• मंसिर १२ २०८१, बुधबार

दक्षिण कोरियाली राष्ट्रपतिको अभिव्यक्तिले उत्तर कोरियासित तनाब बढ्दै

चैत्र १ २०७८, मंगलवार

भूराजनीतिक रुपमा विश्वकै अत्यन्तै संवेदनशील मानिने एसियाको उत्तरपूर्वी क्षेत्र कोरिया प्रायद्वीपमा अहिले नयाँ राजनीतिज्ञको आगमन भएको छ । दक्षिण कोरियामा भएको राष्ट्रपतिको निर्वाचनमा पूर्व वकिल युन सुक योलले बाजी मारे । उनको आगमनले विश्वव्यापी प्रभाव कति रहला त्यो भविष्यले बताउला तर कोरिया प्रायद्वीपमा भने नयाँ तरंग उत्पन्न भएको छ ।

नवनिर्वाचित दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बिहीबार आफ्नो पहिलो सम्वोधनमा संयुक्त राज्य अमेरिकासँग रणनीतिक गठबन्धन सुदृढ गर्ने, उत्तर कोरियाको उत्तेजकतालाई रोक्न बलियो राष्ट्रिय रक्षा निर्माण गर्ने र जापानसँग भविष्य उन्मुख सम्बन्धलाई अगाडि बढाउने अभिव्यक्ति दिए ।

उनको अभिव्यक्तिले कोरियाली प्रायद्वीपमा अस्थिरताको चुनौती भने थपिने देखिएको छ । बिसौँ शताब्दी यता विश्व शक्ति केन्द्रहरुको अनाआवश्यक चासोले राजनीतिक तथा सैन्य रुपमा रणमैदान बन्दै आएको कोरिया प्रायद्वीय यस पटकको नयाँ राष्ट्रपतिको आगमनले यसको भविष्यका बारेमा विश्वभरी विविध प्रकारका टिका टिप्पणी भईरहेका छन् ।

ती टिकाटिप्पणीहरु स्वतन्त्र नभएर आग्रह र पूर्वाग्रहको भारीले ग्रस्त देखिन्छन् । त्यसो त जापानी साम्राज्यवादको करिब ४ दशक बढी समय राजनीतिक उपनिवेश बनेको कोरिया दोस्रो विश्व युद्धमा जापानको हारपछि स्वतन्त्र मुलुक बन्न पुग्यो ।
कोरिया युद्धको सन्दर्भ उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेपछि सन् १९५० जुन २५ का दिन सुरु भएको थियो ।

यो शीत युद्धकालमा लडिएको पहिलो महत्वपूर्ण युद्ध थियो । यो युद्ध अन्तमा बिना निर्णय नै समाप्त भएतापनि धेरै जनधनको क्षति भएको थियो । दोस्रो विश्व युद्धपछि सोभियत सङ्घ र अमेरिकाले कोरियालाई सन् १०४५ अगस्ट १५ का दिन जापानको उपनिवेश नियन्त्रणबाट मुक्त गरेका थिए । जापानको आत्मसमर्पणसँगै युद्धको अन्त्य पछि ३८औँ अक्षांश रेखामा उत्तर र दक्षिण कोरियाको विभाजन भएको थियो ।

सोभियत सङ्घले उत्तर तर्फको हिस्सा नियन्त्रण गर्दा अमेरिकाले दक्षिण तर्फको हिस्सा लिएको थियो । सन् १९४८ मा ३८औँ समानान्तरलाई सिमा मानेर दुई सार्वभौम राष्ट्रको स्थापना भएपछि शीत युद्धको भुराजनैतिक तनाव सुरु भएको थियो ।

उत्तरमा किम इल सुङको नेतृत्वमा समाजवादी राज्यको स्थापना भएको थियो भने दक्षिणमा कम्युनिस्ट विरोधी पूँजीवादी राज्यको स्थापना भएको थियो । नवनिर्मित दुवै राष्ट्रका सरकारले सम्पूर्ण कोरियाको वैधानिक सरकार आफूलाई नै दावी गरेपछि कुनै सरकारले पनि सिमालाई स्थायी मान्न तयार भएका थिएनन् ।

