(सर्लाहीको ईश्वरपुर नगरपालिकाको कालिन्जोर स्थायी ठेगाना भई हाल काठमाडौं गोंगबुमा सिलाई पेसा गर्दै आएका एकराज बैजुको परिचय यत्ति मात्रै छैन । उनी श्रम गरेर जीउन सिकाउने एकजना व्यवसायीका साथै कलाकारिता कर्ममा पनि लागिरहेका एकजना सर्जक पनि हुन् । उनी सिलाई कर्मलाई पेसाको रुपमा लिन्छन् भने गीत–संगीतलाई परम्परागत कलाको संरक्षण गर्ने र समाजमा आफ्नो परिचय स्थापित गर्ने एउटा माध्यमका रुपमा । सिलाई र कलाकारितालाई एकसाथ अगाडी बढाइरहेका बैजुसित गोलखबर डटकमका संवाददातताले यिनै विषयको सरोफोरोमा कुरा गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेप-सम्पादक) ।
१) सिलाई र कलाकारितालाई सँगसँगै अगाडी बढाइरहनु भएको रहेछ सुरुमा तपाईंको बाल्यकालका बारेमा बताइदिनुस् न ?
सिलाई हाम्रो पुर्खौली पेशा हो । यो पेसालाई हामीले पनि पछ्याउँदै आएका छौं । तर पहिलेको भन्दा आज भोली काम गर्ने तरिका र कपडाको डिजाइन गर्ने तरिका फरक छ । हामी सामान्य परिवार कै मान्छे हौं । तर त्यति धेरै निम्नस्तरको परिवार भने होइन । मेरो बुवा भारतमा जागिरे हुनुहुन्थ्यो र जग्गा जमीन पनि टन्नै थियो । २, ३ वटा घर थिए । त्यतिबेला गाईबाख्रा पाल्ने चलन थियो । घरमा खरको छानो लगाउने चलन थियो । अलिपछि विकसित हुँदै जाँदा घरमा टायल लगाइयो । मेरो बुवा साँइलो छोरा हुनुहुन्छ । आफन्तको भनाई अनुसार बुवा निकै हिक्मतवाला हुनुहुन्थ्यो रे । अन्याय नसहने खालको हुनुहुन्थ्यो रे बुवा । गाउँमा केही लफडा पर्यो भने २–४ लाठी लगाएर भएपनि फटाही गर्नेलाई तह लगाउनुहुन्थ्यो रे । उहाँ लट्ठी खेलाउन एकदम सिपालु हुनुहुन्थ्यो रे । तर भारतमा जागीरको क्रममा उतै बित्नु भएको हो । बुवा बित्ने बेला म ५ वर्षको मात्र थिए रे । बुवाको मृत्युले हामीलाई धेरै पीडा दियो । बुवाको मृत्युको खबरले घरमा रुवाबासी भयो । सायद त्यतिबेला पनि अहिले जस्तै कुनै भाइरसले पो मेरो बुवाको मृत्यु भएको हो कि जस्तो लाग्छ ! त्यसपछि मेरो जीवनको बाल्यकाल आमासित बित्यो ।
आमासितको बाल्यकाल कसरी बित्यो नी ?
आमासित बस्दाको क्षण निकै पीडादायी छ । आमाले दिएको माया र ममता मलाई पर्याप्त छ तर बुवा पनि भइदिएको भए मेरो जीवन थप विकसित हुन्थ्यो होला तर यसो हुन पाएन ।
पढाईका बारेमा भन्न चाहनुहुन्छ ?
मेरो पढाई पूरा हुन पाएन । म सानै थिएँ, विद्यालय टाढा थियो । विद्यालय पुग्न नै डेढ–दूई घन्टा लाग्थ्यो । त्यतिबेला ढुंगाको कालोपाटीमा लेखेर पढाउने चलन थियो ।
आमाले मलाई विद्यालय हालिदिनु भएको थियो । हामी सानो सानो हुँदा हाम्रो केही सम्पत्ति हिनामिना भएको भन्ने पनि पछि सुनिन्थ्यो । दुःख गरेर गाउँमा ८ कक्षासम्म पढियो । १४ वर्षमा म काठमाडौं आएँ । काठमाडौं आएर दाजूसित सिलाईको काम गर्न थालें । असनको बाङ्गेमुढामा टोपी सिलाउने उद्योगमा दाजूले काम गर्नुहुँदो रहेछ । काममा लगाउने र पढाउने भनेर दाजूले मलाई पनि काठमाडौं लिएर आउनु भएको हो ।
काठमाडौं आएपछि पढाई सुरु भयो त ?
