• मंसिर ९ २०८१, आईतवार

आठ महिनामा २० प्रतिशत मात्रै विकास खर्च, विनियोजित बजेट खर्च हुन नसक्नुमा कर्मचारी र ठेकेदारको बदमासी

चैत्र १ २०७८, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा सरकारले २० प्रतिशत बराबर मात्रै पुँजीगत खर्च गरेको छ । फागुन २९ सम्ममा २०.१६ प्रतिशत बराबर मात्रै विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबर छुट्टयाएकामा हालसम्म ७६ अर्ब २२ करोड रुपैयाँ बराबर मात्रै खर्च भएको हो ।

यही अवधिमा सरकारले गरेको कुल बजेट खर्च भने ४१.२१ प्रतिशत बराबर छ । कुल १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा फागुन मसान्तसम्ममा ६ खर्ब ७२ अर्ब ९० करोड रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।

यसमध्ये चालु शीर्षकमा विनियोजित बजेटको ५०।५३ प्रतिशत बजेट खर्च भएको छ । चालु शीर्षकमा १० खर्ब ६५ अर्ब २९ करोड रुपैयाँ बराबर विनियोजन भएकामा हालसम्म ५ खर्ब ३७ अर्ब २७ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वित्तीय व्यवस्थातर्फ कुल विनियोजित बजेटको ३१.३५ प्रतिशत बजेट खर्च भएको छ । यस शीर्षकमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बराबर विनियोजन भएकामा ५९ अर्ब ३९ करोड रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।

यही अवधिमा सरकारको राजस्व संकलन भने वार्षिक लक्ष्यको ५९.०७ प्रतिशत बराबर देखिएको छ । सरकारले आन्तरिक राजस्वतर्फ ६ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ बराबर उठाएको छ, जुन लक्ष्यको ५७.६७ प्रतिशत बराबर हो ।

त्यस्तै वैदेशिक अनुदानतर्फ वार्षिक लक्ष्यको २३.१७ प्रतिशत अर्थात् १३ अर्ब ८८ करोड रुपैयाँ सरकारले उठाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।