• फाल्गुन २७ २०८१, मंगलवार

खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई, २१ लाख नगद प्राप्त

फाल्गुन २८ २०७८, शनिबार

कैलाली ।  सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियनको उपाधी जित्न सफल भएको हो।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए। खेलको २२ औं मिनेटमा दिनेशले फ्रि-किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन्।उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए । तर, ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याए।

खेलको ७२ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३-१ को जित दिलाए।

यो जितसंगै मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको छ ।