काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’को आरोप लगाएका छन् ।
यद्यपि, बीबीसीले बाइडेनले ह्वाइट हाउसमा एक सञ्चारकर्मीलाई जवाफ दिने क्रममा बिना तयारी यस्तो प्रतिक्रिया दिएको जनाएको छ । त्यस्तै, ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले पनि राष्ट्रपति बाइडेनले युक्रेनमा भएको हिंसाको ‘बर्बर’ तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नुभन्दा पनि आफ्नो मनबाट बोलेको बताइन् ।
तर, ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले ‘मनै’देखि यस्तो अभिव्यक्ति दिएको जनाएको छ । युद्ध अपराध निर्धारण गर्न विदेश मन्त्रालयले सञ्चालन गर्ने एउटा छुट्टै कानुनी प्रक्रिया रहेको र यसबारेमा छुट्टै काम भइरहेको उनको भनाइ छ ।
पुटिनको निन्दा गर्न बाइडेनले यस्तो भाषा प्रयोग गरेको यो पहिलोपटक हो । बाइडेनको यो टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको बताइएको छ ।
उता क्रेमलिनले भने बाइडेनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य अनि अक्षम्य’ बताएको बताएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी समाचार संस्था ताससँग बोल्दै यस्तो बताएका हुन् ।
“जुन देशको बमले विश्वका हजारौँ मानिसको ज्यान लिएको छ, त्यहीँ देशको राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौँ,” उनले भने । एजेन्सीको सहयोगमा ।