• मंसिर ११ २०८१, मंगलवार

स्थानीय निर्वाचन प्रभावित पार्ने नारा नबनोस् मेलम्ची !

फाल्गुन ३० २०७८, सोमबार

स्थानीय निर्वाचनको मुखैमा आएर मेलम्चीको पानी काठमाडौं भित्र्याइने हल्ला चलिरहेको छ । मेलम्ची साइटमा निर्माण कार्य पनि चलिरहेको छ । काठमाडौं उपत्यका भित्रिइसकेको पानी गत असारमा आएको बाढीपहिरोका कारण रोकिएको थियो ।

सुरुङ मर्मत र निर्माण कार्यलाई गति दिएर मेलम्चीको खानेपानी यही चैत्रमहिनाभित्र काठमाडौं उपत्यकाका ल्याइसक्ने तयारीमा सरकार लागिरहेको भनिए पनि समयमै यो काम सकिएला भन्नेमा आशंका हटिसकेको भने छैन । बरु यसलाई स्थानीय चुनाव प्रभावित पार्न गरिएको हल्लो पो हो कि भनी आशंकाको नजरले पनि हेर्न थालिएको छ ।

तर पनि बाढी पहिरोले क्षति पुर्याएको ठाउँमा मर्मत तथा पुनर्निर्माण कार्यले गति भने लिइरहेको देखिन्छ । कामलाई तीब्रता दिनका लागि मेलम्ची सुरुङमा जम्मा भएको गेगर, माटो र चट्टानले बाधा पुर्याइरहेको छ । हालसम्म पानीको मुहानमा जम्मा भएका ठूला चट्टान बिस्फोटक पदार्थको प्रयोग गरी हटाइसकिएको पनि छ ।

तर सरुङ भित्रका चट्टान भने त्यसरी हटाउन संभव छैन । आयोजनाले दिएको जानकारी अनुसार अहिलेसम्म ६० हजार मेट्रिक टन यस्ता ढुंगा र माटोसहितको गेगर हटाइसकिएको छ । यसले भनेकै समयमा मेलम्चीको पानी काठमाडौं उपत्यका भित्र्याउन सकिने संभावना देखाएको छ । क्षति पुगेका ठाउँमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो र नेपाली सेनाले कामलाई गति दिइरहेका छन् ।

बिस्फोटक पदार्थ र यसको प्रयोगमा नेपाली सेनाले सहयोग गरिरहेको छ । कम्पनीका अनुसार अहिले लगभग ६० प्रतिशत काम भैसकेको भनिनु ठूलो उपलब्धी पनि हो । नेपालमा यसरी काम हुन थालेको यो सरदरमा राम्रो पनि हो ।

तर पनि चैत्र महिनाभित्रै काठमाडौं उपत्यकामा पानी ल्याइपुर्याउन नसकेमा यो विषय फेरि स्थानीय निर्वाचनको ‘मसला’ बन्न जाने संभावनालाई पनि नकार्न सकिदैन । विकासमा सधैं राजनीतिकरण हुँदै आएको हुनाले पनि फेरि मेलम्ची खानेपानी कतै स्थानीय निर्वाचनको नारा पो बन्न जान्छ कि ?

संघीय तथा प्रादेशिक निर्वाचन अझै बाँकी छन् । यता मेलम्चीको काम पनि लम्बिदै जाने उता उही विषय आगामी निर्वाचनको नारा बन्दै र बनाउँदै लगिने पनि हुन सक्छ ।

तर पनि आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने गरी काम थालिएको प्रति भने जनता केही बढी आशावादी रहेका छन् ।

चैत्र महिनाभित्रै काठमाडौं उपत्यकामा पानी भित्रिए पनि वर्षा सुरुभएसँगै केही महिनाका लागि खानेपानीको सुरुङ बन्द गरिनुपर्ने बाध्यता भने अहिलेको बाढीपहिरोले सिकाइसकेको छ ।

मर्मत र निर्माण कार्य समयमै सम्पन्न हुन सक्ला वा नसक्ला, यद्यपि काम पनि सम्पन्न भैसक्ने वा वर्षा पनि सुरु हुने भएपछि मेलम्चीको पानी फेरि एक वर्षका लागि राजनीतिक नारा, आश्वासन, गीत, व्यंग र कथा र कविताका विषवस्तु बन्न जानेमा कुनै शंका छैन ।

नेपालमा विकास निर्माणका काम सधैं ढिला हुने, भनेको समयभन्दा दोब्बर समय लिने र कतिपय काम त त्यत्तिकै रहने भएकाले पनि योजना निर्माणको प्राथमिकीकरणसँगै राष्ट्रिय गुरुयोजना निर्माणको थिति बसालिएको हो ।

यो अवधारणासँगै राष्ट्रिय गौरवका आयोजनाहरुले नेपालमा प्राथमिकता पाउँदै गएका पनि हुन् । तर राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि भने त्यही अनुसारको निर्माण सामग्री, दक्ष जनशक्ति र तयारी रहेको देखिदैन ।

यसले गर्दा मेलम्चीजस्ता आयोजनाहरु बन्ने र भत्कने गरिरहेका छन् । योजना निर्माणमा दूरदृष्टिको कमीका र स्वयम् योजना कार्यान्वयनमा लापरवाही, कमसल सामग्रीको प्रयोग, उचित अनुगमनको अभाव, कमिसनको खेल र बिचौलियाको रजगजका कारण देशमा राष्ट्रिय गौरवका आयोजनाले मूर्तरुप धारण गर्न सकिरहेका छैनन् ।