बैङ्लोर गएको डेढ महिना भएको थियो । रातको बाह्र बजे सुनैनाको फोन आयो । त्यतिबेला रञ्जित पुस्तक पढिरहेको थियो ।
‘अझै सुतेकी छैनौ सुनैना ?’ फोन रिसिभ गर्दै सोध्यो रञ्जितले ।
‘कहाँ सुत्नु १ एक घण्टा अघिसम्म पढ्दै थिएँ, किताब मिल्काएर ओछ्यानमा पल्टिएँ । मरिगए निद्रा परेन । तपाईंको झझल्को आइरह्यो ।’
‘मेरो पनि अवस्था त्यस्तै छ । खाना खाएर नौ बजे सुतेँ । निद्रा आएन, उपन्यास पढ्न थालेँ ।’
‘मलाई सम्झिनुभो ?’
हो तिमीलाई नै सम्झिएँ । नयाँ ठाउँ, नयाँ वातावरण । दिन कसरी बिताएकी हौली भन्ने सोचेँ ।
‘म पनि तपाईं कसरी बस्नुभएको होला भन्ने सोचिरहन्छु ।’ यताको चिन्ता नलेऊ । म ठीक छु । व्यवसाय पनि राम्रो चलिरहेको छ । सायद मोहनजी पनि काठमाडौँ बस्ने गरी आउनुहुनेछ ।
‘सुखद भविष्यको सपना सजाएर आएँ । तपाईंले पनि नजा भन्नु भएन । कहिलेकाहीँ किन आएछु जस्तो लाग्छ ।’
’सधैँको लागि बिछोडिनु पर्दा त सहनु पर्छ । यो त केही वर्षको लागि हो । बिदामा आईराख्न पाइन्छ । विद्या आर्जन गर । धेरै मित्र कमाऊ । मेरो शुभकामना छ ।’ ‘सुरुसुरूमा त घुलमिल हुनै गाह्रो भो । मैले भनी केही साथी बनेका छन् ।’
रञ्जित र सुनैनाले झन्डै एक घण्टा कुरा गरे । पन्ध्र दिनपछि सुनैनाले फेरि रातको समयमा फोन गरी । सुनैना आफ्ना कुरा नलुकाई भन्ने स्वभावकी थिई । ‘कलेजका केही केटाहरु उद्दण्ड छन् । तिनीहरूले एकदिन ममाथि उच्छृङ्खल व्यवहार गर्न खोजे । चार जना केटाहरु पछिपछि आए ।’
यौटाले भन्यो ‘ओ मञ्चली’
अर्कोले थप्यो । ‘मञ्चली नहीँ हिमचुली । तु जानता नहीं ए लडकी नेपाली है ।’
‘इसिलिए तो ये इतना खुब सुरत है । तेस्रो चाहिँले भन्यो । चौंथो केटाले गीत गाउँदै बाटो छेक्यो, ‘तु चिज बडी है मस्तमस्त ।’ मैले कलेज प्रशासन समक्ष उजुरी गरेँ । ‘ऐसी हरकत दोबारा करोगे तो नतिजा बहुत बुरा होगा । सरले
चेतावनी दिनुभयो ।’
केटाहरुले माफी मागे ।
‘होसियार रहनू । गलत साथीको सङ्गतबाट बच्नू । साथीहरू कस्ता छन् ?’
‘यौटी अविवाहित केटी नजिक हुन खोज्दैछे । हसिना नाम हो उसको । हसिना मलाई एकछिन छोड्दिन । बोल्न पाएपछि पेटको सबै ओकल्छे । भन्छे, ‘मलाई यौटा केटाले फ्लो गर्छ । म पनि उसलाई माया नगर्ने त काँ हुँ र तर मलाई तड्पाइ तड्पाइ सिकार गर्नमा मजा आउँछ । उसले मलाई तँ पनि प्रेम गर भन्छे । मेरो त विवाह भैसकेको छ, मैले भन्दिएँ । उसले पत्याइन ।’
अरु के भन्छे त्यसले ?