नाई भएन । काठमडौं आएको १ वर्षसम्म त मैले पढ्न जान पाइन । काममा मात्रै ध्यान दिनु पर्ने भएकोले पढ्न जान ढिला भएको हो । काठमाडौंका लागि आफू नयाँ–नयाँ भएकोले पनि अनि अन्यौल भएको थियो । तर त्यतिबेला हामीलाई अंग्रेजी भाषा पढ्न निकै जोड गरिन्थ्यो । विदेश जान सजिलो हुने भएकोले त्यसो भनेको रे । यो ४९ सालतिरको कुरा हो । केही समय काम गरेर कमाएको पैसाले गाउँको घर मरमत गरियो । केही ऋण–धन गरेर दाजूको विहे गरेर फेरि काठमाडौँ नै आइयो । दाजूको विहेपछि म काठमाडौंमा एक्लै बस्न थालें । मैले करिव ६–७ महिमासम्म अंज्रेजी पनि भाषा पढें । मलाई कलाकारिता क्षेत्रमा पनि मलाई रुचि थियो ।
कलाकारितामा रुची थियो भन्नु भयो, गीत गाउन–बजाउन आउँछ त ?
गीत गाउन मज्जाले आउँछ तर बाजा बजाउन चाहिँ धेरै होइन केही मात्रै आउँछ । दमाहा बाजा, नरसिंह बाजा जस्ता बाजाहरु बजाउने गर्छु । विहेहरुमा निम्ता आउँदा बाजा बजाउन जाने गरिन्थ्यो । यस्तोमा अरु जातिका मानिसले फर्माइस गर्ने र हामीले बजाउने, गाउने काम गरियो ।
कलाकारितामा निरन्तरता दिनु भयो कि भएन त ?
कलाकारितामा सफल हुनका लागि नृत्य, फाइट र एक्टीङ हुनुपर्छ । हिरो अर्थात् Hero को मान्यता अनुसार गर्न सक्नु पर्दथ्यो । H = Health, E = Education. R= Rich, 0 = organization . यी चीज पूरा भएमा मात्रै त्यसमा सफलता पाउन सकिन्थ्यो ।
२०५२ सालमा म कलाकारिता सिक्न भारत पनि गएँ । त्यहाँ एक वर्ष मात्र बसें । चिनेको मान्छेकोमा काम गर्दै कलाकारिता सिक्दै गरें । मैले त्यहाँ उसु खेल पनि सिकेँ । यो खेलमा लट्ठी, तरबार, नाइन स्टिक चलाउन सिकाइन्छ । निखिल उप्रेती र मैले खेलेको खेल एउटै रहेछ । उहाँको फिल्म हेर्दा उहाँले तिनै खेलहरू प्रयोग भएको पाउँछु ।
अनि नेपालमा आएपछि के गर्नु भयो ?
त्यसपछि म फेरि काठमाडौं आएँ । त्यसपछि फेरि एक्टीङ सिक्न थालें । भञ्ज्याङ् आर्टस् भन्नेमा ८–९ महिलाजति एक्टीङ सिकें । त्यहाँ खासगरी वीर रस, करुण रस जस्ता साहित्यिक रसहरु सिकाइयो । राष्ट्रिय सभा गृहमा प्रत्यक्षरुपमा कला प्रस्तुत गरिन्थ्यो । त्यसमा मैले पनि खेलेको छु । राधिका सुनुवारसित डान्स सिकेको हुँ ।
फायर डान्स, लोकनृत्य, क्लासिक, मारुनी, जस्ता डान्सहरु सिक्न पाएँ । यसरी डान्स सिकेपछि यो क्षेत्रमा केही गर्छु भन्ने भावना पैदा भयो । कलाकार बन्ने चाहना र सिलाउने कामलाई मैले करिब सँगसँगै लिएँ । तर मैले संगीत क्षेत्रमा लागेको थाहा पाएपछि घरमा मलाई रुचाउनु भएन । तर मलाई आफू मरेर गए पनि केही आफ्नो सृजना छोडेर जानुपर्छ भन्ने चाहना थियो । जतिबेला म जम्मा १८ वर्षको थिएँ । सो समयमा मलाई एउटा फिचर फिल्ममा खेल्ने अफर आयो । फिचर फिल्म भनेको सानो पर्दाको फिल्म हो । मलाई त्यसमा नाच्ने अफर थियो । त्यसको सुटिङ राम्रो भयो ।
गीत संगीतको क्षेत्रमा लाग्दा कसैसित प्रेम पनि पर्यो की ?