उत्तर कोरियाली सेना सिमा पार गर्दै सन् १९५० जुन २५ का दिन दक्षिण कोरियामा छिरेपछि कोरियाली द्वन्द्व युद्धमा परिणत भएको थियो । युद्धको सुरुवातमा संयुक्त राष्ट्र सुरक्षा परिषदले आफ्नो सेनाको गठन गर्दै कोरियामा तैनाथ गरेको थियो । जसको उद्देश्य उत्तर कोरियाको आक्रमणलाई रोक्नु थियो । संयुक्त राष्ट्रका २१ राष्ट्रले संयुक्त राष्ट्रको सेनामा योगदान दिएका थिए त्यसमा ९० प्रतिशत हिस्सा अमेरिकाको थियो ।

साम्यवादी र पूँजीवादी विचारधाराको बीचको शीत युद्धको मारमा परेको कोरियन प्रायद्वीप ३ वर्ष लामो युद्धपछि रोकियो तर शक्ति राष्ट्रहरुको हस्तक्षेप रोकिएन । दक्षिण कोरियामा अमेरिकाले आफ्नो सैन्य टुकडी राखेर कोरियाको आन्तरिक राजनीतिमा हस्तक्षे गरि रह्यो भने दक्षिण कोरियाबाट उत्तर कोरिया, रुस र चीनमाथि पनि निरन्तर जासुसी गरिरह्यो । तर उत्तर कोरियाले भने अमेरिकाको आर्थिक नाकाबन्दी र सैन्य घेराबन्दीका बीचबाट आफ्नो सैन्य शक्तिलाई विकास गर्दै गयो ।

किम जोङ इलले आफ्नो देशको रक्षाका लागि आणविक कार्यक्रम अघि बढाए । त्यसपछि आर्थिक विकासका हिसाबले सोपेक्षित रुपमा दक्षिण कोरिया भन्दा कमजोर भए पनि राष्ट्रिय एकताको बलमा अहिले अमेरिकालगायतका पश्चिमाहरुका लागि आँखाको कसिंगर बनेका छन् ।

शीत युद्धपछिको कोरिया प्रायद्वीप :

९० को दशमा सोभियत संघको विघटनपछि शीतयुद्धको अन्त्य भयो । त्यही बेलादेखि नै उत्तर कोरियाले आणविक कार्यक्रम थालेको थियो जब कि दक्षिण कोरियाले अजंगको औद्योगिक विकास गरिरहेको थियो । यसरी दुई कोरियामध्ये उत्तरले आणविक कार्यक्रम अघि बढायो भने दक्षिण कोरियाले द्रूत गतिमा आर्थिक विकास गर्यो । दुईमध्ये एउटा कोरियाले अर्थतन्त्र र अर्कोले आणविक कार्यक्रममा विकास गरेर आफूलाई विश्वकै अब्बल राष्ट्रका रुपमा साबित गराए ।

उत्तर कोरिया आफ्नै बलबुतामा स्वाभिमानीपूर्वक बाँचिरहेको छ तर आर्थिक रुपमा आत्मनिर्भर हुँदा हुँदै पनि दक्षिण कोरियाले भने आफ्नो स्वत्व गुमाएको छ । दक्षिण कोरियालाई आज पनि अमेरिकाका अगाडी शीर निहुराउनु पर्ने बाध्यता छ ।

नयाँ राष्ट्रपतिको आगमन र संभावित टकरावको खतरा दक्षिण कोरियामा चुनिने राष्ट्रपतिहरु प्रायः अमेरिका तथा पश्चिमाप्रति झुकाव भएका हुने गर्दछन् । अमेरिकी हस्तक्षेपकारी नीतिप्रति बफदार हुने गर्दछन् । त्यही कारण विभाजन यता उत्तर कोरिया र दक्षिण कोरियाको बीचमा कहिल्यै सौहार्दपूर्ण सम्बन्ध रहेन । तर सन् २०१७ मा निर्वाचित दक्षिण कोरियाका राष्ट्रपति मून जाई एनले भने आफ्नोका कार्यकालमा उत्तर कोरियासँग सापेक्षित रुपमा सम्बन्ध सुधारेका थिए ।