‘भन्छे, ये जेन्डर इक्विटीका जमाना है । तुम यहाँ, वो उहाँ । तुम्हे क्या मालुम तूम्हारा हस्वेण्ड उहाँ क्या कररहा है । म उसका कुरा एउटा कानले सुन्छु अर्को कानले उडाइदिन्छु ।’
‘त्यो केटी सङ्गत लायक छैन । अर्को कुरा पनि भन्छु सुन्नुस् । एक दिन हसिना र म सँगै
हिँडिरहेका थियौँ । हामीलाई पढाउने अमित नाम गरेको सर आउँदै थियो ।’
‘सर नजिकै आएपछि उसले भलल्गर गीत गाउन सुरु गर्यो । हामीतिर फर्केर मुसुक्क हाँस्यो । हसिनाले गीत गाउने म हैन ऊ हो भन्ने जानकारी दिन बुढी औंला फर्काएर मलाई देखाई ।’ मैले भनिसकेँ, त्यो केटी तिम्रो सङ्गत लायक छैन । त्यसलाई छोडिदेऊ ।’
‘म पनि त्यही सोच्दैछु ।’
पैसा चाहिएको छ कि ?
‘अहिले आवश्यक छैन । चाहिए भनूँला ।’ सुनैनाले भनी । फोन वार्ता सकियो । ऊभित्र हसिनाका उट्पटयाङ् कुरा खेल्न थाले
‘लोग्ने उहाँ, तँ यहाँ । के थाहा तेरो लोग्ने के गर्दैछ ? यो जेन्डर इक्विटीको जमाना हो । लोग्ने घोडा चढ्छ भने तँ पनि घोडा चढ् । लोग्ने स्विमिङ गर्छ भने तँ पनि स्विमिङ गर, म विवाहित हुन्थेँ भने त्यसै गर्थे ।’
‘मेरो सादा जीवनमाथि सुनैनाकी साथीको कस्तो कुरुप मजाक ।’ कतै सुनैना गलत सङ्गतमा परी धोका खाई भने ?
बिहानको चिया पिउँदै गर्दा मेसेन्जरमा एकजना शुभचिन्तकको सन्देश आयो । मित्रले विश्वविख्यात हास्यकलाकार चार्लि च्याप्लीनको जन्म तिथिको अवसरमा उसका हृदयस्पर्शी भनाइ सम्प्रेषित गरेका थिए ।
‘दुःख होस् या सुख । स्थायी केही छैन । जीवन आनन्दपूर्वक बाँच्नका लागि हो । जति नै कठिनाइ आइ परून् मुस्कुराउन नछोड । बाँच्ने आजै हो । वर्तमानमा रमाऊ । जीवन पुनः पाइने विषय होइन ।’
यौटा असल साथी एक असल औषधी बराबर हुन्छ । एक असल मानिसहरूको समूह एक उत्कृष्ट औषधी भण्डार समान हुन्छन् ।
‘म झरीमा हिँड्न मन पराउँछु । किन कि त्यतिबेला मेरो आँसु कसैले देख्न सक्ने छैन । जुन दिन म हाँस्दिन त्यो दिनलाई खेर गएको दिनमा गणना गर्छु ।’
‘यौटा असल साथी एक असल औषधी बराबर हुन्छ । रञ्जितले कस्तै परिस्थितिमा पनि अरुलाई हँसाइरहने विश्वविख्यात कलाकार चार्लि च्याप्लीनका शब्द सुनैनालाई फरवार्ड गर्यो ।’
यसरी नै महिना, दुई महिना हुँदै छ महिना बिते । फोनको अलावा सुनैना र रञ्जित इमेलमा पत्राचार गर्थे । कहिले मेसेन्जरमा च्याट चल्थ्यो ।
