• फाल्गुन २६ २०८२, मंगलवार

भारतले प्रहार गरेको मिसाइल पाकिस्तानमा खस्यो, भारतले माग्यो माफी

फाल्गुन २८ २०७८, शनिबार

काठमाडौं । भारतले प्रहार गरेको मिसाइल पाकिस्तानमा खसेको छ । तर बुधबार खसेको एउटा उच्च गतिको मिसाइल गल्तीले प्रहार भएको भन्दै भारतले गल्ती स्वीकार गरेको छ ।

भारतको रक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘नियमित मर्मतसम्भार क्रममा प्राविधिक समस्याका कारण दुर्घटनावश मिसाइल खसेको’ उल्लेख गरेको हो ।

पाकिस्तानले उक्त घटनाबारे भारतीय राजदूतसँग सोधपुछ गरेपछि रक्षा मन्त्रालयबाट यस्तो प्रस्टीकरण आएको भारतीय अनलाइन स्क्रोल डटइनले लेखेको छ ।

घटनाप्रति माफी माग्दै रक्षा मन्त्रालयले भनेको छ, ‘यो दुर्घटनाबाट मानवीय क्षति नभएकाले हामीलाई राहत महसुस भएको छ ।’ यसबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिएको पनि मन्त्रालयको विज्ञप्तिमा छ ।

यसअघि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा एक उच्च गतिको भारतीय मिसाइल प्रवेश गरेको र त्यो मिसाइल खानेवाल जिल्लाको मिया चन्नु सहरनिर खसेको जनाएको थियो । यो मिसाइल भारतको हरियाणास्थित सिर्साबाट प्रहार गरिएको पाकिस्तानको दाबी छ ।

पाकिस्तानी सशस्त्र बलका महानिर्देशक मेजर जनरल बाबर इफ्तिखारले पत्रकार सम्मेलन गर्दै बुधबार राति ६ः४३ बजे एक उच्च गतिको उड्ने वस्तुु भारतीय भूमिबाट पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेको बताएका थिए ।

‘त्यो उड्ने वस्तु सुरूको दिशाबाट अचानक मोडिएर पाकिस्तानी भूमिमा प्रवेश गरेको थियो,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानको हवाई क्षेत्र सीमाभित्र प्रवेश गरेर ६ः५० बजे त्यो वस्तु मिया चन्नुनिर खस्यो ।’

मानवीय क्षति नभए पनि पाकिस्तानी हवाई सीमा उल्लंघनको उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै मेजर जनरल इफ्तिखारले यस्तो घटना कसरी भयो भन्नेबारे भारतले जवाफ दिनुपर्ने बताएका थिए ।

‘उच्च गतिको त्यो वस्तु जुन हवाई मार्गबाट उडेको थियो, त्यसले भारत र पाकिस्तान दुवैतर्फको हवाई क्षेत्रमा उड्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानलाई गम्भीर खतरामा पारेको थियो । यसबाट मानवीय क्षति र धनमाल नष्ट हुने ठूलो जोखिम थियो, उनले भने ।

पाकिस्तानको वायुसेनाले उक्त मिसाइल १२ हजार मिटर उचाइमा उडेको र जमिनमा खस्नुअघि पाकिस्तानी हवाई क्षेत्रमा १२४ किलोमिटरसम्म भित्र प्रवेश गरेको जनाएको छ । मिसाइलको गति क्षमता ध्वनिको गतिभन्दा तीन गुणा बढी भएको पनि पाकिस्तानी वायुसेनाले भनेको छ ।

पाकिस्तानको विदेश विभागले यस विषयमा भारतीय राजदूतसँग गम्भीर आपत्ति जनाएको पनि स्क्रोल डटइनले लेखेको छ ।