको निर्वाचनको थप विस्तृत छलफलका लागि एमालेले ७ चैतमा पोलिटब्युरो कमिटी, ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू निर्वाचन केन्द्रित कार्यक्रम व्यस्त छन् । ओली शनिबार काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनको तयारीका जुटन निर्देशन दिएका छन् ।

जिल्ला दौडाहामा प्रचण्ड

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा सत्तारूढ नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा छन् । शनिबार सिन्धुली पुगेका प्रचण्डले यसअघि लुम्बिनी, मधेस प्रदेशका विभिन्न जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गणेश साह स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउँदै प्रदेश स्तरको प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

८ चैतमा मधेस प्रदेश स्तरको प्रशिक्षण कार्यक्रम जनकपुरमा, आइतबार गण्डकी प्रदेशको पोखरामा प्रशिक्षण कार्यक्रम हुँदै छ । सो कार्यक्रममा अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सहभागी हँुदै छन् । बाँकी अन्य प्रदेशको प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भएको हो ।

निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुने क्रममा प्रचण्ड आफंै जिल्ला जिल्ला पुग्ने कार्यक्रम रहेको छ । उम्मेदवारको छनोटलगायतका मापदण्डको निर्णय गर्न नसकेको माओवादीले छिटै नै बैठक गरेर उम्मेदवार छनोटको मापदण्ड बनाउने गृहकार्यमा रहेको छ ।

सातै प्रदेशमा एकीकृत समाजवादीको कमाण्डर परिचालन

नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा कमान्डर परिचालन गरेको छ । एकीकृत समाजवादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियानमा होमिएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधारा, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झा पार्टीले परिचालन गरेको छ ।

केन्द्रबाट खटिने टोलीले प्रदेश इन्चार्ज, अध्यक्ष र पदाधिकारीलाई सहयोग गर्ने बताइएको छ । ‘सातै प्रदेशबाट अनुगमन पछि रिपोर्टिङ हुनेछ र त्यहाँ पार्टीको अवस्थाका जानकारी दिइने छ’ खतिवडाले भने, ‘प्राप्त सूचना तथा विवरणका आधारमा थप रणनीति बनाउनेछौं ।’

आगामी निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको एकीकृत समाजवादीले उम्मेदवार छनोटको मापदण्ड सचिवालय बैठकमा टुंगो लगाउने गृहकार्यमा रहेको छ । प्रदेशमा परिचालन गरिएका कमान्डरले दिने रिर्पोटका आधारमा थप रणनीति तय गरिने तयारीमा एकीकृत समाजवादी रहेको छ ।

‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नारा तय गरेका छौं । यही नारा लिएर जनतामा जानेछौं,’ प्रवक्ता खतिवडाले भने ।

निर्वाचन केन्द्रित कार्यक्रमका लागि शनिबार अध्यक्ष माधवकुमार नेपाल गोरखा पुगेका छन् । यसअघि बारा, पर्सा, रौतहट, रामेछाप, सिन्धुली, दोलखालगायतका विभिन्न कार्यक्रममा अध्यक्ष नेपाल सहभागी भइसकेका छन् । पछिल्लो समय उनी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हँुदै जिल्लामै बाससमेत बस्न थालेका छन् ।

जसपाको एक जिल्ला एक केन्द्रीय सदस्य, लोसपा सुस्त

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले एक जिल्ला एक केन्द्रीय सदस्य परिचालन गरेको छ । तर, लोकतान्त्रिक पार्टी नेपाल ९लोसपा०को बैठक अझै बस्न सक्ने अवस्था छैन ।

निर्वाचन केन्द्रित कार्यक्रममा जसपा जोडतोडका साथ लागिसकेको भए पनि लोसपा अहिले केही कार्यक्रम सार्वजनिक गरेको छैन । जसपाले गत साता कार्यकारिणी समिति, संघीय परिषद्, केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै चुनावी रणनीति तय गरेर गाउँ केन्द्रित कार्यक्रममा छ ।

जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले ‘एक जिल्ला, एक केन्द्रीय सदस्य’ परिचालन गरिएको बताए । निर्वाचनमा पार्टी र आगामी दिने हुने गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिल्ला जिल्लामा कमान्डर परिचालन गरिएको उनले बताए ।

जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई शनिबार काठमाडौंमै छन् ।

अब यही सातादेखि शीर्ष नेताहरू जिल्ला जिल्लाको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यादव बारा, सप्तरी, सर्लाही जाने कार्यक्रम तय भइसकेकोछ । यो समाचार राजधानी दैनिकमा छ ।