• मंसिर १२ २०८१, बुधबार

घनश्याम कमरेड, खरानी फुकेर आगो बल्दैन !

चैत्र ४ २०७८, शुक्रबार

चैत्र १ गते मंगलबारको कान्तिपुरमा प्रकाशित घनश्याम भुसालको ‘कम्युनिस्ट पार्टीको भविष्यः एकता वा सत्यानाश’ शीर्षकको लेख पढिसकेपछि केहि नलेखी बस्न सकिएन । नजिकिंदै गरेको स्थानीय निर्वाचन र लेखमा निहित अन्तर्वस्तुलाई केलाउँदा उहाँलाई कुन पक्षले पिरोलेको छ भन्ने अनुमान धेरै हदसम्म लगाउँन सकिन्छ ।

‘साम्यवादको सृजनशील प्रयोग’को गीत गाउँदा गाउँदै पनि कहिले संघर्षको निरपेक्षीकरण त कहिले सम्झौताको निरपेक्षीकरणमार्फत् आदर्शच्यूत भएको नेपालको कम्युनिष्ट आन्दोलन र नेतृत्वबाट अँझै उहाँले गरेको अपेक्षाबाट पनि प्रष्ट हुन्छ कि यो आशावाद कति धरातलमा छ ।

कम्युनिष्ट सिद्धान्त र आन्दोलनको नाउँमा कम्युनिष्ट आदर्शको बद्नाम गर्ने कृत्यहरु जति अनैतिक हुन् त्यो भन्दा अनैतिक कर्म गलत नेतृत्व र पथभ्रष्ट कार्यदिशाको छत्रछायाँभित्र बसेर क्रान्तिका गीत गाउनु हो । घनश्याम भुसालहरुको भयानक दुःख यही हो कि एमालेको अगुवाईमा ‘कम्युनिष्ट आन्दोलनको काँग्रेसिकरण हुने खतरा’ अझै देख्दै हुनुहुन्छ । अर्थात् आधाउधी काँग्रेसीकरण भैसकेको र अब पूणर् रुपमा हुनसक्ने चेतावनी दिंदै हुनुहुन्छ ।

यो खतराबाट नेतृत्वले आफूलाई जोगाउन सकेमा बहुमतको सरकारको बलमा सिधै गरिखाने जनताको व्यवस्था स्थापित हुने भोलाभाला सपना देख्नुहुन्छ । यो स्वाभाविक पनि किन छ भने एमालेको पूणर् काँग्रेसिकरण भएको कुरा गर्नेबित्तिकै एमाले बनिरहने तर क्रान्तिकारी रुपान्तरणका कुरा गर्नु अझै अनैतिक हुन्छ भन्ने कुरा उहाँहरुलाई थाहा नहुने कुरा भएन ।

आजका लागि पनि उत्तिकै सत्य कम्युनिष्ट घोषणापत्रको मूल मर्म (वर्ग, वर्ग संघर्ष, वर्गीय पक्षधरता र श्रमजीवी वर्गसँगको सम्बन्ध)लाई त्यगिसकेपछि नै एमालेमा काँग्रेसिकरणको सुरुवात भएको हो ।

उसको दक्षिणपन्थ हुँदै, प्रतिक्रियावाद र अतितमुखी राजनीतिक दिशाले प्रष्ट पार्छ-काँग्रेसिकरण हुनलाई ऊसँग अब पार्टीको झण्डा, चिन्ह र नाम फेर्न बाहेक अरु ठाउँ बचेको छैन ।

२०४६ सालको परिवर्तनका पछाडि निकै मौलाएका केही भ्रमका खेती र तिनमा आधारित सूत्र रटानहरुको पुनरावृत्ति निकै बासी साबित भैसकेका छन् । यी भ्रमका खेतीपातीहरुलाई पछिल्ला अभ्यास र परिणामले पनि खारेज गरिदिएका छन् । जस्तो कि आवधिक निर्वाचन नै लोकतन्त्र पर्यायवाची होइन भन्ने कुराको पुष्टी पटक-पटकका आवधिक निर्वाचन, त्यसपछि निर्माण भएका संसद, सरकार र जनप्रतिनिधिहरुका देश र जनविरोधी कृत्यहरुले साबित गरेका छन् ।