बिस्तारै यो क्रम पातलो हुँदै गयो । सुनैना सम्पर्क बाहिर हुन थाली । सम्पर्क गर्न खोज्दा कहिले बिजी छु भन्थी त कहिले फोन नै उठाउँदैन थी । रञ्जित सुनैनासँग सम्पर्क बाहिर रहनुपर्दा मुडअफ हुन्थ्यो । यता मोहनले स्कुल छोड्ने निश्चय गयो । शारदाले पनि काठमाडौँ जाँदा उचित हुने सल्लाह दिई । मोहन र शारदा नयाँ किरण माध्यमिक विद्यालय छोडेर काठमाडौं जाने भए । मोहन र शारदाको जीवनमा आएको नयाँ मोडको पूर्वसन्ध्या थियो यो । विद्यालय छोड्ने अघिल्लो रात शारदाले घलेगाउँ जाने चाहना देखाई । उसले घलेगाउँको बारेमा पत्रपत्रिका र रेडियो टेलिभिजनबाट जानकारी पाएकी थिई ।
‘घलेगाउँ निकै सुन्दर छ भन्छन् । देशविदेशबाट प्रशस्त मानिस घुम्न आउँदा रहेछन् । हामी भने अहिलेसम्म गएका छैनौँ । काठमाडौँ जानुअघि घलेगाउँ जाऊँ । उसले भनी । घलेगाउँ जाने विषयमा दुवै सहमत भए ।’
मोहन र शारदाले विद्यालय छोड्ने दिन बिहान ठुलो सङ्ख्यामा गाउँलेहरु भेला भए । कसैले खादा लगाइदिए त कसैले फूलको माला । विद्यालय परिसर शुभेच्छुकहरूको भीडले भरियो । जून पार्टीको स्थानीय नेता अभियानले पनि फूलमाला लगाइदियो ।
‘काठमाडौँ गए पनि यो ठाउँलाई माया मार्न पाउनुहुन्न । संसदीय चुनाव आउँदैछ । आउँदो निर्वाचनमा सर हाम्रो पार्टीको तर्फबाट चुनाव लड्नुपर्छ । स्थापित पार्टीसँग जनताको मोहभङ्ग भैसक्यो । जनता नयाँ पार्टीको खोजीमा छन् । सर उठ्नुभो भने जित सुनिश्चित छ । हामी जिल्ला र केन्द्रका नेतालाई भन्छौँ । केही वर्षअघि गठन भएको जून पार्टीको स्थानीय नेता अभियानले भन्यो ।
शुभेच्छुकहरूको शुभकामना ग्रहण गर्दै मोहन र शारदा घलेगाउँको यात्रामा निस्किए । जाँदाजाँदै चन्द्रप्रसाद र रमासँग बाटोमा जम्काभेट भयो । चन्द्रप्रसाद र रमा चन्द्रकोटे साहुको घरमा सप्ताह सुन्न जाँदै थिए । शारदालाई आमासँग बोल्न मन लाग्यो ।
‘आमा’
शारदाले टाढैबाट बोलाई । रमाले छोरीको मुखमा पुलुक्क हेरी ।
‘हामी काठमाडौँ बस्ने गरी जान लागेका ।’ शारदाले भनी । रमा टक्क रोकिई तर चन्द्रप्रसादले हात समाएर तान्यो ।
खुरूखुरू हिन् । शुभ कार्यमा जाँदा अछुतसित बोल्न हुन्न । उसले भन्यो ।
रमा शारदालाई हेर्दै लोग्नेको पछिपछि लागी ।
मोहन र शारदा बेंसीसहर पुगे । बेंसीसहरमा घलेगाउँ जाने जिप यात्रुको पर्खाइमा थियो । दुबै जिपमा चढे । दुई अढाई घण्टाको यात्रापछि उनीहरु घलेगाउँ छेउमा पुगे । आसपासको प्राकृतिक सुन्दरता मन लोभ्याउने खालको थियो । शारदाले बयान गर्न थाली ।
‘घलेगाउँका बारेमा धेरै पहिलेदेखि सुनेकी थिएँ तर आउने सौभाग्य मिलेको थिएन । आँखा उठाएर हर्नुस् त । पूर्वदेखि पश्चिमसम्म लमजुङ, गणेश, मनास्लु र माछापुछ्रे हिमालको मनै लोभ्याउने दृश्य । कति मनमोहक छन् ती हिउँचुलीहरु ।’
