• मंसिर ११ २०८१, मंगलवार

यै देशमा गरिखानेहरुले यसरी पनि खाएका छन्

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौँ । पृथ्वीमा जन्म लिएपछि कसै न कसैको केहि न केहि गरिखाने मेलो आखिर जुरी नै हाल्छ । हुन त नेपालमा केहि सम्भावना नै छैन, गरिखाने वातावरण नै छैन भन्दै विदेशतिर पलाएन हुनेहरुको संख्या धेरै नै रहेको छ, तापनि कसैकसैले नेपाल एक सम्भावा नै सम्भावना बोकेको देश हो जहाँ जाऊ, जता जाऊ यो देशमा जहाँनेर पनि, जे गरेर पनि खाना सकिन्छ भन्नेहरु पनि उत्तिकै मात्रामा रहेका छन् ।

प्राकृतिक रुपमा प्रचुर सम्भावना बोकेको देश भनेर पनि नेपाल संसारमा चिनिने गरेको छ । पानीजन्य स्रोतहरुको त यो देश संसारमा दोस्रो ठूलो धनी देश नै रहेको छ । भनिन्छ हाम्रो देशमा त अरु केहि गरिखाने मेलो मेसो पाइएन भनेपनि कुनै नदीको किनारमा माछालाई ढडिया थापेर माछा मारेर तिनीहरुलाई बिक्रि गरेर मात्रै पनि जीवन चलाउन सकिन्छ । अनि जंगलमा गएर सालका पात टिपेर तिनका टपरी गाँसेर बेचेर पनि जीवन चलाउन सकिन्छ । अर्थात् जोस जाँगर हुनेहरुलाई यो देशमा गरिखाने मेसो जहाँनेर पनि जुट्न सक्छ ।

कसैले केहि सम्भावा नै छैन भनेर छोडेको गाउँमा त झन् बढी गरिखाने मेसोहरु पाइन सक्छन् । मात्र तपाईंमा जोस र जाँगर भने हुनुपर्यो । शहरमा स्वभावैले मानिसहरुको बसोबास बाक्लो हुने भएकोले धेरै जनसंख्या रहेको हुन्छ । शहरमा बस्ने मानिसहरुमध्ये एकापसका आवाश्यकताहरुमध्ये एकले अर्को व्यापार गर्दा पनि शहरमा अरु सम्भावनाहरु पाइन सक्छन् । यस्तो सम्भावनाहरुको खोजि हुँदै आएको पनि छ र पूर्ती पनि हुँदै आएको छ । चाहिने आवश्यकताहरु सहजै पुरा गरेर जीवनलाई सहजरुपमा यापन गर्नु एउटा कला नै हो । भनिन्छ नि, जीवन जिउन पनि कला चाहिन्छ । त्यस्तै व्यापार व्यवसाय पनि त एउटा कला नै हो ।

जोस र जाँगर हुनेहरुले यहि देशमा आफ्नै मातृभूमिमा जे गरेर पनि जीवन गुजारा गर्न सक्छन् । सबैले ठूला ठूला उद्योग धन्दा नै गर्नुपर्छ भन्ने पनि कहाँ छ र ? जसरी पनि त आफ्नो जीवन सहज बनाउन सकिन्छ नि ! यस्तो गर्दै आएका मानिसहरु पनि भेटिन्छन, शहर बजार, गाउँ घर, वरपर, यताउता । सबैले एउटै काम मात्रै गर्नुपर्छ भन्ने पनि कहाँ छ र ? काम सानो ठुलो पनि हुँदैन, बस आफ्नो मनले खाएर गर्न सक्नु भने पर्यो।

मानिसहरु फिरन्ते व्यापार गरेर पनि गाउँ शहरहरुमा जीवन चलाइरहेका हुन्छन् । तपाईं हामीले देखेका छौं, शहर बजार वा गाउँ घरतिर नै किन नहोस् आजभोलि फिरन्ते व्यापारीहरु बाक्लै देखिने गर्छन् । तिनीहरुमध्ये कसैले केहि बेचिरहेका हुन्छन् त कसैले केहि । त्यस्ता फिरन्ते व्यापारीहरुमध्ये कसैले आफ्नो व्यापारप्रति मानिसहरुको ध्यान केन्द्रित गर्न गीत संगीत बजाउँदै हिंडेका हुन्छन् भने कसै कसैले घण्ट बजाउँदै हिंडेको समेत देखिन्छ । आफ्नो व्यापार गर्न यस्ता व्यापारीहरमध्ये कसै कसैले आफ्नै समान छर्ल्याङ छर्ल्याङ बनाउँदै लखर लखर हिंडिरहेका पनि देखिन्छन् । यस्ता फिरन्ते व्यापारीहरुमध्ये कसैले केही कसैले केहि उपाएहरु लगाउँदै व्यापार गर्दै गर्दा भने शहर बजारहरुमा जुहारीकोट र नेपाली टोपी बेच्नेहरु पनि देखिन्छन् ।

