होली पर्व हिन्दूहरुको पर्व हो । तर आजभोली अन्य धर्म र सम्प्रदायका मानिसहरुले पनि आआफ्नै तरिकाले यो पर्वलाई मनाउने गरेको पाइन्छ । यो पर्व नेपाल तथा भारत लगायतका देशहरुमा समेत बडो धुमधामसँग मनाइन्छ ।
यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणर्िमाको दिन मनाउने गरिन्छ । प्राचीन कालदेखि नै बसन्त ऋतुमा रोगव्याधीले आक्रमण नगरेको बेला तथा न धेरै जाडो, न धेरै गर्मीको याममा जंगलमा पालुवाहरु लहलह हुन लागेको बेला अर्थात् पालुवाको लालीले वन ढकमक्क हुने बेलामा रंगहरुको पर्वको रुपमा होली पर्व मनाइने गरिन्छ । वास्तवमा एकअर्कामा ख्याल ठट्टा तथा रसरंग गर्नु नै बसन्त ऋतु र बसन्त महोत्सवको समय हो । यसै कुरालाई मध्यनजर गर्दै यो पर्व मनाएको हुनु पर्दछ ।
यसरी महत्वका साथ मनाइने होली पर्वका बारेमा विभिन्न किंवदन्तीहरु छन् । ती किंवदन्तीहरु होली पर्व किन र कसरी मनाउन थालिएको हो भन्ने कुरासित सम्बन्धित रहेका छन् ।
पहिलो किंवदन्ती :
हिन्दू संस्कृति अनुसार त्रेता युगमा भगवान विष्णुका परमभक्तका रुपमा प्रल्हाद उदाएका थिए । तर प्रल्हादका बुबा हिरण्यकश्यपलाई आफ्नो छोरा विष्णुको भक्त भएको पटक्कै मन पर्दैथ्यो । त्यसैले हिरण्यमश्यपले आफ्नो छोरालाई विभिन्न यातना दिएर मार्न चाहन्थे । हिरण्यकश्यपकी बहिनी होलिका थिइन् । होलीकाले आगोद्वारा मृत्यु नहुने बर पाएकी थिइन् ।
हिरण्यकश्यप आफ्नो बहिनीसँग प्रल्हादलाई छलकपट गरेर आगोले जलाएर मार्न चाहन्थे । त्यसैले दुबैजनालाई आगोमा जलाए तर भगवान विष्णुको भक्त भएको हुनाले आगोले प्रल्हादलाई जलाएन बरु होलीकालाई आगोले जलायो ।
उनै होलीकालाई जलाएको सम्झनामा विष्णुका भक्त प्रल्हादको जीवन रक्षा भएको सम्झनामा यो पर्व मान्दै आएको मानिन्छ । होली खेल्नु भन्दा एकदिन अगाडी राती होलीका दहन गरिन्छ । होलीका दहन गरिसकेपछि विहान विभिन्न बाजागाजा बजाई, गीत गाई विभिन्न रंगहरु एक आपसमा दलेर पानीले एक अर्कामा छ्यापेर होली पर्व मनाइन्छ ।
दोश्रो किंवदन्ती :
द्वापर युगमा श्रीकृष्ण बालकै छँदाको अवस्थामा कृष्णका मामा कंशले कृष्णलाई मार्न चाहन्थे । कृष्णलाई मार्न कंशले सेना पुतना नामकी राक्षसनी प्रयोग गरेका थिए तर कृष्णले उल्टै पुतना राक्षसनीलाई मारीदिए । पुतनाले कृष्णलाई विषादीयुक्त दूध चुसाएर मार्ने योजना बिफल भयो । त्यसकै खुशीयालीमा पुतनाको शवलाई ब्रजवासीले यसै होलीका दिन जलाएर एक आपसमा रंग तथा अबीर दलेर खुशीयाली मनाएको हुनाले सो घटनाको सम्झनामा अद्यावधिक पुतनाको चीरदाह गरी होली खेल्ने परम्परा चलेको किंवन्दनी रहेको पाइन्छ ।