‘जङ्गलभित्र लुकामारी खेल्दै गरेको पहाड, घरि यता घरि उता बुर्कुसी मार्दै दौडिरहेका मृगका बथान । छिनछिनमा परिवर्तन भैरहने मौसम, सुन्दर घनपोखरा गाउँ, नागवेली खेल्दै बगेका मिदिम र खुदी खोला । स्वर्गको प्रतिबिम्ब हेर्नु छ भने घले गाउँ आउनू ।’ मोहनले पनि खुसी पोख्यो ।
कुरैकुरामा अन्तिम मुकाम आइपुग्यो । सबै यात्रीहरु जिपबाट ओर्लिए ।
कच्ची बाटोको यात्रा । तर शरीरमा थोरै मात्र पनि थकान छैन । शारदा दङ्ग थिई ।
‘घलेगाउँ बारे थप सुन शारदा । गुरूङ र घले समुदायको बसोवास रहेको यो गाउँ समुद्र सतहबाट एक्काइस सय मिटरको उचाइमा रहेको छ । यहाँको भूगोल अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्छ । कृषि र पशुपालनलाई प्रमुख पेसा बनाएका यहाँका बासिन्दाहरूमा बेलायती र भारतीय सेनामा भर्ती हुने पुरानो परम्परा छ । यहाँका मानिस भेडाबाखाको ऊनबाट राडी, पाखी र बख्खु आदि तयार पार्छन् । बाँसको चोयाबाट डोको, नाम्लो, थुन्से, भकारी बुन्छन् । छ सय वर्ष पुरानो यो गाउँमा बाइसे चौबिसे राज्य छँदा घले राजाहरूको शासन गर्थे रे ।’ मोहनले घलेगाउँको भौगोलिक अवस्थिति र ऐतिहासिकता बारे छोटो जानकारी दियो ।
गाउँ पस्नुअघि पर्यटकहरुको स्वागत गर्ने प्रचलन अनुसार परम्परागत पोसाकमा सजिएका स्थानीयवासीहरुले यात्रुलाई सामुदायिक भवनमा स्वागत गरे । त्यसपछि आआफ्नो घर लिएर गए । मोहन र शारदा गमबहादुरको पछि लागे ।
मनोरम प्राकृतिक छटाको रसस्वादन गर्दैमा साँझ पर्यो । खाना खाने बेला भयो । अन्दाजी पचास–पचपन्न जतिकी गमबहादुरकी श्रीमतीले खाना पस्किई । उसको बोली मिठो थियो ।
बाबु नानीहरु ! तिमरले दालभात तरकाली त सधैं खाएकै होला । आज मैले नयाँ कुरा पकाको छ । बन तरूल र सिस्नोको तरकाली । टिमुरको अचार । कोदोको ढिंढो रा लोकल कुखुराको मासु । घले–गुरूङको घर आयो के दियो यस्तो भनिर नभन् । यस्तो खानिकुरा तिमेरको घरमा पाम्देन । लेखमा आइपुक्यो, दालभात महको होला भन्ने पिनि नठान् । सबै जिनिस तलबाटोई ल्याम्ने हो । तैपिनि धेरै महको छेन । दशबिस रूपे बेसी पर्ला । सहरको तरकाली विष खानु बराबर भन्नी सुन्त्यो । तरा हाम्ले ता तरकालीमा बिकासे मल, ओखिति क्यै हाल्दैन । भोकाइर आको होला, लाज नमानी खाऊ, खानेकुरा दिँदै उसले भनी ।’
शारदा र मोहनले गुरुङसेनी दिदीले दिएको खाना मिठो मानेर खाए । राति घर मुली गमबहादुरले रोदी घर लिएर गयो । गुरुङ संस्कार र संस्कृतिको अवलोकन गर्न आएका पर्यटकहरु रोदीघरमा भरिभराउ थिए । परम्परागत पोसाकमा सजिएका महिला तथा पुरूषहरूले गुरूङ र नेपाली भाषाका थुप्रै गीत गाए । युवायुवतीको दोहोरी पनि चल्यो ।
बाहिर चिसो हुँदाहुँदै घरभित्रको वातावरण तातो थियो । दुर्गम ठाउँ भए पनि सुविधा राम्रो थियो । त्यस रात मोहन र शारदालाई गहिरो निद्रा पयो ।
