काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । सिंहले निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेका दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् ।
११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले ३ सय ३७ मत पाउँदा कोइरालाले ३२ मत मात्रै ल्याए ।
वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङ्दोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् ।
लामाले ५ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी धिरेन्दर दाहालले २ सय ८९ मत प्राप्त गरेका थिए । महासचिवमा रोशन दाहालले ७ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी वासुदेव उप्रेतीले १ सय ७२ मत मात्रै ल्याए ।
उपाध्यक्षमा भने पाण्डे समूहको वर्चश्व देखिएको छ । एसोसिएट उपाध्यक्षमा रामजी पन्त, प्रदेश १ बाट उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेमराज मल्ल निर्वाचित भएका छन् । निर्वाचित पाँचै जना उपाध्यक्ष पाण्डे प्यानलका हुन् । यस्तै उप महासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, मधेस प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भए ।
उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष हिरान श्रेष्ठ र सहकोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।