जनताले भोट हालिसकेपछि जनताको लोकतन्त्रलाई रछ्यानमा मिल्काउने काम भएका छन्, त्यसपछिको लोकतन्त्रको उपभोग विजयी हुने पार्टी, ती भित्रका शक्तिशाली गुट र आर्थिक-राजनीतिक गिरोहरुले मात्र गरेका छन् । भोट खसाल्ने बेलासम्म जनताको आँखा सामु ‘माछो, माछो’ भन्दै आएको लोकतन्त्र भोट खसालेको केहि क्षणमै अपहरित भैसेको हुन्छ । लोकतन्त्र र आवधिक निर्वाचन राजनीतिक घरानियाहरुको स्वार्थ सुरक्षित गर्ने भरपर्दा औजार मात्र साबित भएका छन् ।

त्यसैगरि ‘चुनावी प्रतिस्पर्धा र बहुमतको सरकार बनाएर समाजवाद आउँछ’ भन्ने अर्को भ्रम पनि खारेज भएको छ । यसलाई एमाले र माओवादी केन्द्रको एकीकरण पश्चात बनेको ने.क.पा.को बहुमतको सरकारले पुष्टि गरिसकेको छ । समाजवाद आफैमा पूँजीवाद विरोधी कार्यक्रमहरुमा आधारित व्यवस्था हो ।

ने.क.पा.को सरकार बनिसकेपछि त्यसले आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक सम्बन्धहरुमा विद्यमान पूँजीवादका जराहरुलाई काट्नका लागि के कस्ता कामहरु गर्यो ? विद्यमान नवउदारवादी   पूँजीवादी व्यवस्थाको सहयोगी बन्यो या त्यससँग संघर्ष गर्यो ? पार्टी, सरकार तथा संसदका बैठकहरुमा हुने बहस र निणर्यहरु समाजवाद लागू गर्ने सवालहरुमा केन्द्रित हुन पुगे या अरु नै केहिमा ? यी कुराहरुको जवाफ खोज्ने हो भने शून्यभन्दा अरु केहि हात लाग्दैन ।

कम्युनिष्ट भनिएका पार्टीको बहुमतको सरकार अन्तर्गतको एउटा मन्त्रालय (शिक्षा मन्त्रालय) ले पेश गरेको प्रगतिशील (समाजवादी होइन) सुधारको नीतिलाई समेत त्यही सरकारको प्रधानमन्त्रीले स्वीकार्न सक्दैन र उल्टै रद्दीको टोकरीमा फालिदिन्छ भने त्यो पार्टी, सरकार र संसद पूँजीपति वर्गका सेवक हुन् या समाजवादका संवाहक ? यो भ्रम साफ हुन यिनै दृष्टान्तहरु पर्याप्त छन् ।

एमालेको  कांग्रेसिकरण र माओवादीको एमालेकरण बुर्जुवा संसदवादको आदि र अन्तिम सत्य हो ।

बुर्जुवा संसदवाद अन्तर्गत लागू गर्न सकिने समाजवाद भनेको नेपाली कांग्रेसले बेलाबखत फलाक्ने झूठो समाजवाद भन्दा अरु केहि होइन । जुन विद्यमान व्यवस्था, पूँजीपति वर्ग र राजनीतिक घरानाहरुको समाजवाद हो । त्यो त लागू भइ नै रहेको छ ।