ठिक प्रश्न गर्नु भयो । मलाई एकजना केटीले मन पराउनु हुँदोरहेछ । तर अहिलेको मेरो म्याडम चाहिँ होइनन्, उहाँ चाहिँ कामाडौंवासी हुनुहुन्थ्यो । मैले होइन उहाँले नै प्रेमको प्रस्ताव गर्नु भएको हो । मेरो आनीबानी उहाँलाई मन परेछ । मलाई उहाँले मसिनो गरी नियालिरहनु भएको रहेछ तर मलाई थाहा भएन । मैले पछि थाहा पाएँ तर आफ्नो उद्देश्य पूरा नभएर त्यता नलागौं भन्ने लाग्यो ।
तपाईंले खेलेको फिल्म अझै हेर्न सकिन्छ त ?
नाई त्यो फिल्म अहिले पाउन सकिन्न । त्यो त त्यतिखेरै हलमा देखाइयो, सक्कियो । अहिले जस्तो युटुवमा राख्ने चलन थिएन । कतै पाइन्छ कि भनेर मैले खोज्न धेरै प्रयास गरें तर पाइन ।
कलाक्षेत्रमा अहिले पनि निरन्तर लागिरहनु भएको छ ?
लागिरहेको छु नी । २०७२ मा मैले एउटा म्यूजिक भिडियो बनाएँ । मैले अर्को आधुनिक गीत रेकर्ड गरिसकेको थिएँ । मेरो रुची आधुनिक गीतमा हो । ०७० मा मैले संगीत सिकें । बालाजुको सारेगम कला केन्द्रमा २ वर्ष संगीत सिकेको हुँ । हामीले हाम्रा गीतहरू एमएम रेडियोहरूमा पनि बजाउन दियौं । सिआरबिटी, पिआरबिटीमा पनि दर्ता गरेका थियौं । ती गीत अहिले पनि युटुवमा सुन्न सकिन्छ । २०७२ सालमा प्रमोद खरेलको ‘हारेपछि’ गीतमा पनि मोडल गरें । त्यसपछि बिचमा भुकम्प आदीले गर्दा यो क्षेत्रमा खट्न गाह्रो भयो । त्यसपछि ‘तरंग’ चलचित्रमा खेल्ने मौका पाएँ । यसको ‘च्यारिटी सो’ भयो तर यसलाई युटुवमा अझै राखिएको छैन । यता तिजको ३ वटा गीतमा पनि खेलेको छु । ती रामचन्द्र काफ्लेले गाएका गीत हुन् ।
उसो भए भावी योजना के छ नी ?
अब चाहिँ अलि छिटो लयको गीत रेकर्ड गर्ने सोंच छ । तयारी पनि चलिरहेको छ । मलाई खासगरी आधुनिक गीत गाउन रुची छ । पेशालाई पनि नछोड्ने र संगीत क्षेत्रलाई पनि अगाडी बढाउने सोच छ । किन कि कलाकारिता क्षेत्र मेरो लागि बिर्सनै नसकिने क्षेत्र हो ।
यो क्षेत्र नाम कमाउने क्षेत्र कि दाम कमाउने क्षेत्र हो भन्ने लाग्छ ?
यसमा नाम र दाम दुवै छ । तर के कति लाग्ने भन्ने कुरा चाहिँ लाग्ने व्यक्तिमा भर पर्छ । आफ्नो मेहनत र प्रस्तुती नै त्यस क्षेत्रमा प्रगतीको आधार हो ।
तपाईंको अबको योजना के छ नी ?
गीत–संगीतको क्षेत्रलाई माया मार्न सकिन्न । यसमा विस्तारै भएपनि निरन्तररूपमा लाग्ने योजना छ ।
राज्यले तपाईं जस्ता कलाकारलाई केही राहत दिएको छ त ?
राज्यले हामीलाई केही सहयोग गरेको छैन । राज्यबाट माया, ममता पाएका छैनौं । हामीलाई राज्यले देशको गहना भनेर मानेको मात्रै हो । यो गहनालाई कसरी सिंगार्ने र संरक्षण गर्ने भन्ने सरकारको योजना छैन ।
गणतन्त्र व्यवस्थाले पनि केही दिएन नी ?
हो, यो व्यवस्थाले हामी जस्ता कलाकारलाई केही दिएन । गणतन्त्र व्यवस्थामा त अवस्था जटिल पो छ त । कसैले कसैलाई केही सहयोग गर्ने माहोल नै बनेन ।
यो क्षेत्रमा देखा परेका विकृतिहरुलाई कसरी हटाउन सकिएला ?
