उसो त सामाजिक निराशाले छपक्कै छोपेको पुस्ताको मान्छे हौं हामी । कष्टकर बाल्यकाल हाम्रो नियति मात्र होइन वास्तविकता हो । हैरानी, अभाव, बिछोड, परेशानी आदिको जगमा खडा छ, युवा भनिने हाम्रो जीवन । जीवन संघर्ष हो भनेर गीत गाउनु जस्तो सजिलो छैन मान्छे भएर बाँच्नु । मिनराज र हामी यसरी बाँचिरहेका छौँ अर्थात् हामी उज्यालो कुरिरहेका छौँ ।
मिनराजसँग भृकुटीमण्डपमा बदलिँदो समाज, सामाजिक सम्बन्ध र कहिल्यै जनवादी हुन नसकेको नेपाली राजनीति, नेपाली अर्थतन्त्र आदि सन्दर्भमा गफ गर्नुको मज्जा बेग्लै छ । हामी बागबजारको गल्लीमा हुने साहित्यिक गुटबन्दीको बिरोध गर्छौ । हामी संसदीय व्यवस्थाउपर टिप्पणी गर्छौं ।
प्रजातान्त्रिक समाजवाददेखि लेनिनसम्म हामी जाने-नजानेका कुरा ओकल्छौं । हामी स्वतन्त्रताप्रेमी हौं ।
मिनराज देशभक्त होइनन, उनलाई सिमाना होइन स्वतन्त्रता मन पर्छ । मिनराज पितृसत्ता र मातृसत्ताको पक्षधर होइनन् । मिनराज भावनाले बनेका भावक हुन् । उनी भावनाका राम्रा शिल्पी हुन ।
कहिलेकाही ममा मिनराजको जस्तै बिचारले आक्रान्त पार्छ । आफू बाचेको समाज र समयप्रति खुशी हुने बिन्दु नै देख्दिन ।
विवाह संस्था, निजी सम्पत्ति, जात ब्यवस्था, समान्तवाद, पुँजीवाद आदि सन्दर्भले मानिसहरूलाई विभाजन गरेकै छ । त्यो विभाजनको भोगी म हुँ र मेरो पुस्ता हो ।
मिनराज नेपालका सफल आख्यानकार हुन् । अरबबाट टिपेको मुदिरको कथा होस् या बागलुङबाट टिपिल्याएको पिपिरीको कथा, मलाई दुबै उपन्यासले उपन्यासको गहिराईमा डुबाए । पिपिरीमा मैले धेरै ठाउँमा आफूलाई पाए । हाम्रो पुस्तालाई पाएँ ।
पिपिरी एउटा गाउँले बालकको कथा हो । कतिपयले यस्ता पाखे कथालाई बाल नदेलान् । तर औसत नेपाली बालबालिका कसरी हुर्कन्छन् पिपिरीले जवाफ दिन्छ । आख्यानात्मक वणर्नमा मिनराज भव्य छन् । सानो विषयको लहरो तानेर त्यसलाई गम्भीर आकार दिनु उनको खुबी हो ।
बेलुन भनेर कण्डम उडाइरहेको बाल्यकाल । घरमा पालिएको बोकालाई माया गर्ने बाल्यकाल । एकल महिलाको काखमा बित्ने बाल्यकाल । थिन आरारोट बिस्कुटमा रमाउने बाल्यकाल । रुखमा भेटिने बाल्यकाल । मायाको आभास हुने बाल्यकाल । हेडसरसँग रिसाउने बाल्यकाल । कमजोर बाल्यकाल । हेपिएको बाल्यकाल । साझा हुँदा हुन हाम्रा भोगाइ । यही भएर पिपिरीले छोयो ।
पिपिरी सूचना प्रविधिबिहीन अन्तिम पुस्ताको कथा हो । अब पिपिरी बजाउन नरम सालको पात खोजी हिंड्ने पुस्ता छैन । नयाँ पुस्ता मोबाइलमा मोटु-पत्लु हेरिरहेछ । बालक अङ्ग्रेजी बोल्छ । नेपाली बोलेकोमा उसको अभिभावकहरु खिन्न हुने समय आएको छ । पहिचानका गफ गरिहिंड्नेहरुले भुलेका छन् मौलिकताको मौलिकै गन्ध । पिपिरीको भाका यहि कारण अर्थपूर्ण छ ।
तपाईंहरुलाई सुझाव छ, आख्यानमा भाषा शैली र भावनाको गाढा रंग खोज्न पिपिरीका पानाहरुमा आँखा डुलाउनुस् । तपाईंलाई गज्जप उपन्यास पढ्नुको आनन्द आउनेछ ।