उनको कार्यकालमा उत्तर कोरिया र दक्षिण कोरियाको बीचमा कुटनीतिक पहलहरुले राम्रो प्रगती गरेका थिए । यद्धपी अमेरिकी अरुचीका कारण दुई कोरिया बीचको एकता प्रक्रिया भने अगाडी बढाउन सक्ने कुरा थिएन । किनभने दुई कोरियाको एकता प्रक्रिया मुन जाई एनले चाहेर मात्रै हुने थिएन ।

तथापी उनले उत्तर कोरियाका सर्वोच्च नेता किमसँग भेटवार्ता गरे । दक्षिण कोरियाको लचकताले गर्दा उत्तर कोरिया पनि कोरियाली प्रायद्वीपको शान्ति सुरक्षाका मामिलामा गम्भीर देखिएको थियो । तर नयाँ जोगीले धेरै खरानी घस्छ भने झैं अहिलेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले अमेरिका र जापानसँगको कुटनीतिक सम्बन्ध सुधार्ने र उत्तर कोरियाको उत्तेजकतालाई नियन्त्रण गर्ने बताएसँगै कोरियाली प्रायद्वीपमा शान्ति सुरक्षामा खलल आउने देखिन्छ ।

देश विभाजनको बेलादेखि नै दुबै देशले एक अर्कालाई दुष्मनका रुपमा व्यवहार गर्ने गर्दछन् । यसरी युन सुक योलको अभिव्यक्तिले सो क्षेत्रमा सैन्य भडकावको आमन्त्रण गर्ने र अमेरिकी सैन्य अभ्यासलाई प्रशय दिने मात्र होईन, छिमेकी देशलाई चिढ्याउने अभिप्राय देखिन्छ ।

सुक योलले आफ्नो दुष्मन अरु कोही नभएर उत्तर कोरिया हुने प्रष्ट भाषामा आफ्नो अभिव्यक्ति दिइसकेका छन् । तर अरु सबै बदल्न सकिन्छ तर खराब छिमेकी बदल्न सकिंदैन भन्ने भनाईलाई नजरअन्दाज गरेका छन् । उनले जानी नजानी आफ्नो देशलाई अमेरिकी कठपुतली बनाउने प्रतिबद्धता समेत गरेका छन् भन्दा फरक पर्दैन । संसार भरी अस्थिरता निम्त्याउन अनेकौँ षड्यन्त्रका तानाबुना बुन्ने अमेरिकाले आफ्नो पक्षमा दृढतापूर्वक उभिने कोरियन शासकको खोजी गरिरहेको थियो ।

तर पछिल्लो समय दक्षिण कोरियाका राष्ट्रपति मुन जाई एनले आफ्नो कार्यकालमा अमेरिकन रुची विपरित उत्तर कोरियाका शासक किम जोङ उनसँग भेटवार्ता गरेर दुई देशको बीचको कुटनीतिक सम्बन्धमा सुधार गरेका थिए । तर अहिलेका राष्ट्रपति सुक योललको अभिव्यक्तिले कोरियन प्रायद्वीपमा सैन्य टकरावको अवस्था सिर्जना गर्ने मात्र नभई सो क्षेत्रको अस्थिरताले छिमेकी चीन, जापान र रुसमा प्रत्यक्ष असर पर्नेछ । यसरी कोरियन प्रायद्वीपमा अमेरिकी नीतिको अनुसरण गर्नु भनेको दुई कोरियाको बीचमा द्वन्द्व सिर्जना गरी अमेरिकी स्वार्थको पूर्ती गरी विश्वको राजनीतिमा अस्थिरता निम्त्याउनु हो ।

दक्षिण कोरियन शासक बनेको योलले अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास गरेर उत्तर कोरियालाई धम्क्याउने छन् तर उत्तर कोरियाको आणविक कार्यक्रमलाई धम्की मार्फत् निष्क्रिय पार्ने सपना भने पूरा हुन संभव देखिंदैन । यदि योलले आफ्नो शुरुको अभिव्यक्ति झै उत्तर कोरिया विरुद्ध आक्रामक नीति अपनाए भने त्यो कोरियन प्रायद्वीपका लागि रुस र युक्रेन युद्धको नयाँ रुप देख्न नसकिएला भन्न सकिंदैन