काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप छ ।
अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
२०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनियमितता गरेको अख्तियारले जनाएको छ ।
त्यतिबेला १ सय ६८ जना परीक्षार्थीको नतिजा फेरबदल गरिएको अख्तियारले दाबी छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।