झूठो लोकतन्त्र र समाजवाद लागू गर्नलाई घनश्याम भुसालहरुको यति बिघ्न चिन्ताको आवश्यकता नै छैन, विद्यमान शक्ति र पात्रहरु पर्याप्त छन् । चिन्ता त उहाँहरुको चिन्तनको अवस्थितिमा गर्नुपर्ने छ जसले कम्युनिष्ट त के प्रगतिशील हैसियतमा रहेर पनि काम गर्न नसक्नेहरुबीचको एकता र बहुमतको सरकारवाट आज पनि गरिखाने वर्गको मुक्ति संभव देख्छ ।

यतिखेर केपी, पुष्पकमलहरुको अतितमुखी र दक्षिणपन्थी राजनीतिक यात्रा जति घातक छ घनश्याम कमरेडहरुको निभेको आगोबाट उज्यालोको अपेक्ष गर्ने आशावाद त्यत्तिकै चिन्ताजनक छ । तसर्थ निभिसकेको निरर्थक आशावादको खरानी फुक्न छोडेर बरु झिंजाहरु खेरबटुल गर्नु र तिनमा आगो सल्काउनु नै बुद्धिमानी होला ! उहाँले अझै आशा नत्यागिसकेको कम्युनिष्ट आन्दोलनको सर्वनाशको जुन चेतावनी दिइराख्नुभएको छ, त्यसभित्रबाट पुनः कम्युनिष्ट पुनर्जीवनको अपेक्षा गर्नु भनेको मेहनत गरियो भने गधा धोएर गाइ बन्छ भन्ने बचकाना आशावाद भन्दा अरु केहि पनि हुन सक्दैन ।

एमाले, माओवादीहरुप्रति नेपालको गरिखाने वर्गको आशा र भरोसाको रहेको भन्ने जुन दाबी छ, त्यो दाबीले एउटा भ्रमलाई सर्लक्कै छोप्ने काम गरेको छ । राष्ट्रिय स्वाधीनता, गरिखाने वर्गको लोकतन्त्र र परिर्वनको पक्षमा लड्ने शक्ति भनेका कम्युनिष्टहरु हुन् भन्ने जनताको बुझाई अहिले पनि छ, त्यो कुरा सत्य पनि हो । तर अबको कम्युनिष्ट आन्दोलनका इमान्दार अगुवाहरु पनि यिनै पार्टीहरु हुन् भन्ने कुरा चाहिँ भ्रम हो सत्य होइन ।

त्यो भ्रमलाई जनताको बीचमा चिर्ने सवालमा वास्तविक कम्युनिष्टहरुको बल बुताले काम गर्न सकेको छैन, यो पनि त्यत्तिकै सत्य हो । गरिखाने वर्गको भरोसा त कम्युनिष्ट आन्दोलनप्रतिको हो कम्युनिष्ट आन्दोलनको नाउँमा संसदवादको चास्नीमा डुबिसकेका लाल कार्डधारी बुर्जुवाहरुप्रति होइन । आज एमाले, माओवादी नाउँका लाल कार्डधारी पार्टीहरुले जनताको त्यही इमान्दार विश्वासको फाइदा उठाउने काम गरिरहेका मात्र हुन् ।

यिनीहरुले हिजोका कम बेसी योगदानहरुको साँवा ब्याज असुलिरहन चाहन्छन् । त्यसकारण पनि यिनीहरुले अझै आफूलाई कम्युनिष्ट आन्दोलनका अगुवा भएको भ्रम दिइरहनेछन् । तर आज यिनीहरुको मुख्य राजनीतिक लडाइँ गरिखाने वर्ग र परिवर्तनको लागि हुने ‘मृत्यु या मुक्ति’को होइन व्यक्तिगत स्वार्थ र अस्तित्व रक्षाको हो ।

आजको व्यवस्था नै के हो र यसले श्रमिक वर्गमाथि गरेको शोषण, दमन र लुट के हो भन्ने बारेमा यिनीहरुलाई कुनै सरोकार छैन । देशभित्रै नागरिकहरुलाई परदेशी बन्न बाध्य बनाउँने लुटाहा व्यवस्थामाथिको आक्रमणलई पनि यिनीहरुले आफूमाथिकै आक्रमण ठान्छन् ।