तेश्रो किंवन्दन्ती :
एक पटक यमुना नदीमा यौवनले उन्मुक्त गोपिनीहरू आफूले लगाएका सम्पूणर् लुगाहरु नदी किनारामा फुकालेर निर्वस्त्र भई नुहाइरहेका थिए । सोही समयमा भगवान श्रीकृष्ण आई ती गोपिनीहरुका सम्पूणर् लुगाहरु नदी किनाराको रुखको हाँगामा झुण्ड्याई आफू चाहिँ बाँसुरी बजाएर बसे ।
गोपिनीहरुले भगवान श्रीकृष्णलाई अनेकौं बिन्ती भाऊ गरी आफ्नो वस्त्रहरु दिनका लागि अनुरोध गरे । तर भगवान श्रीकृष्णले गोपिनीहरुले यस्तो खुल्लास्थानमा निर्वस्त्र भएर नुहाएकोमा प्रायश्चित गरेपछि मात्र लुगा दिने नीति अवलम्बन गरे । गोपिनीहरुले आफ्नो गल्ती भएको मेहसुस गरे र खुल्ला ठाउँमा निर्वस्त्र भइ नुहाएकोमा प्रायश्चित गरे । त्यसपछि श्रीकृष्णले गोपिनीहरुका सम्पूणर् लुगा रुखको हाँगाबाट झारी दिए । श्रीकृष्णको उक्त घटनाको रासलिलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतिकमा रंगीचंगी कपडाका टुक्राहरु, झुण्ड्याई चीर ठड्याउने प्रचलन आएको भन्ने किंवदन्ती छ ।
चौथो किंवदन्ती :
पाँच पाण्डवहरू वनबास जाँदा भिमसेन र दौपतीका बीचमा यौन सम्बन्ध भएको घटनाको स्मरणको रूपमा पनि होली मनाउने चलन चलाइएको भन्ने पनि किंवदन्ती रहेको छ । भक्तपुरको दत्तात्रय मन्दिरनेर रहेको भिमसेनको मन्दिरमा रहेको काठको ३० इञ्च मोटाई र झण्डै तिन हात लामो लिंगलाई रातो कपडाको प्वालमा द्रौपतीको यौनी ठानेर त्यसमा सो लिंग जुधाएर होलीको शुरुवात गरिन्छ ।
फागुन शक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिंगलाई भक्तपुरभरि टोलटोलमा बोकेर पसल पसलमा घुमाउने र भक्तजनहरूले छोएर पैसा चढाई दर्शन गर्ने गरिन्छ । यसो गर्दा आफ्नो ब्यापार बढ्ने र निरोगी हुने जनविश्वास रहेको छ । लिंग बोक्नाले छोरा नहुनेलाई छोरा प्राप्त हुने जनविश्वास पनि रहिआएको छ ।
सो समयमा छोरा नहुहरूले लिंग बोक्नका लागि निकै कडा प्रतिष्पर्धा नै चल्ने गर्दछ । होलीको बेलका लिंग परवालेर भीमसेन मन्दिर ल्याएपछि त्यस वर्षको होली समाप्त हुन्छ ।
पाँचौ किंवदन्ती :
होलीकै दिनमा देवराज इन्द्रको आज्ञाले कामदेवद्वारा महादेव तपस्यामा बसिरहेको बेलामा तपस्या भंग गर्न र मनमा चंचलता तथा यौन उत्तेजना ल्याउन बसन्त काम वाण हानेर ध्यान भंग गरेको भनिन्छ । त्यसैको उत्सवमा यो होली पर्व संचालन हुँदै आएको मानिन्छ ।
छैठौं किंवदन्ती :
सिद्धार्थ गौतम बुद्ध आफ्नो परिवार र राज्य छोडी अथवा गृहस्थी जीवन त्यागेर बुद्धत्व प्राप्त गरेपछि सबैभन्दा पहिलो पटक आफ्नो जन्मस्थल कपिलवस्तुमा भिक्षाटन गर्न आएको उत्सवको रूपमा पनि होलीलाई लिने गरिएको पाइन्छ ।