बिहान भयो । पूर्व लाल हुँदै उठ्यो । हिमालमा सूर्यका रश्मिहरू संसारको आठौं आश्चर्यको झल्को दिने गरी पोखिए । यस्तो लाग्थ्यो हिमाल सोह्रशृङ्गार गरेकी सुन्दरी दुलही हो जो शिरदेखि पाउसम्म सुनैसुनको गहनामा सजिएकी छ ।
नियमित तालिका अनुसार पहाडको खोचबाट लालपिण्ड उदियमान हुँदै गयो । प्रकृति र उषा बिचको प्रेमालिङ्गन जति हेयो त्यति हेरूँहेरुँ लाग्ने खालको थियो । मोहन र शारदा प्रकृति र उषा बिचको डेटिङ हेर्न सबेरै घर बाहिर निस्के ।
बिहानको साँढे छ बज्यो । हरेक बिहान एफएमबाट समाचार ।
टिप्पणी सुन्नु मोहनको आदतजस्तै थियो । उसले मोबाइलको स्पिकर अन गर्दै रेडियो ट्युन गयो । समाचार वाचिका ललिताले त्यस दिन गोरखापत्र दैनिकमा प्रकाशित लेख पढन थाली ।
आज जेठ २१, अर्थात् नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन । दुई हजार त्रिसठ्ठी साल जेठ एक्काइस गते आजकै दिन नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको थियो । नेपालमा झन्डै बिस प्रतिशत जनसङ्ख्याको हिस्सा ओगटने दलित समुदायको बसोवास रहेको छ । नेपालको संविधान दुई हजार बहत्तरको धारा चौबिसमा जातीय भेदभाव तथा छुवाछुत विरूद्धको हक उल्लिखित छ । तर यही बिचमा काभ्रेको अजित मिजारले पराजुली थरकी केटीसँग विवाह गर्दा निजको रहस्यमय मृत्युभयो । उनको शव धादिङस्थित राजमार्ग छेउको पाटीमा झुन्डिएको अवस्थामा फेलापर्यो । दैलेखका सेते दमाईको छोराले अन्तरजातीय विवाह गरे । त्यही निहुँमा सेतेको हत्या भयो । परिवार विस्थापित हुन पुग्यो । अँगेनो छोएको निहुँमा कालिकोटको मानवीर सुनारले कुटाई खानुपर्यो । त्यही बहानामा मानवीरको ज्यानसमेत गयो ।
नुवाकोटको राजु विश्वकर्माले राई युवतीसँग विवाह गर्दा असन्तुष्ट माइती पक्षले राजुलाई जुत्ताको माला लगाई टिन ठटाएर लखेटे । मोरङकी माया सार्कीलाई बोक्सीको आरोपमा जुत्ताको माला लगाई सहर घुमाइयो ।
गोरखापत्र दैनिकको लेख पढिसकेपछि ललिताले कान्तिपुर दैनिकमा प्रकाशित लेख पढी ।
देश छुवाछुत मुक्त राष्ट्र घोषणा भएपछिको अवधिमा कालिकोटका करवीरे सुनार, दैलेखका सेते दमाई, काभ्रेका अजित मिजार र लक्ष्मी परियार, सप्तरीका शिव मण्डल, ताप्लेजुङकी सुशीला विकको हत्या भयो ।
अर्घाखाँचीकी कक्षा दशमा पढ्ने पन्ध्रवर्षीया समिता नेपालीलाई स्थानीय युवा राजु अधिकारीले बलत्कार पश्चात हत्या गरे । कञ्चनपुरको सार्वजनिक मन्दिरमा दलितलाई पूजापाठमा रोक लगाइयो । ललितपुरको नख्खु कारागारमा बर्दियाका एक्काइस वर्र्षीय युवक भक्तबहादुर सुनारको नियोजित हत्या भयो ।
