काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्यासमेत बढेको भन्दै आयोगले मतदान स्थल र केन्द्रको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढाउने तयारी गरेको हो ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदाताको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढेकाले मतदान स्थल र मतदान केन्द्रको संख्यासमेत थप हुने जानकारी दिएका हुन् ।
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम गरिएको थियो । आयोगले यसपटक भने १० हजार ७ सय ५६ मतदान स्थल र मतदान केन्द्रको संख्या २२ हजार ५ सय पु(याउनेगरी तयारी अघि बढाएको हो । मतदान स्थलभित्रै मतदान केन्द्र कायम हुनेछन् ।
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ५४ हजार मतदाता संख्या कायम थियो । यसपटक भने मतदाता संख्या १ करोड ७८ लाख पुग्ने आयोगको अनुमान छ । यो संख्या कायम भए अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा ३८ लाख मतदाता बढी हुनेछन् ।
आयोगका अनुसार एक मतदान केन्द्रमा १ हजारसम्म मतदातालाई मतदान गर्ने गरी व्यवस्था मिलाइन्छ । कुनै मतदान स्थलमा १ हजार बढी मतदाता रहेको भए सोही स्थलमा सामान्यतया प्रतिहजार मतदाताका लागि एक मतदान केन्द्रका दरले मतदान केन्द्र थप कायम गर्दै जाने तर एउटै मतदान स्थलमा सातवटा भन्दा बढी मतदान केन्द्र नहुनेगरी मतदान केन्द्र निर्धारण गरिने आयोगको भनाइ छ । यो समाचार राजधानी दैनिकमा छ ।