नेवारी समाजमा होलीका बारेमा युवा-युवतीलाई जिस्क्याउँदै गाइएका के अनेक शिष्ट, रोचक तथा घोचक गीतहरु, धेरै छन् । यी गीतहरु विशेषगरी प्रेममय भावमा रहेका हुन्छन् । त्यस्ता गीतहरू गाएर एक आपसमा रंग खेल्दै बडो उत्साहले यो पर्व मनाइन्छ । भारतमा होलीलाई फगुवाको रुपमा लिई विभिन्न प्रान्तमा फागवह अथवा डोला जात्रा र बसन्तोत्सवको रूपमा मनाउने गरिन्छ ।
कुनै कुनै स्थानमा नौनीले भरिएको माटोको घ्याम्पो झुण्ड्याएको हुन्छ र त्यसलाई फुटाउने पनि गरिन्छ । भारतको मथुरा नजिकै बर्सना क्षेत्रमा महिलाले पुरुषहरुलाई लठ्ठीले कुटेर होली खेलिन्छ । महिलाहरूलाई धार्मिक र सामाजिक रूपले जिस्क्याउने वा दुर्व्यवहार गर्न नहुने सन्देशको रूपमा लिएको पाइन्छ । भोजपुरीमा ‘जोगिरा सरर……’ भन्ने होलीमा गाउने गीत गाएर बडो धुमधामसँग गाएर होली मनाउने गरिन्छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूणर्िमासम्म आठ दिन चीर गाडेर यो पर्व शुरु गरी मनाउने हुनाले यसलाई ‘होली अष्टमी’ अथवा चीर अष्टमी’ पनि भन्ने गरिन्छ । साथै चीर काठमाडौंको हनुमान ढोका दरबार क्षेत्रको बसन्तपुर तथा त्यसैगरी पाटनको कृष्ण मन्दिर छेउमा विभिन्न रंगका कपडाको टुक्राहरु, बाँसको टुपोमा झुण्ड्याइन्छ । पाटनमा भने रुखको हाँगोमा झुण्ड्याइन्छ ।
‘अबरिया होली तञ्चयला ल्यासे
व ल्यासे मदयेक जाहे मनाया’
(अर्थात्, अबीरको होलीले रिसाएकी छौ की युवती
ती युवती नभई भातै नखाने ।)
आदि गीतहरु नेवारी समुदायमा बढी प्रचलित तथा लोकप्रिय छ । वास्तवमा होली एक रंगहरुको पर्व हो । आयुर्वेदिक भैषज्याशास्त्रका अनुसार शरीरमा विभिन्न रंगहरु दल्नाले रोग नलाग्ने तथा रोगसँग लड्ने क्षमता बृद्धि हुने उल्लेख गरिएको पाइन्छ ।
यो पर्व कुनै पनि जातीय भेदभाव नभएको पर्व हो । यो पर्वलाई यौन शिष्टताको शिक्षा दिने पर्वको रुपमा लिने गरिन्छ । त्यस्तै अरुको हानी गर्दा आफ्नो समेत ठूलो हानी हुने भएकोले त्यसो गर्न नहुने शिक्षा यस पर्व मार्फत् दिने गरिन्छ । साथै यो पर्वलाई आपसमा वा समाजमा भातृत्वको विकास गर्न सघाउने पर्वको रुपमा लिनु पर्दछ ।
बसन्त ऋतुको रमाइलो वातावरणमा बसन्तीय उत्साह र उमंग वर्षभरी होस् भन्ने कामनाका साथ मनाउने यो पर्वले समाजमा रहेका विभिन्न विसंगति, विकृति फैलाउनु हुँदैन भन्ने सन्देश दिएको छ । त्यसकारण यो पवित्र पर्वलाई पवित्ररूपले नै मनाउनु बुद्धिमानी हुनेछ ।
बनेपा-४ नाला, काभ्रे । हाल-टोखारोड, गोंगबु, काठमाडौं ।