प्रवृत्ति गलत भयो भने मानिसहरु गलत कामतिर मोडिन्छन् । यही क्षेत्रमा एकदम राम्रा सर्जकहरू पनि छन् । केही नराम्रा पनि छन् । थोरै नराम्रोले गर्दा धेरै राम्रोलाई असर पर्दछ । त्यस्तो हुनबाट रोक्नु पर्छ । यो क्षेत्रमा लाग्नका लागि मानिसलाई हौसला पलाउने खालको अवस्था हुनु पर्दछ । यसो गर्दा इज्जत र मानिसको सुरक्षा पनि बढ्छ । अनि मात्र काम र सम्मानको कुरा आउँछ, नत्र गाह्रो हुन्छ ।
पल शाह र समिक्षाको घटनालाई कसरी बुझ्नु भएको छ ?
पल सुरुमा गीत संगीतमा लागेको र पछि मात्र फिल्मी क्षेत्रमा आएका मानिस हुन् । निरन्तर यही क्षेत्र लागिरहँदा बिस्तारै उनको क्षमता बढ्यो । त्यसैले चर्चित पनि भए । मिडियामा पनि चर्चा भयो । आफ्नै मेहनतका कारण व्यवसायिक कलाकारका रूपमा स्थापित भए । यो घटनामा उनको गल्ती हुन सक्ला वा नहुन पनि सक्ला । अहिले भन्न मिल्ने कुरा छैन । उता समिक्षाले पनि आफ्नो विनास हुनेगरी यस्तो कुरा नउठाउनु पर्ने हो । किन कि यस्ता कुरामा अर्काको बेइज्जत गर्नखोज्दा आफ्नो पनि बेइज्जत भइरहेको हुन्छ । किन कि उनी छोरी मान्छे पनि हुन् । यस्तै कारणले भोली उनको विहे पनि नहुने अवस्था आउन सक्छ, उनका दर्शकले पनि राम्रो नमान्लान् । यस्ता कुरा समिक्षाले ख्याल गर्नु पर्दथ्यो । कसैले कसैलाई फसाउन पो उनलाई प्रयोग गरेको हो कि ? यसै भन्न सकिने अवस्था छैन ।
कलाकारिता क्षेत्रमा हुने कपीराइटलाई कसरी नियन्त्रण गर्ने, छाडा खाले शब्दलाई कसरी कम गर्ने ?
यसलाई नियन्त्रण गर्न राज्यले संरचनाउनु पर्छ । जसरी भ्रष्टाचार रोक्न आयोग बनाइएको छ त्यसैगरी गीत–संगीत क्षेत्रमा देखापरेका समस्यालाई हटाउन त्यस्तै संयन्त्र बनाउनु पर्छ । छाडा दृश्य र शब्द नियन्त्रण गर्न एउटा संस्था बनाउनै पर्छ । जसले चलचित्र विकास बोर्डको जस्तै काम गर्ने अधिकार पावस् । यसो गर्दा मानिसमा रहेको अहमता कमजोर भएर जान्छ र यो क्षेत्र शुद्ध बन्दछ ।
यसो किन हुन नसकेको होला ?
यस क्षेत्रका मानिस जो अगाडि छन् नी, उनीहरुलाई आफूले ठिकै गरेको छु भन्ने लागेको हुनसक्छ । त्यस्ता शब्द राख्दा बढी भ्यूज आउँछ र पैसा कमाइन्छ भनेर उनीहरूले त्यस्तो गरेका हुन् । नाम र दामको लागि यस्तो गरिएको हो । तर यो विषयमा र यो क्षेत्रमा लागेका ठूला मानिसलाई यो कुरा राम्रोसित थाहा छ । थाहा पाएर पनि खासै काम गरेको देखिन्न । हो, मैले भनेका यी कुरालाई नियन्त्रण गर्न सकियो भने गीत–संगीतको क्षेत्र झन राम्रो भएर आउनेछ, किन कि यो क्षेत्रमा लागेर गलत तरिकाले कमाउन र जमाउन सकिन्छ भन्ने खराब मान्छेले नै यो क्षेत्रलाई बद्नाम गरेका छन् ।
युटुव र फेसबुक जस्ता प्रविधिले कलाकारितालाई कत्तिको सहयोग पुर्याएका छन् ?
प्रविधिको विकासले कलाकारलाई स्थापित हुन र आफ्नो सृजना सुरक्षित गर्ने र कमाउन पनि धेरै सहयोग गरेको छ । आफ्नो प्रतिभा देखाउन पनि सजिलो भएको छ । सानो लगानीमा पनि आफ्नो काम आफूले देख्न र देखाउन पनि सजिलो भएको छ । यो पक्ष निकै राम्रो हो ।
अन्तमा केही भन्नु छ त ?
मेरो जीवन र पेसासित जोडिएका धेरै विषयलाई दर्शक तथा पाठकसामु लगिदिने प्रयास गरिदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु ।