• असार २५ २०८१, सोमबार

घोराहीमा ट्रेमा राखेर चिया दिने सभ्यताको विकास हुँदै

फाल्गुन २९ २०७८, आईतवार

घोराही, २९ फागुन ।
सोकेस भित्रबाट बेञ्चमा बसेका ग्राहकलाई दाङ घोराही डेरी घोराही–१५ शिववस्तीका शक्ति पौडेलले  ट्रेबाटै चिया दिनुहुन्छ । खाली गिलास  ट्रेमा राखेपछि चिया हाल्नुहुन्छ त्यसपछि हातले छोइंदैन । जसले पिउने हो उसले मात्रै आफ्ना हातले समातेर चिया पिउने गर्छन् ।

उहाँसँगै श्रीमती गंगा पौडल वा परिवारका अरु सदस्यले पनि त्यसरी नै ग्राहकलाई चिया दिने गर्नुहुन्छ । बाहिर पेटीमा बसेका ग्राहकलाई त्यहिँ लैजाँदा पनि  ट्रेमै लगेर आफ्नै हातले तान्ने सुविधा हुन्छ । कसैले बसाल्दिनुस् भनेको बाहेक डेरी सञ्चालक आफैले गिलास छुँदैनन् ।

ग्राहकले देखिने गरी पकाउने ठाउँ छ । त्यसैले भान्साको सरसफाई ग्राहकले सजिलै देख्न सक्छन् । अरु नास्ता नपाक्ने भएकाले तेलको खार सुँघ्नु पर्दैन । खुर्सानी जलेको सहनुपनि परेको छैन । यसरी ग्राहकले कसैले नछोएको चोखो गिलासबाट निर्धक्कसँग चिया पिउन पाउँछन् ।

यसैगरी मेवाड आईसक्रिम तथा कफि सप घोराही–१४ मा पनि चिया पिउने गिलास समातिंदैन । एक कप चिया दिँदा समेत सञ्चालक सविता न्यौपाने पोख्रेल ट्रे नै प्रयोग गर्नुहुन्छ । अलि धेरै कप एकैचोटी लैजाँदा झन् ट्रेको विकल्पै रहेन । जस जसले चिया पिउने हो उनीहरुले आफ्ना हातले फटाफट निकाल्छन् । कसैका हात नलागेको चोखो चिया पिउँछन् ।

विद्यालयहरुमा ओमिक्रोन कोरोनाको प्रभावका डरले सरकारले बन्दको घोषणा गरेपछि पनि चियाका पारखीले पत्याएनन् । बस्ने, गफ गर्ने र चिया पिउने काममा न कसैले अवरोध गरेको थियो न त डर हुन्थ्यो । चल्तीका चिया पसलहरु पूर्ववत अवस्थामै सञ्चालनमा आएका थिए । यतिबेला कोरोनाको सन्त्रास लगभग हटिसकेको छ । सबै क्षेत्रमा सामान्य अवस्था बनि सकेको छ ।

यस पटकको ओमिक्रोनसम्म आईपुग्दा केहि चियापसलहरुले सिसाको गिलासमा दिनै छोडेका छन् । त्यसरी सरसफाइमा ध्यान दिनेमा रोजी डेरी लगायत केहि छन् । सरसफाइमा बेसी महत्य दिएको स्वाथ्य क्षेत्रमा लामो अनुभव संगाल्नु भएका घनश्याम पौडेलको भनाई छ । कतिपय ग्राहकले शिसा एवम् स्टिलको गिलासमा चिया पिउनै मान्दैनन् । उनीहरुले कागजको गिलासमा खान्छन र फाल्छन् ।

त्यसलाई हातले समातेर पुर्याउन पनि मिल्दैन । ट्रेय चाहिन्छ । त्यससँगै अर्काको हातले छोएको गिलास ओठमा च्याप्न घिन मान्नेको जमात पनि बढेको छ ।

चियामा चिनीको मात्रा मिलाउन नसक्ने, कतिबेर पकाउनुपर्छ भन्ने नजान्नेहरुपनि चिया पसल खोलेर बसेका छन् । उनीहरुलाई अरुले सिधै ओठले च्याप्ने गिलास हातले छोइदिनुहुन्न भन्ने ज्ञान पनि छैन । केहिले हातले घोप्टो पारेर माथिबाट समात्छन् । हत्केलामा भएको फोहोर झर्न सक्छ । हातमा लागेको फोहोर गिलासमा खस्न सक्छ । त्यसमा ध्यान नदिएरै गिलास समात्छन् । त्यस भन्दा बढि असभ्य र फोहोरी बानी मानिन थालेको छ ।

पुछो लगाएका, टेबुल पुछेका, थुक लगाएर पैसा गनेका, चुरोट पिएका सुर्ति कोचारेका, टाउको कन्याएका, शरीरका कपडा छोएका हातले चियाका गिलास हातले समात्नु भनेको फोहोर खुवाउनु हो । यहि कुरा बुझेका चियापसलहरुले हातले गिलास समात्न छोडेका छन् । उनीहरु चिया ट्रेमा राखेर दिन्छन् । धेरैले ट्रेय प्रयोग गर्दै जाँदा सभ्यताको रुपमा स्थापित भएको छ । यसलाई सबै चिया पसलमा अनिवार्य बनाउनुपर्ने सरसफाई अभियान्ताहरुको भनाई छ ।