• असार २५ २०८१, सोमबार

दाङको कृषि प्रदर्शनीमा कलाकारहरुले मच्चाए धमाका

चैत्र २ २०७८, बुधबार

घोराही, २ चैत ।
पाको उमेरकी एक महिलाको तरुनी जोशको नाच मञ्च सामुन्ने देखिन्थ्यो । गायक फेरिंदा पनि तिनको नाच अनवरत चल्थ्यो । समय समयमा अरु पनि नाच्न आउने र हराउने गर्दथे । दर्शकदिर्घाको ठूलो टेन्टमुनी मानिसहरु दिउँसो एक बजेपनि थपक्क बसेका थिए । छेउछाउमा कोही नाच्थे पनि ।

एकजना कलाकार कम्मर मुनी रिबनका टुक्रा जस्तो पहिरण लगाएर नाच्न मञ्चमा झुल्किनुभयो । तर उहाँलाई आयोजकले अनुमति दिएन । उत्ताउलो र भड्किलो पहिरन दर्शकले पचाउन नसक्ने देखियो । लगत्तै उनै कलाकार फेसन बदलेर अर्को मौका छोप्न मञ्चमा उक्लिनुभयो ।

लगत्तै दाङ जिल्ला उद्योग वाणिज्य संघ र गुल्मी उद्योग वाणिज्य संघका बीच घम्साघम्सी दोहोरी चल्यो । माया प्रेमसँगै उनीहरुले गीतका टुक्कालाई प्रदर्शनीको महत्वसँग जोडे । निर्णायक  मण्डलका देवकला बस्नेतका अनुसार दाङ उद्योग वाणिज्य संघको टोली विजयी भएको छ ।

सञ्चालकले बढि भूमिका बाँध्न खोज्थे दर्शकहरु तितरवितर हुन सुरु गर्थे । सञ्चालकले दर्शक भन्दा मञ्चका अतिथि, आयोजक र प्रदर्शनीका सहयोगीलाई बढि महत्व दिएको दर्शकलाई मन पर्दैन्थ्यो । दुवै तर्फको दृश्य हेरिरहनुभएका प्रदर्शनीका सह संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले चिट पठाएर सञ्चालक थाम्नु हुन्थ्यो । त्यसरी पनि कुरा नबुझेर एकहोरो बोल्न थालेपछि देवकला बस्नेत चिमोट्नै पुग्नु हुन्थ्यो ।

दिउँसो ढल्किँदै गएपछि दर्शक थपिंदै रहन्थे । शुरुमा स्थानीय कलाकारलाई स्थान दिइएको थियो । साँझ पर्दै जाँदा थपिएको माहौलमा केन्द्रबाट आएका कलाकारले प्रस्तुति देखाए । शिष्ट तरिकाले प्रस्तुत भएकी भूमिका गिरीलाई धेरै क्यामेराले ताकिरहेका थिए । माहौल पनि निकै उत्साहित थियो । त्यस अघिसम्म मञ्चका अतिथि आषण खाली थिए । कलाकार गिरी लगायतको पालोमा भने अतिथिका सिट लभरिए । कतिपय कलाकार आफै काउरीएपछि दर्शकको उत्साह पनि खुम्चिएको हुन्थ्यो ।

यसरी मंगलबार चक्र बम, भूमिका गिरी, रिना थापामगर लगायतको प्रस्तुति रहेको थियो । यसैगरी रोशन रत्गैंया, अर्जुन कौशल, आशा विक, दिनेश थापा लगायत धेरै जनाले गीत गाए । कतिपय कलाकारले एकै पटक दुई तिन वटा सुनाउने रोग भने त्यस अवसरमा पनि देखियो । दर्शकले रुचाउने न रुचाउने भन्दा पनि आफ्ना सिर्जना सबै सुनाउने सोच कतिपयमा देखिन्थ्यो ।

यसैगरी आज (बुधवार) पूर्वीरुकुम र बर्दिया उद्योग वाणिज्य संघ बिच दोहोरी प्रतियोगीता हुने कलाकार बस्नेतले जानकारी दिनुभयो । यसैगरी कलाकारहरु रमेश भटराई, सम्झना भण्डारी, मिना भण्डारी, रेखा लामा, एलिना रायमाझी, राशी रिजाल तथा स्थानीय कलाकारको प्रस्तुति रहने महासचिव बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार धेरैको ध्यान मनोरञ्जनमा छ । त्यसैले आयोजक पनि मञ्चलाई आकर्षक र व्यवस्थित बनाउन चाहन्छ ।

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मुल आयोजक समितिलेका संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीका अनुसार एकै दिनमा १३ हजारसम्म दर्शक आउनुभएको छ । खलखली पसिना बगाउँदै ठूलो संख्यामा दर्शक मञ्च केन्द्रित हुन्छन् ।

उहाँका अनुसार स्थानीय पालिकाले भने पत्याएनन् । सरकारको बजेट अनुदान दिएर उत्पादन गरिएका वस्तु प्रदर्शनीको स्टलमा राख्न संघले जिल्लाको दशवटै पालिकालाई आग्रह गरेको थियो । कसैले सुनेनन् । उहाँका अनुशार निःशुल्क स्टल दिँदा समेत एउटा पालिकाले पनि बुक गरेनन् । कृषि उत्पादनमा राज्यलाई संघ संस्थाले सहयोग गछौँ भन्दा पनि वास्ता गरिएन ।

स्थानीय अचार, अल्लोबाट निर्मित सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । कृषि ज्ञानकेन्द्र, पशु विज्ञकेन्द्रले पनि स्टल राखेर सेवा दिएका छन् । तिनै स्टलमा पनि खास्सै चासो देखिएको छैन । खेती गर्ने र उत्पादन बढाउने औजार र तरिका सिकाइ रहेकाछन् । पशु पाल्ने र रोगबाट बचाउने तरिका पनि

बताइरहेका छन् । त्यसता स्टलमा समेत प्रदर्शनीमा छिर्नेको चासो छैन । संघले भने मनोरञ्जन दिन भरमग्दुर प्रयास गरेको बताएको छ । राष्ट्रिय स्तरका धेरै चर्चित कलाकार पनि निम्त्याइएका छन् । स्टलहरुमा पनि विविधता र स्थानीय आवश्यकतालाई प्राथमिकता दिएको संयोजक बुढोकीको भनाइ छ । चर्को गर्मीमा पसिना पुछ्दै मानिसहरु मञ्चतिर ध्यान केन्द्रित गरिरहन्छन् ।

आयोजकले सित्तलको लागि साँझको समयलाई बढाएको छ । दिन ढल्किंदै जाँदा दर्शकले भरीभराउ हुँदै गरेको छ । यसको अर्थ सबैको ध्यान मञ्चमा छ । गत फागुन २६ गते घोराही १४ झिंगौरामा शुरु भएको प्रदर्शनी चैत ८ सम्म चल्ने छ ।