काठमाडौं । नेपाली कांग्रेसको एक महिने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका कांग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो ।
आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै कांग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन् । यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा निर्णय गर्ने बताए । ‘टोल, वडा तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ,’ उनले भने, ‘यो अभियान जनतामाझ गएर कांग्रेस र एमसीसीबारेका भ्रम चिर्न गरिएको हो ।’
त्यस्तै, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहमा फोकस हुन जरुरी भएकोले जनताका घरदैलोमा पुग्न खोजेको बताए । कांग्रेसले ७७ जिल्लामा ७७ केन्द्रीय सदस्य पठाएको छ भने प्रदेश कार्यसमितिहरूले पनि प्रतिनिधि खटाएका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै हुनेमा कुनै शंका नगरी जनताका घरदैलामा पुग्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका थिए ।
‘गठबन्धन दलहरूप्रति उग्र हुने काम छैन । प्रमुख प्रतिपक्ष एमालेको विरोधमा पनि नखनिनुहोस्,’ बैठकमा देउवाले भनेका थिए । एमसीसी सम्झौताका विषयमा उठेका भ्रम निवारण र पार्टीको महाधिवेशनका बेला तल्ला तहसम्मै भएको गुटगत प्रवृत्ति मेट्ने प्रयास हुने उपसभापति धनराज गुरुङले बताए ।
अभियानका लागि पठाइएका नेताहरू टोलदेखि वडा–वडामा पुगेर कांग्रेस जिताउने अभियानमा लागिपरेको शीर्ष नेता कृष्णप्रसाद सिटौलाले बताए ।
कांग्रेस नेता रमेश लेखकले चुनावी गठबन्धनका विषयमा पछि निर्णय हुने बताए । उपसभापति पूर्णबहादुर खड्का भन्छन्, ‘चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे पहिलो चरणको अभियान सकिएपछि मात्र कांग्रेसको धारणा आउँछ ।’ यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।