अन्तरजातीय विवाहका कारण हत्या गरिएका काभ्रेपलाञ्चोकका अजित मिजारको शव तीन वर्षदेखि काठमाडौँको टिचिङ अस्पतालमा रहेको छ । डोटीको छतिवनस्थित एक विद्यालयमा गैरदलित विद्यार्थीले ल्याएको पानी पिउनमा र दलित विद्यार्थीले ल्याएको पानी आँगन र शौचालय सफा गर्न प्रयोग गरियो ।
जाजरकोटको नायकबाडामा दलित केटी र गैर दलित केटा बिच विवाह गर्ने सहमतिपछि घरको दबाबमा परेर केटा सहमत भएन । त्यसपछि केटीले आत्महत्या गरिन् । सोही जिल्लाको खलंगास्थित राउत गाउँका एक जोडीले अन्तरजातीय विवाह गर्ने स्वीकृति नपाउँदा भेरी नदीमा हामफालेर आत्महत्या गरे ।
एफएमबाट प्रशारित लेख सुनिरहेकी शारदाले भनी ‘हाम्रोमा जस्तै भारतमा पनि संविधान बनाउन संविधानसभाको गठन भएको थियो । दलित विद्वान् डा. भीमराव अम्बेडकर संविधान
सभाका अध्यक्ष बनाइए तर आफै अध्यक्ष भएको संविधानसभाबाट निर्मित संविधानप्रति उनी सन्तुष्ट हुन सकेनन् ।
विकल्पको खोजीमा रहेका अम्बेडकर एक दिन दशौं हजारौं समर्थकका साथ सारनाथ पुगे र सामूहिक रूपमा बुद्ध धर्म ग्रहण गरे । सनातनदेखि मानिआएको हिन्दु धर्म त्यागी बुद्ध धर्म ग्रहण गर्नु पर्दा अम्बेडकरलाई कति सारो पीडाबोध भयो होला । हामी हिन्दु धर्म क्षयीकरण हुँदै जानुको कारण खोज्दै देश बाहिर पुग्छौँ तर यसो हुनुमा हिन्दु समुदाय भित्रको जातीय विभेद पनि कम जिम्मेवार छैन भन्ने कुरालाई चटक्क बिर्सन्छौँ ।’
रेडियो बजिरहेको थियो । कुराकानी छोडेर दुबै समाचारमा पुनः जोडिए । ललिताले अगाडि भनी ‘कार्यक्रममा आज मैले अर्को रोचक घटना जुटाएकी छु । पन्ध्र फेब्रुअरी दुई हजार छ को हिमालयन टाइम्समा छापिएको समाचारका अनुसार स्याङ्जा घर भएकी गीता अर्याल र चितवन निवासी बुद्धि विश्वकर्मा एचबिसी ९४ एफएममा काम गर्दथे । त्यही क्रममा उनीहरूको माया बस्यो । दुबैले नेपाल बार एसोसियसनको सभाकक्षमा अन्तरजातीय विवाह गरे ।
विवाह कार्यक्रमको आयोजक थियो दलित एनजीओ फेडरेसन । कार्यक्रममा मानवअधिकारवादी, पत्रकार र विभिन्न राजनैतिक दलका प्रतिनिधि सहभागी थिए । वर तथा बधूका आमाबाबु भने कार्यक्रममा उपस्थित थिएनन् ।’ बिहानको खाना खाएर उनीहरू गुरूङ सङ्ग्रहालय हेर्न गए ।
त्यहाँ गुरूङ जातिले परम्परादेखि प्रयोग गर्दै आएका खाना पकाउने भाँडा, कृषि कर्ममा प्रयोग गरिएका औजारहरु तथा लगाउने पहिरन सङ्गृहीत थिए ।
संग्रहालयबाट फर्किंदा विदेशी पर्यटकहरु घरको बलेसीमा उभिएर क्यामरा चलाइरहेका देखिन्थे । खैरेजनलाई ढिकीमा धान कुटेको र जाँतोमा कोदो पिसेको दृश्य रोचक लागिरहेको थियो ।