यसरी गाउँ गाउँका बस्तिहरुमा डुलेर तथा शहरका गल्लीहरुमा घुमेर तयारी अवस्थामा रहेका जुहारीकोट तथा नेपाली टोपी बेच्नेहरु भने कराएको पाइँदैन । जोड जोडले कराउनुको साटो जुहारीकोट र नेपाली टोपी बेच्ने फिरन्ते व्यापारीहरु भने जहाँ मानिसहरुको अलि बढी भीडभाड हुने गर्छ त्यहि पुगेर आफूले बोकेका समानहरु देखाइरहेका देखिन्छन् ।

यस्तै व्यापार गर्नेहरुमध्ये गौशाला महोत्तरीका धर्मेन्द्र यादव र सिंजा जुम्लाका मेघे सुनार पनि रहेका छन् । उनीहरु कपडा सिलाउने कारखानाहरुबाट जुहारीकोट किनेर ल्याएर घुमिफिरी बेचिरहेका छन् । कपडा सिलाउने कारखाना अर्थात् गार्मेन्ट उद्योगबाट धेरै किनेर एकएक गर्दै बेच्ने उनीहरुमध्ये जुम्लाका सुनारले यसरी फिरन्ते व्यापार गर्न लागेको करिव आठ वर्ष भयो भने महोत्तरीका यादवले करिव दुई वर्षदेखि यो व्यापारमा हात हालेका छन् ।

२१ वर्षीय तराईवासी यादव र ३३ वर्षीय हिमालवासी सुनार एउटा पूर्वी नेपालका नागरिक हुन् भने अर्का पश्चिम कर्णालीका नागरिक । ललितपुरको सानेपामा अस्थायी डेरा जमाएर काठमाडौँमा फिरन्ते रुपमा व्यापार गरिरहेका यादव र बालाजुमा डेरा जमाएर उपत्यका भरि घुम्दै डुल्दै यस्तै गरेर व्यापार गर्ने सुनार मात्रै होइन यसरी व्यापार गरेर आफ्नो परिवारको गर्जो टार्नेहरु राजधानी तथा अन्य शहरहरुमा दर्जनौं रुपमा देखिन्छन् ।

कति कमाउँछन् त यस्ता उनीहरुले ?

यसरी व्यापार गर्नेहरुले दैनिक हजार, १२ सय देखि ३ हजारसम्म कमाउन सक्ने उनीहरुले बताए । गोलखबरडटकमको सम्पर्कमा आएका यादव र सुनारले बताए अनुसार उनीहरुको दैनिक रुपमा एक हजारदेखि तीन हजारसम्म कमाइ हुने गरेको अनुभव रहेको छ । तयारी अवस्थामा रहेका जुहारीकोट मात्रै बेच्ने यादव सामान्य अवस्थामा राजधानीका चोक गल्लीहरुमा गएर समान बेच्ने गर्छन् भने राजधानीमा धेरै मानिसहरु जम्मा हुने कुनै सार्वजनिक समारोह वा त्यस्तै कुनै कार्यक्रम हुने भएको खण्डमा आफ्नो समान बेच्न त्यही पुगेका हुन्छन् ।

उता तयारी अवस्थामा रहेका अल्लोबाट बनेका जुहारीकोट, अल्लोका टोपी, ढाका टोपी तथा अरु नेपाली टोपीहरु लिएर बिक्रि गरिरहेका सुनार पनि समान बेच्न मानिसहरुको जता भीडभाड हुने गर्छ उतै जाने गर्छन् । राजधानीमा बढी मानिस जम्मा हुने गरेर कुनै कार्यक्रम हुने सूचना पाएभने त्यस्ता व्यापारीहरु त्यसदिन अलि बढी माल बिक्रि हुने आशा गरेर सोही कार्यक्रममा पुगेका हुन्छन् भने त्यस दिन उनीहरुको व्यापार पनि सामान्य दिनको भन्दा अलि बढी नै हुने गरेको उनीहरुको अनुभव रहेको छ ।

यसरी फिरन्ते रुपमा व्यापार गर्ने यादव र सुनारसँग सस्तोमा पाँच सयमा जुहारीकोट पाइन सक्छ भने दुई सयसम्ममा टोपी बेच्न सकिने सुनारले बताए । आफ्ना कथाव्यथा सुनाउदै गर्दा यादव र सुनारले आफ्ना ग्राहक तथा नयाँ ग्राहकहरुले आफ्ना समान किन्न चाहेको खण्डमा आफूहरुसंग रहेका मोबाइल नम्बर यादवलाई ९८१२१२८४७६ र सुनारलाई ९७४५६८१३९७ मा सम्पर्क गरेर लिन सकिने भनेर उनीहरुले अनुरोध गर्न समेत भ्याए।