• मंसिर ११ २०८१, मंगलवार

नेवार समुदायमा होली किन र कसरी मनाइन्छ ?

चैत्र २ २०७८, बुधबार

नेवार संस्कार र संस्कृतिमा विभिन्न चाड पर्वहरू मनाइँदै आउने क्रममा होलीलाई पनि आफ्नै मौलिक पर्वको रुपमा मनाउँदै आइरहेको पाइन्छ । परापूर्व कालदेखि चल्दै आइरहेको नेवारीपनको होलीमा गाइने लोकगीतमा

‘होलीको मेला मैयाँलाई थाहा छैन र अबीर अलिकता लगाई जाऊ
अबीरको होली रिसायौ कि मैया अबीर अलिकता लगाई दिउँ’

भन्दा भागी गयौ नी भन्ने गीत गाउँदै युवाहरूले युवतीहरुलाई अबीर लगाई दिँदै रमाइलोसँग होलीको गीत गाउने गर्छन् ।

यसरी गीत गाउँदै होली मनाउने क्रममा युवा युवतीहरू आपसमा मन पराई प्रेम पनि गर्ने नेवारहरूको संस्कार रहेको छ । पहिला पहिला होलीको मेलामा युवाले आफ्ना मन पर्ने र मन पराई राखेका युवतीहरुलाई प्रेम प्रस्ताव राख्ने गरिन्थ्यो ।

अजभोलीका युवा युवतीहरुले भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव गरे जस्तै त्यतिबेला काठमाडौं उपत्यकाका नेवारहरूले मनाउने विभिन्न चाडपर्व र जात्रा पर्वमा पनि युवा युवती भेट भएर प्रेम गर्दथे । अहिले जस्तो जहाँ पायो त्यही भेट गर्ने अवसर मिल्दैन्थ्यो ।

त्यसैले चाडपर्वमा देवताका पूजा गर्न जाने युवतीहरु र देवताको दर्शन गर्न जाने युवाको बीचमा प्रेम हुने गर्दथ्यो । होली पर्व मनाउने क्रममा त अझ विशेष गरी युवा युवतीहरुले आफूले मन पाएकालाई अबीर लगाई दिएर प्रेम प्रदर्शन गर्ने गर्दथे ।

तर हाल आएर होलीको नाममा देखिएका विभिन्न किसिमका विकृतिले गर्दा होली जस्तो पवित्र पर्वको नाम बदनाम भइरहेको देखिन्छ । होली भनेको आपसी सद्भाव मेलमिलाप र नमिलेका साथी भाई इष्ट मित्रहरूका पनि मेलमिलाप गराई आपसी मनमुटाव हटाउने रमाइलो पर्व हो । यो पर्वमा कुनैपनि किसिमका विकृति ल्याउन दिनु हुँदैन ।

हरेक वर्ष होलीको सुरुवात फागुन शुक्ल अष्टमीका दिन हनुमान ढोका दरवार गद्दीको दक्षिणपट्टी विहान शुभ साइत पारेर तिनतल्ले चीर ठड्याएर होली पर्व प्रारम्भ गरिन्छ । पूर्णीमाका दिन बेलुका चीर ढालेर टुंडिखेलमा लगि चीर दहन गरिन्छ । तराईतिर भने  पूर्णीमाको भोलीपल्ट मात्र होली खेल्ने परम्परा छ ।

उपत्यकामा मान्दै आइएको होलीको पौराणिक भनाई अनुसार ठमेलका व्यापारी सिंह सार्थ बाहु ७०० जना ब्यापारी साथीहरुसँग ल्हासामा व्यापार गरी फर्किंदा ब्रम्हपुत्र नदीमा सुन्दरीहरुको भेषमा आएका राक्षसनीले आफ्नो जालमा पारेर सबैलाई आफ्नो आहार बनाएता पनि सिंहसार्थ बाहु एकजना मात्र बाँचेर आउन सफल भएको खुशीयालीमा बसन्तपुरमा चीर ठड्याएर आठ दिनसम्म सिन्दूरयात्रा गरी अबीर र रंग छ्यापेर रमाई आपसमा अबीर रंग लगाई दिएर रमाइलो गरी होली पर्व मनाएको मानिन्छ ।

त्यही सिंह सार्थ बाहुको प्रतीकको रूपमा ठूलो ढलौटको मूर्ति मान्छे आकारको (जसलाई चकँया भनिन्छ) को जात्रा गर्ने चलन रही आएको छ । त्यस्तै फागु  पूर्णीमाको दिनमा चीर दहन गरि सकेपछि एक मुरी चामलको भात गुरुमापा राक्षसलाई खुवाउन लानु पर्दछ ।

काठमाडौंका बच्चाहरुलाई गुरुमापाले चोरेर गरेकाले इटुंबहालका केशचन्द्रलाई उजुरी गर्न जाँदा केशचन्द्रको आदेश गुरुमापालाई समातेर ल्याई आइन्दा बालकहरुको रक्षा गर्नु पर्ने र टुंडिखेलमा बस्नु पर्ने बाचा गराई वर्षको एक पटक होली  पूर्णीमाका दिन एकमुरी चामलको भात, एउटा राँगोको मासुका साथै जाँड, रक्सी पनि खुवाउने चलन बनाइएको हो । यो चलन अहिलेसम्म पनि चलिरहेको छ । गुठियारहरु सबै टुंडिखेलमा गई गुरुमापालाई भात बढाइ त्यहिँ भोज खाई फर्किन्छन् ।

नेपालको तराई र भारतका विभिन्न स्थानहरुमा दैत्यराज हिरण्य कश्यपले आफ्ना छोरा प्रल्हादले विष्णुको भक्त गरेका कारण धेरैचोटी मार्न प्रयास गरेपनि असफल भएकोले ब्रह्माबाट आगोले नहुने वरदान पाएकी बहिनी होलीकाले प्रल्हादलाई काखमा राखी बलिरहेको अग्नि ज्वालामा बसेर जलाउने प्रयास गरिन् ।

तर देवताको बरदानको दुरुपयोग गरेकीले होलीका आफै आगोले पोलेर मरिन् । तर विष्णुभक्त प्रल्हादलाई भने केही पनि भएन । यसरी सत्यका सामु असत्य पराजित भएको र सत्यको विजय भएको खुशीमा होली खेल्दै आइएको हो ।