बहस त आजको व्यवस्थामाथि हुनुपर्ने छ । तसर्थ यो व्यवस्थाकै सेवक बनेर उभिएका यी पार्टीहरु एक हुने या नहुने कुराले गरिखाने वर्गको जीवनमा आधारभूत रुपमा भिन्नता आउँने भन्ने हुँदैन । बारम्बार ‘दलाल पूँजीवाद’को चर्चा गर्ने घनश्याम कमरेडहरुलाई यो वास्तविकताबाट पन्छिन कुन कुराले रोकेको छ । अब बहस यसमा जरुरी भएको छ ।

घनश्याम कमरेड आफ्नो लेखमा सिधै निराशाको खेती त गर्नुहुन्न, तर आशावादको आधार भने भ्रामक छ ।

जुन प्रकारान्तरले निराशाकै बाटो हो । लेखक कम्युनिष्टहरुको सर्वनाशको कारण आधारभूत वैचारिक विचलनमा होइन, नेतृत्व र कार्यदिशाको बुर्जुवाकरणमा पनि होइन बरु उनीहरुले ठीक मति र ढंगले काम नगर्नुमा देख्नुहुन्छ । त्यो मति बिग्रिनुको स्रोत के हो ? त्यसको खोजीमा कुनै चासो देखिंदैन ।

बुर्जुवा राजनीतिको केन्द्रमा व्यक्ति स्वार्थकेन्द्रित एकता, विभाजन, सिद्धान्तमाथिको सौदाबाजी, किनबेच, ढाँट-छलदेखि सबै अनैतिक कर्महरु पवित्र मानिन्छन् । यी कुराहरुलाई सर्लक्क एकातिर पन्छाएर उहाँको ध्यान केबल रोगका लक्षणहरुमा मात्र केन्द्रित छ, तर रोगका कारणहरुमा होइन ।

अहिले पनि सरोकारभित्र चुनाव, पार्टी एकता, बहुमत अनि सरकार मात्र छन् । तर उहाँले नै बारम्बार उल्लेख गरिरहने दलाल पूँजिपती व्यवस्थाभित्र बन्ने बहुमतका सरकारहरुसँग त्यो सत्तालाई धुलिसात पारेर श्रमजीवी वर्गको हातमा सत्ता ल्याउने कार्यक्रम के-के हुन् ? अनि यी प्रश्नहरुबाट बिमुख रहेर प्राप्त गर्न खोजेका ‘महान उपलब्धी’हरु के होलान् ? यिनको जवाफ कहिँ कतै भेटिन्न ।

अबका मुख्य भ्रमहरु पहिले जस्तो एमाले र केपी वलीहरु होइनन् । आफ्नो पार्टीलाई माओवादीसँग मिलाएर ने.क.पा.बनाउने समयमै केपी वलीले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो-“एमाले न कम्युनिष्ट पार्टी हो न वामपन्थी ।” त्यो दुबै नभएपछि के बाँकी रहन्छ भन्ने कुरामा टाउको दुखाउनुपर्ने जरुरत नै रहेन । बरु भ्रमको यानमा सवार भएर सही गन्तब्यमा पुग्न सकिन्छ भन्ने घनश्याम कमरेडहरुको आग्रह नै सबैभन्दा ठूलो भ्रमको स्रोत हो । जसले वर्ग समाजभित्र अकाट्य मार्क्सवादका आधारभूत प्रस्थापनाहरुलाई खारेज गर्छ र विचारको तहमा मनचिन्ते समाधानको खिचडी पकाउँछ ।

आजको तितो सत्यलाई स्वीकार्दै कम्युनिष्ट आन्दोलनई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने कष्टसाध्य प्रक्रियालाई तपशीलमा राख्छ अनि आशावादी हुने नाउँमा हिम्मत नहारिकन पानी मथिरहने अर्थहीन दिनचर्यामा ऊर्जा खर्च गरिरहन्छ ।
२०७४ चैत्र ४